संयुक्त राष्ट्रसङ्घमा क्युवाको जित विश्वले फेरि नाकाबन्दीको विरुद्धमा आवाज उच्च पा¥यो
- कार्तिक १३, २०८३
१. जनमत निर्माताहरू
सन् २००२ को त्यो दिन, राष्ट्रपति ह्युगो चाभेजलाई अपहरण गरेर सैन्य विद्रोहमार्फत व्यापार सङ्घका अध्यक्ष भेनेजुयलाको राष्ट्रपति बने ।
उनको प्रतिष्ठा धेरै टिकेन । दुईचार दिनपछि भेनेजुयलावासीहरूले सडक तताए र आफूले मतदान गरेर जिताएका राष्ट्रपति चाभेजलाई पुनः सत्तासीन गराए ।
भेनेजुयलाको सबैभन्दा ठूलो टीभी र रेडियो कम्पनीले सैनिक विद्रोहमा हर्षोल्लास मनाए । तर, ह्युगो चाभेजलाई उनको उचित पदमा पुनः स्थापित गर्दा उठेको भव्य जनलहरको समाचार प्रसारण गर्न सकेनन् ।
अप्रिय समाचार सुनाउनु अर्थपूर्ण हुन्न ।
२. मार्टी
बाबु र छोरा फूलैफूलले ढक्कमक्क ढाकिएको हवानाको सडकमा टहल्दै थिए । नजिकैबाट एउटा तालुखुइले र लिखुरे भलाद्मी हस्याङफस्याङ गर्दै गए ।
बाबुले छोरालाई चेतावनी दियो :
“उसलाई चिन है । बाहिर हेर्दा गोरो छ, तर भित्र कालो छ ।”
छोरा फर्नान्डो ओर्टिज त्यसबेला चौध वर्षको थियो ।
केही वर्षपछि फर्नान्डोको उद्धार भयो । सयौँ वर्षको जातिवादी तिरस्कार र पितापुर्खा काला जातिका थिए भने क्युवाली पहिचानबाट उसले त्राण पायो ।
त्यो खतरनाक सज्जन, हतारिने त्यो दुब्लो र खुइले व्यक्ति होसे मार्टी थिए । उनी खाँटी क्युवाली थिए, स्पेनी पुर्खाका सन्तान थिए । उनैले आदेश जारी गरे :
“हामी मुकुण्डोमात्र हौँ । बेलायती कच्छी लगाउँछौँ, पेरिसको गञ्जी भिर्छौँ, अमेरिकी कोट लगाउँछौँ र स्पेनको टोपी लगाउँछौँ ।”
उनले सभ्यता नाउँको झूटो पण्डित्याइँको खण्डन गरे । उनले माग गरे :
“जङ्गी पोशाक र दज्र्यानीका दिन सक्किए ।”
अनि उनले भने :
“विश्वको सबै गौरव मकैको दानामा अटाउँछ ।”
हवानाको सडकमा देखिएको केही समयपछि मार्टी पहाडतिर लागे । उनी क्युवाको निम्ति लड्दै थिए । यत्तिकैमा स्पेनी बन्दुकको एउटा गोलीले उनलाई घोडाबाट भुइँमा खसाल्यो ।
३. गोराको श्राप
हाइटीका काला दासहरूले नेपोलियन बोनापार्टको सेनालाई ठूलो धक्का दिए र सन् १८०४ मा खण्डहरबिच स्वतन्त्रताको झन्डा फरफराए ।
तर, हाइटी पहिलेदेखि नै खण्डहर थियो । फ्रान्सेली उखु खेतीको बलिबेदीमा जमिन र जीवन जिउँदै जलाइएको थियो । त्यसपछि युद्धको विभीषिकाले एकतिहाइ जनता सोत्तर पा¥यो ।
स्वतन्त्रताको जन्म र दासत्वको मरण कालाहरूका उपलब्धि थिए । विश्वका गोरा मालिकहरूको लागि यो कुरा अक्षम्य अपमान थियो ।
नेपोलियनका अठार जना जर्नेलहरूलाई विद्रोहीहरूले जमिनमा गाडे । रगतबाट जन्मेको नयाँ राष्ट्रलाई नाकाबन्दीको सजाय दिइयो । उसलाई एक्लो पारियो । कसैले पनि ऊसँग मालसामान किनेन र कसैले उसलाई बेचेन पनि । कसैले उसलाई मान्यता दिएन । औपनिवेशिक मालिकप्रति बफादार नबनेर हाइटीले फ्रान्सलाई धेरै ठूलो क्षतिपूर्ति तिर्नुपर्ने भयो । कूटनीतिक मान्यता दिनको निम्ति फ्रान्सले स्वाभिमानी बन्ने पाप गरेकोमा उसलाई प्रायश्चित गरायो । झन्डै डेढ शताब्दी हाइटीले मूल्य चुकाइरह्यो ।
उसलाई कसैले पनि मान्यता दिएन । ऊबाट सबथोक लिएका सिमोन बोलिभारले पनि दिएनन् । हाइटीले स्पेनविरोधी उनको स्वतन्त्रता सङ्घर्षमा उनलाई जहाज, हतियार र सैनिकहरू प्रदान गरेको थियो । त्यसको एउटै सर्त दासमोचन गर्नुपर्छ भन्ने थियो । मुक्तिदाता भनिने ती व्यक्तिको दिमागमा यो कुरा कहिल्यै आएको थिएन ।
पछि बोलिभार विजयी भए । तर, उनले नयाँ ल्याटिन अमेरिकी देशहरूको सभामा हाइटीलाई आमन्त्रण गर्न मानेनन् ।
हाइटी अमेरिकाको कोढ (सरुवा रोग) लागेको देश बन्यो ।
थोमस जेफर्सनले प्लेग रोगलाई यही टापुभित्र सीमित गर्नुपर्छ भनेर सुरुदेखि नै चेतावनी दिएका थिए । किनभने, हाइटीले गलत नजिर बसालेको उनको तर्क थियो ।
गलत नजिर : असहयोगको, अराजकताको र हिंसाको । दक्षिण क्यारोलिनामा कानुनले नै कुनै कालो जातिको जहाजीले बन्दरगाहमा जहाज राखे जेलमा कोच्न मिल्ने छुट दिएको थियो । उसले दासत्वविरोधी ज्वरो फैलाउन सक्छ र समस्त अमेरिकामा खतरा पैदा गर्न सक्छ भन्ने डरले त्यस्तो कानुन बनाइएको थियो । ब्राजिलमा त्यो ज्वरोलाई ‘हाइसियनिस्मो’ भनिन्थ्यो ।
४. तुसाँ
उनी जन्मजात दास थिए, दासहरूका छोरा थिए ।
उनी निम्छरा थिए, कुरूप थिए ।
उनले आफ्नो बाल्यकाल घोडा र रुखविरुवासँग कुरा गरेर बिताएका थिए ।
समयान्तरमा उनी मालिकको कोचवान बने र उसको बगैँचाको माली बने ।
उनले कहिल्यै एउटा भुसुनासम्म मारेका थिएनन् । तर, युद्धको भवितव्यले उनलाई अहिले जहाँ छन्, त्यहाँ पु¥यायो । अहिले उनलाई तुसाँ लुभेरत्युर भनिन्छ । किनभने, उनको तरबारको प्रहारले शत्रुको सुरक्षा घेरा नै क्षतविक्षत दुई फ्याक पारिदिन्थ्यो । यी स्वनिर्मित जर्नेलले आफ्नो पल्टनलाई शिक्षा दिए, निरक्षर दासहरूलाई क्रान्ति किन गर्ने र कसरी गर्ने भनी सिकाए । आफूले बाल्यकालदेखि सुन्दै र रच्दै आएका कथाहरूमार्फत उनले ती काम गरे । सन् १८०३ फ्रान्सेली सेना भित्तामै पुग्यो । अनि नेपोलियनको ज्वाइँ जर्नेल लेकलार्कले प्रस्ताव ग¥यो :
“वार्ता गरौँ ।”
५. मरेको मान्छे बोल्छ
नयाँ ल्याटिन अमेरिकी देशहरूमा उन्नाइसौँ शताब्दीभरि दासमोचन दोहोरिरह्यो ।
उपलब्धिपूर्ण नहुनाले नै दासमोचन दोहो¥याइएको थियो । सन् १८२१ मा सिमोन बोलिभारले दासप्रथा मरेको उद्घोष गरे । तीस वर्षपछि पनि मरेको प्रथा तन्दुरुस्त नै थियो । कोलम्बिया र भेनेजुयलामा दासमोचनका नयाँ कानुनहरू जारी गरियो ।
सन् १८३० को एक दिन उरुग्वेको संविधान जारी भयो । अखबारमा एउटा विज्ञापन छापियो :
बिक्रीमा : निकै सस्तो, एउटा निग्रो सार्की ।
बिक्रीमा : भर्खरै सुत्केरी भएकी नोकर्नी, नारीहरूलाई काम लाग्ने ।
बिक्रीमा : एउटा पठ्ठो निग्रो, १७ वर्षको छ, मनमा मयल छैन ।
बिक्रीमा : स्पेनी अनुहारको मठ्याहा, खेतीको सबै काम जानेको र एउटा खुदो पार्ने ठूलो कसौँडी ।
उरुग्वेमा पाँच वर्षअघि सन् १८२५ मा मान्छे बेच्न बन्देज लगाइएको पहिलो कानुन बन्यो । त्यसपछि फेरि त्यहीँ कानुन सन् १८४२, सन् १८४६ र १८५३ मा पुनः जारी गरियो ।
ब्राजिल यस्तो कानुन जारी गर्ने अन्तिम देश थियो । विश्वभरि दासमोचन भएपछिको पनि ऊ अन्तिम थियो । उन्नाइसौँ शताब्दीको अन्त्यसम्म दासप्रथा वैध थियो । त्यसपछि त्यो अवैध भयो । तर, व्यवहारमा दासप्रथा रहिरह्यो । यो आज पनि जारी छ । सन् १८८८ मा ब्राजिल सरकारले यस विषयमा भएका सम्पूर्ण दस्तावेजहरूमा आगो लगाउने आदेश दियो । यसरी यस देशको इतिहासबाट औपचारिकरूपमा दासत्वपूर्ण श्रम नामेट पारियो । अस्तित्वमा हुन नपाई यो म¥यो । तर, मरेपछि पनि यो अस्तित्वमा छ ।
