नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
राजनीति भनेको के हो ? शासन कसरी चलाइनुपर्छ ? शासक कस्तो हुनुपर्छ ? यस्ता धेरै प्रश्नहरूको शाश्वत उत्तर दुई हजार वर्षअघि नै चाणक्यले दिएका थिए । त्यतिखेर, उनको शासनशैलीबारे बुझ्न आएका विदेशी शासक र तिनका प्रतिनिधिहरू चाणक्यबाट अविस्मरणीय पाठ सिकेर जान्थे । उनले सरकारको काम गर्दा सरकारी बत्ती बालेको र आफूलाई भेट्न आउने मान्छेसँग बोल्न सुरु गर्नासाथ सरकारी बत्ती निभाएर आफ्नै निजी बत्ती बालेको प्रसङ्ग अहिले पनि ‘प्रेरक प्रसङ्ग’ को रूपमा पढ्ने÷पढाउने र सुन्ने÷सुनाउने गरिन्छ ।
नेपालकै इतिहास पढ्दा पनि यहाँका बेलाबलाका शासकहरू असल र त्यागी पाइन्छन् । लिच्छवीकालीन राजाहरूले जनताको सुख सुविधाका लागि धेरै राम्रा राम्रा कामहरू गरेका थिए । तीमध्येका वि.सं. ६९९ मा राजा भएका नरेन्द्रदेवले जनतालाई सम्पन्न बनाउन उनीहरूले तिर्नुपर्ने सबै प्रकारका करहरू माफी गरेका थिए । उनले राजपरिवारको खर्चमा पनि व्यापक कटौती गरेर देशको आर्थिक अवस्था बलियो पारेका थिए । यस्तै जनमुखी कार्य भएकै कारण लिच्छवीकाललाई स्वर्णयुग भनिएको हो । जनप्रेमी र लोकप्रिय राजाको कुरा गर्दा, मल्लकालीन राजा महीन्द्र मल्लको पनि नाम लिनैपर्ने हुन्छ । त्यतिखेर काठमाडौँ उपत्यकामा धेरै घरहरू थिएनन् होला । त्यसैले उनी दिनहुँ खाना खाने बेलामा दरबारको माथिल्लो तलामा गई कसको घरबाट धुवाँ निस्कन्छ, कसको घरबाट निस्कँदैन भनी झ्यालबाट निरीक्षण गर्ने गर्थे रे । जुन जुन घरबाट धुवाँ निस्केको देखिंदैनथ्यो, त्यो त्यो घरको परिवारले खाना नखाएको भन्ने बुझेपछि त्यस्ता प्रत्येक घरमा गई तिनीहरूले के कारणले खाना नखाएको हो भन्ने कुरा पत्ता लगाउँथे । अनि, अन्न तथा खाद्य सामग्री अभावकै कारण ती घरहरूमा खाना बन्न नसकेको रहेछ भने तत्काल खानाको बन्दोबस्त गरिदिन्थे । यसरी, आफ्नो राज्यका सबै घर परिवारले खाएपछि मात्रै अन्त्यमा राजा आफू खाने गर्थे रे ¤ ‘आफू र आफ्नालाई खुवाऊँ, अरूलाई पनि खुवाएरै आफ्नो बनाऊँ’ को चिन्तनबाट गुज्रिरहेको वर्तमान राजनीतिक परिदृश्यलाई एकैछिन बिर्सिएर इतिहासका यस्ता कुराहरू सुन्दा÷पढ्दा मात्रै पनि आनन्द लाग्छ ।
बहुदलीय व्यवस्था आएपछि ‘सर्वमान्य नेता’ गणेशमान सिंहले प्रधानमन्त्रीजस्तो देशको सर्वोच्च पद लिन चाहेनन् । दुईदुईपटक प्रधानमन्त्री भएका कृष्णप्रसाद भट्टराई र एकपटक प्रधानमन्त्री भइकन पनि नेपालको संविधान २०७२ जारी गर्न सफल सुशील कोइराला दुवैको सादगी जीवनबारे सबैलाई थाहै छ । नेपालकै लोकप्रिय नेता नारायणमान बिजुक्छेँको त्याग, सरलता र देशभक्तिको भावना सारा नेपालीका लागि अनुकरणीय छँदै छ ।
इतिहासका यस्ता केही कुराहरूले आनन्द दिने भए पनि, देशको पछिल्लो समयलाई सम्झँदा धेरै दुःख र आश्चर्य लाग्छ । निरङ्कुश, अन्यायी र अत्याचारी भन्दै, ‘जहाँनियाँ राणा शासन’ र ‘तानाशाही पञ्चायती व्यवस्था’ त समयको अन्तरालमा क्रमशः फालिए । बहुदलीय शासन प्रणाली पनि काम नलाग्ने ठानियो । अझ जनमुखी शासन प्रणाली ल्याउने भनेर पूरै एक दशकसम्म हामीले जुन कहालिलाग्दो कथित ‘जनयुद्ध’ को कालरात्रि व्यहो¥यौँ, त्यसले दिएको चिरकालसम्मको असह्य पीडा कसै गरे पनि बिर्सन सकिँदैन । ‘क्रान्तिनायकहरू’ भारतमा सुरक्षित रहने र यता निर्दोष नेपालीहरूलाई भने ‘भारतविरुद्ध सुरुङ युद्ध’ गर्नुपर्छ भन्दै मारामारका लागि उकास्ने गर्दा १७ हजार नेपालीको अकालैमा ज्यान गयो । खरबौँको भौतिक सम्पत्ति ध्वस्त भयो । राजतन्त्रको ठाउँमा गणतन्त्र आयो । राजाको स्थान राष्ट्रपतिले लिए । नेपाल र नेपालीका दुःखका दिनहरू अर्को तरिकाबाट सुरु हुने रहेछ ¤
सबैले देखिआएका छौँ, गणतन्त्र र सङ्घीयतापछिका वर्षहरू सत्ता र शक्तिको सङ्घर्षमा बित्दै आएका छन् । ठूला दलका नेताहरू एकअर्काको खुब विरोध गर्दै प्रधानमन्त्री भइरहेका छन् । यो पनि अचम्मै होइन त ? के प्रम बन्नु नै जनताको सेवा हो ?
Leave a Reply