नेपालीहरू भारतविरोधी होइनन् – ४
- कार्तिक १४, २०८३
प्रचण्डको गठबन्धन सरकार खिचडी भएको हुँदा यसले देश र जनताको हित हुने काम गर्न सक्दैन । बिहानले दिन देखाउँछ भनेजस्तै यो सरकारको भविष्य आकलन गर्न गा¥हो नहोला । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबाहेक यसका मुख्य दलहरूले धेरै पटक सरकार चलाइसकेका छन् । यो प्रचण्डको गठबन्धन सरकारमा रहेका दलहरू विगतका सरकारमा रहँदा नरहँदा नेपाली सीमा मिचिएको, नेपाली भूमि अतिक्रमण गरेको टुलुटुलु हेरेर आत्मसमर्पण गरेका देशघाती तथा एमसीसी सम्झौता नाटक मञ्चन गरेर पास गरेका दलहरूको गठबन्धन सरकार भएको हुँदा विश्लेषकहरूले उनीहरूले न त अतिक्रमित नेपाली भूमि फिर्ता लिन सक्छन् न त देशघाती एमसीसी सम्झौतालाई फिर्ता गर्न सक्छन् भनेका छन् । ओलीले आज आएर महाकाली सन्धिमा हाम्रो भूल भयो भनेजस्तै यसमा पनि भोलि त्रुटि (देशघाती काम) भयो भनेमा कुनै आश्चर्य हुनेछैन । त्यसबेला महाकालीमा धेरै पानी बगिसकेको हुनेछ । जुन क्षम्य हुनेछैन । नेपाली जनता र समयले उनीहरूलाई उचित दण्ड दिनेछन् । यो सरकारले न भ्रष्टाचारी र अपराधीहरूलाई नै कारबाही गर्न सक्छ । यो सरकारले कमसेकम महाकाली, एमसीसी, एसपीपी, नागरिकता विधेयकजस्ता देशघाती सन्धि, सम्झौता र समझदारी गुप्त या खुलारूपमा गर्लान् कि भन्ने पिर नेपाली जनताले लिइरहेका छन् । भारतीय जनतालाई पानी खुवाउन र सिँचाइ गर्न भारतीय शासकहरूले नेपालका कठपुतली नेताहरूलाई प्रभाव र दबाबमा पार्दै निर्देशन दिएर नेपाल र नेपाली जनताको हितविपरीत विभिन्न सन्धि, सम्झौता र समझदारीमार्फत नेपालको कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णाली, अरूण तेस्रो, तल्लो अरूण, पश्चिम सेतीलगायतका नदीनालाहरू कब्जा गरिसकेका छन् । यो सरकारले अरू बाँकी नदी नाला र प्राकृतिक सम्पदाहरू भारतको पाउमा चढाउला भन्ने चिन्ता देशभक्त जनताले लिइरहेका छन् ।
प्रचण्डको गठबन्धन सरकारलाई विश्लेषकहरूले भारत र अमेरिकाले घोडा फेरेको सरकारको रूपमा लिएका छन् । अब बाँकी र अपूर्ण कामलाई पूर्ण गर्न प्रचण्डलाई गठबन्धन जुताइदिएको हो । नेपाल सरकार अमेरिका र भारतको कठपुतली भएको हुँदा सत्तासीन नेताहरूलाई बेला बखत प्रयोग गरिरहेको पाइन्छ । ती शासक दलहरूमा कतै केन्द्रीय सदस्यहरू उनीहरूलाई सूचना गुप्तचरहरू रहेका छैनन् ? नेपाल सरकारको उच्चस्तरका हजारौँ कर्मचारीहरू दुई देशको तलब खाइरहेका छन् भनेर जानकारहरूले सञ्चारमाध्यममा भन्दै आएका छन् । अमेरिका र भारतले आफ्नो स्वार्थ पूरा गर्न नेपालमा सहयोग, विकास, शान्ति, प्रजातन्त्र, स्वतन्त्रता आदिको नाममा उपद्रव मच्चाएर नेपालबाट तिब्बत हुँदै चीनलाई अप्ठेरोमा पार्ने षड्यन्त्र गरिरहेका छन् ।
प्रचण्डमाथि ट्रोजन हर्सको आरोप लाग्दै आएको छ । त्यस्तै आरोप ओलीलाई पनि लाग्दै आएको छ । किनभने, भारतले नेपाललाई सिक्किमजस्तै कब्जामा लिने रोडम्यापअनुसार प्रयोग गरेर नेपालमा अस्थिरता मच्चाउँदै छ । माओवादीको कथित जनयुद्ध हाम्रोसामु छ । उनीहरूलाई समय–समयमा भिडाइरहेको हाम्रोसामु छ । २०७२ सालको भूकम्पमा सहयोगको नाममा भारतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कब्जा गरेकै हो । त्यस्तै नदीनाला, नेपाली भूमि कब्जा गरेर बसेकै छ । उसले नेपालको व्यापार व्यवसाय कब्जा गरिसकेको छ । अमेरिकाले एमसीसीमार्फत नेपाल पस्ने, अस्थिरता मच्चाउने, नेपाल हुँदै तिब्बत, चीन पसेर उपद्रव मच्चाउने, चीनलाई कमजोर पार्ने, पछार्ने, त्यो पनि नसके विश्वमै अर्थतन्त्रमा, प्रविधिमा, सामरिक क्षेत्रमा उदयमान देश चीन र भारतलाई भिडाउने रणनीति अपनाइरहेको छ । यसमा छिमेकी देश चीन र भारत अमेरिकाको यो रणनीति र खेलमा सचेत भएकै होला र हुनुपर्छ । प्रचण्ड गठबन्धन सरकारका दलहरू र नेपाली काङ्ग्रेस मिलेर एमसीसी पास गरिसके । आफ्नो दलका, गुण्डा, ज्यानमारा, भ्रष्टाचारीजस्ता अपराधीहरूलाई छोड्न फौजदारी सजाय ऐन संशोधन गरी ल्याएको अध्यादेश जनताको व्यापक विरोध र राष्ट्रपतिले रोकेको कारण स्थगित छ । देशघाती एमसीसीको विरोधमा रहेका माओवादी नेताहरूले ‘शान्ति प्रक्रिया बिथोलिने भनी अमेरिकाले दिएको धम्की र दबाबका एमसीसी पास गर्न बाध्य भएको कुरा सञ्चारमाध्यममा आएका थिए ।
देशमा बहुसङ्ख्यक गरिब, अशिक्षित, पीडित जनताको कहालिलाग्दो कष्टकर जीवन देखेर उनीहरूको मुक्तिको लागि आमूल परिवर्तन ल्याउने र समाजवाद ल्याउने भनी कथित जनयुद्ध गरेका कम्युनिस्ट भनिएका माओवादीलाई शान्ति प्रक्रियामा ल्याउँदा संसारका शोषितपीडित जनताका लागि लडिरहेका कम्युनिस्टहरूको मुख्य दुश्मन अमेरिकी साम्राज्यवादले आइन्दा हतियार नउठाउने, मानव अधिकार, पुँजीवादी प्रजातन्त्र मान्ने, निर्वाचनमा अमेरिकाको विरोध नगर्ने, अमेरिकाको अहितमा कुनै काम नगर्नेजस्ता वाचामा ल्याप्चे ठोकाएको सञ्चारमाध्यममा आएकै हो । घुमाउरो पारामा हामी कम्युनिस्ट होइनौँ, हाम्रो मुकुण्डोमात्र कम्युनिस्ट हो, हामी पुँजीवादी भयौँ भन्ने कुरा, काम, व्यवहार र परिणामले देखाइरहेको छ । अब देउवाको गठबन्धन सरकारबाट पूरा गर्न नसकेका बाँकी देशघाती कामहरू विभिन्न बहानामा फरक तरिकाले यो सरकारले गर्ला कि भन्ने पिर पनि छ ।
प्रचण्डको गठबन्धनको सरकार अमेरिका र भारतको निर्देशन तथा इसारामा बनेको हो वा आफ्नो विचार सिद्धान्त, बल बुट्टामा बनेको देशभक्त सरकार हो भन्ने कुरा भविष्यमा थाहा हुनेछ । बोली मुख्य होइन काम मुख्य हो । सरकारले अब काम, माम, रोजगारी, शिक्षा, स्वास्थ्य सुरक्षाको अनुभूति गर्ने गरी परिणामुखी काम गरेर देखाउने हो । वर्तमान उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पद ग्रहण गरेको दिन सस्तो लोकप्रियता कमाउन निर्मला पन्तका हत्यारालाई खोजबिन गरी कानुनी कारबाही गर्ने पहिलो निर्णय गरेको बताएका छन् । आफूले बोलेअनुसार हत्यारालाई समातेर कारबाही गर्न सक्यो, जेल हाल्न सक्यो भने पीडित जनताले उनलाई धन्यवाद दिने नै छन् । केपी ओली, माधव नेपालहरूले मदन भण्डारी र जीवराज आश्रितको हत्यारा पत्ता लगाएर कारबाही गर्छु भनेका होइनन् ?
यदि यो प्रचण्डको गठबन्धन सरकार देशभक्त सरकार हो भने कूटनीतिक माध्यमबाट देशभक्तिको भावनाअनुसार वार्ता गरेर नेपालको हितमा परिणाममुखी नतिजा हात पार्ने काम गर्नुपर्छ । देश सानो र ठूलो होला, गरिब र धनी होला, विकसित र अविकसित होला । तर, सार्वभौमिक अधिकार बराबर हुन्छ । सार्वभौमिकता रगतले कोरिएको हुन्छ । सार्वभौमिकता, देशभक्ति भावना देशको माटो सबैलाई प्यारो र ठूलो हुन्छ । सार्वभौमिकता र स्वाधीनताको रक्षार्थ गरिबी सरकार विदेशी शक्तिसँग झुक्नु हुँदैन । हाम्रो देशको स्वाधीनता, सार्वभौमिकता, नेपाली माटोको रक्षार्थ लडेका हाम्रा वीर योद्धाहरू हाम्रासामु छन् ।
यो देशभक्त सरकार भएको भए सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतका बलपूर्वक अतिक्रमित नेपाली भूमि फिर्ता लिन परिणाममुखी पहल गर्नेछ । घर खेत बेच्न बाध्य पारी रोजगारीको लागि, विदेशीको हितको लागि रगत पसिना बगाउन विदेश पठाएका ८० लाख नेपाली युवाहरूलाई स–सम्मान नेपाल फर्काउने परिणाममुखी काम गर्नेछ । विदेशमा नेपाली युवाहरूलाई अलपत्र पार्ने म्यानपावर कम्पनी वा दलाल ठगहरूलाई सरकारले कारबाही गर्नेछ । कृषिप्रधान देशको कृषि अर्थतन्त्र विकास गरेर पर्यटन उद्योग र अन्य उद्योग कारखानाको विकास गरेर ती युवाहरूलाई रोजगारीको व्यवस्था या बन्दोबस्त गर्नेछ । नेपाल कृषिप्रधान देश भएकोले मल कारखाना खोल्नेछ । सातै प्रदेशमा वीर, टिचिङ र गङ्गालालजस्ता अस्पतालहरू खोल्नेछ । त्यस्तै विश्वविद्यालय, क्याम्पस, विद्यालयहरू खोल्नेछ । यसले देशभरिका जनताले सन्तुलित राहत पाउनेछन् । सिमानामा भारतीय सेना, प्रहरी र अपराधीहरूबाट बचाउन तार लगाएर नेपाल र नेपाली जनताको सुरक्षा गर्नेछ । देशभरिका भ्रष्टाचारी, ज्यानमारा, गुण्डाजस्ता अपराधीहरूलाई कानुनको दायरामा ल्याएर जेल हाल्नेछ । देशमा न्यायको सुशासन ल्याउनेछ । हेरौँ, अमेरिका र भारतको निर्देशन र सहयोगमा बनेको प्रचण्डको गठबन्धनको सरकार हो कि साँच्चैको देशभक्त सरकार हो समयले देखाउनेछ ।
Leave a Reply