६. मुढे बल
होजे मार्टीले यसको उद्घोष गरे र त्यसको निन्दा गरे : उत्तर अमेरिकाको कलिलो राष्ट्र असाध्यै लोभी साम्राज्य बन्नेछ, भूमिको उसको भोक कहिल्यै नअघाउने खालको हुनेछ । उसले सम्पूर्ण आदिवासी भूभाग र आधा मेक्सिको निलिसकेको छ र यो यत्तिकैमा रोकिनेछैन ।
“युद्धको सर्वोच्च विजत्न्दा महान् शान्तिको विजय हुन्न,” टेडी रुजवेल्टले घोषणा गरे र नोबेल शान्ति पुरस्कार पाए । टेडी महोदय सन् १९०९ सम्म राष्ट्रपति रहे । त्यतिञ्जेल उनले देशहरू कब्जा गरिरहे र अवकाशपछि उनी गैँडाहरूसँग लड्न अफ्रिका गए ।
उनका उत्तराधिकारी विलियम हावर्ड टाफ्टले प्राकृतिक नियमहरू उप्काउँदै भने, “यो समग्र गोलाद्र्ध नै हाम्रो हुनेछ किनभने हाम्रो जाति सर्वोच्च जाति हो । नैतिकरूपमै यो हाम्रो गोलाद्र्ध हो ।”
७. पराजितहरू
मरुभूमिमा उपदेश दिएर उनी एक्लै मरे ।
सिमोन रोड्रिगेज सिमोन बोलिभारका शिक्षक थिए । उनले खच्चरमा बसेर ल्याटिन अमेरिका डुल्दै आधा शताब्दी बिताए । उनी जहाँ जान्थे, विद्यालय खोल्थे र कसैले सुन्न नचाहेका कुराहरू सुनाउँथे ।
आगजनीमा परेर उनका सबैजसो कागजपत्रहरू खरानी भए । बचेखुचेका केही शब्द यस्ता छन् !
स्वतन्त्रताबारे : हामी स्वतन्त्र छौँ, तर मुक्त छैनौँ । यी दीनहीन जनताको निम्ति केही गर्नैपर्छ । उनीहरू पहिलेभन्दा झन् कम मुक्त भएका छन् । पहिले उनीहरूको एउटा गोठालो राजा थियो, उनीहरू नमार्दासम्म उसले उनीहरूलाई खान्थेन । अहिले जसले पहिले देख्यो उसले उनीहरूलाई जिउँदै चपाउँछ ।
दिमागी उपनिवेशवादबारे : युरोपको प्राविधिक ज्ञान र संरा अमेरिकाको समृद्धि हामी अमेरिकीहरूका निम्ति वैचारिक स्वतन्त्रताका दुई शत्रु हुन् । नयाँ गणराज्यहरू तिनको अनुमोदनको छाप नभएका कुनै पनि अपनाउन चाहन्नन् । तपाईँ सबैथोक अपनाउँदै हुनुहुन्छ भने मौलिकता अपनाउनुहोला !
औपनिवेशिक व्यापारबारे : केही मान्छे आफ्ना बन्दरगाहहरू जहाजले, विदेशी जहाजहरूले भरिएको देख्नु समृद्धि हो भन्छन् । आफ्ना घरहरू मालसामानको, विदेशी मालसामानहरूको भन्डारमा फेरिनु समृद्धि हो भन्छन् । दिनैपिच्छे इन्डियनहरूले टोपीमुनि लगाउने सर्वाङ्ग ढाक्ने रेडिमेड लुगाहरूको एकपछि अर्को भारी आउँछ । चाँडै हामीले स–साना सुनौला डिब्बा देख्नेछौँ । त्यसको खोलमा बेलायती राजदण्डको चिह्न हुनेछ र भित्र फोहर खान पल्केका बालबालिकाका लागि ‘नौलो प्रशोधित’ हिलो हुनेछ ।
सार्वजनिक शिक्षाबारे : विद्यार्थीहरूलाई नबुझ्ने कुराहरू घोकेर बक्न लगाउनु सुगालाई तालिम दिनुसरह हो । बालबालिकालाई जिज्ञासु बन्न सिकाऊ । बल्ल तिनले कुनै अधिकारीहरूमाथि नभई आफ्नै बुद्धिमा भर पर्न सिक्नेछन् । प्राधिकारमाथि साँघुरा बुद्धि भएकोले मात्र विश्वास गर्छन् । कर्मकाण्डसामु मूर्खमात्र झुक्छन् । केही थाहा नहुनेलाई जसले पनि मूर्ख बनाउन सक्छ । केही थाहा नहुनेलाई जसले पनि किन्न सक्छ ।
स्रोत : ग्यालियानोका विभिन्न पुस्तकहरूबाट ।
अनुवाद : सुरेश
Leave a Reply