भर्खरै :

जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता

जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकता

भक्तपुर, २२ साउन । “भक्तपुर नगरपालिकाले भौतिक निमार्णलाई भन्दा भक्तपुरका जनतालाई राम्रो स्वास्थ्य सेवा दिने कार्यलाई विशेष प्राथमिकता दिइरहेको छ ।”
उक्त भनाइ भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनपा ८ वडा कार्यालयको आयोजनामा शुक्रबार भएको श्वासप्रश्वास रोगसम्बन्धी स्वास्थ्य शिविर उद्घाटन समारोहमा राख्नुभएको हो ।
उहाँले भन्नुभयो, “नगरवासीले समयमै आफूलाई लागेका रोगसम्बन्धी जानकारी पाऊन् भन्ने उद्देश्यले वडा–वडामा विभिन्न रोगसम्बन्धी स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको हो ।”
नाक, कान, घाँटी र आँखाको स्वास्थ्य शिविर, पाठेघरको स्वास्थ्य शिविरजस्ता महत्वपूर्ण स्वास्थ्य शिविरहरू भक्तपुर नगरपालिकाले समय समयमा सञ्चालन गर्दै आएको छ र यसबाट नगरवासीहरुलाई फाइदा पुगेको छ, उपप्रमुख जोशीले भन्नुभयो ।
भनपाले सय सय्याको ख्वप अस्पताल सुरु गरिसकेको चर्चा गर्दै उहाँले ख्वप अस्पतालले दिदै आएका सेवा सुविधाबारे जानकारी दिनुभयो ।
ख्वप अस्पतालका डा. बालकृष्ण चाँगुभारीले शरीरमा राम्रोसँग श्वासभित्र लिन नसक्नु र शरीरबाट श्वास बाहिर फ्याक्न नसक्नु छुट्टाछुट्टै रोग भएको बताउनुभयो ।
धुलो धुँवाले मात्र होइन चिसोका कारणले पनि श्वासप्रश्वाससम्बन्धी रोग लाग्ने बताउँदै उहाँले चिसोबाट बचेर हिँड्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भनपा वडा नं. ८ का अध्यक्ष कृष्णप्रसाद कोजूको सभापतित्वमा भएको उक्त स्वास्थ्य शिविरमा नेमकिपा ८ वडा एकाइ समितिका अध्यक्ष महेन्द्र खायमली, महिला वडा सदस्य सुमित्रा बोहजु, स्वास्थ्य स्वयंसेविका रामलक्ष्मी खर्बुजाले स्वास्थ्य शिविरको महत्वबारे बोल्नुभएको थियो ।
वडा नर्स सन्दिपा नागाका अनुसार ख्वप अस्पतालका दुई डाक्टर र चार नर्सहरूको उपस्थितिमा भएको उक्त शिविरमा १४३ जना वडावासीहरूले स्वास्थ्य परीक्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *