भर्खरै :

सामाजिक सञ्जाल वरदान हो, अभिशाप होइन

सामाजिक सञ्जाल वरदान हो, अभिशाप होइन

भक्तपुर, २२ पुस । संस्थागत विद्यालय सङ्घ नेपाल इसानको आयोजना र विद्या आर्जन इङ्गलिस बोर्डिङ स्कूलको सहयोगमा विद्यालयकै सभा हलमा वादविवाद प्रतियोगिता शुक्रबार भयो ।
इसानमा आबद्ध विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीबिच ‘सामाजिक सञ्जाल वरदान हो, अभिशाप होइन’ भन्ने विषयमा भएको कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले २१ औँ शताब्दीमा सञ्चारको युग र सञ्चारबाट फाइदा लिन जाने वरदान हुने र दुरूपयोग गरे अभिशाप हुने बताउनुभयो ।
इसान भक्तपुरका अध्यक्ष एवं विद्या आर्जन सेकेन्डरी स्कूलका प्रिन्सिपल पुरुषोत्तम ग्वाछाले सामाजिक सञ्जालमा विकृत विषय हेरेर अनावश्यक समय खर्चिरहेको बताउँदै विकसित देशमा जस्तै विद्यार्थीहरूलाई निश्चित विषयमात्र चलाउन पाउने व्यवस्था सरकार र सम्बन्धित संस्थाले गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
१२ वटा विद्यालयका १७ जना विद्यार्थी सहभागिता रहेको सो कार्यक्रममा आदर्श ज्योति (ए. जे.) इङ्गलिस सेकेन्डरी स्कूलका विद्यार्थी प्रतिमा तामाङ प्रथम, स्कलर्स होम एकेडेमी स्कूलका विद्यार्थी संजिता चित्रकार द्वितीय र प्रभात इङ्गलिस सेकेन्डरी स्कूलका विद्यार्थी हिमानी दाहाल र आदर्श ज्योति (ए.जे.) इङ्गलिस सेकेन्डरी स्कूलका विद्यार्थी क्रियसन दुवाल संयुक्तरूपमा तृतीय हुन सफल भएका थिए ।
इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले मेडल, प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । निर्णायक लक्ष्मी गौतम र ईश्वर वाग्लेलाई रत्नप्रसाद कवांले मायाको चिनो प्रदान गर्नुभएको सो कार्यक्रममा सुमन तामाङले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *