भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २९

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – २९

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
ट्रम्पको सर्त
जर्मन चान्सलर एँगेला मर्केलले युक्रेनी राष्ट्रपति पोरोशेन्कोसँग फोनवार्ता गरिन् । पोरोशेन्कोले ६० दिने सङ्कटकालको अवधि ३० दिनमा झार्ने र निर्वाचन तोकिएको मितिमा (मार्च ३१) मा गर्ने बताए । त्यसपछि मर्केलले रुसी राष्ट्रपति पुटिनसँग कुरा गरिन् । उनले पोरोशेन्कोसँग सिधै कुरा गर्न पुटिनसँग अनुरोध गरिन् ।
२०१९ नोभेम्बर २८ मा बोल्टन जी–२० को अर्जेन्टिनाको राजधानीमा भएको ब्युनस आयर्स सम्मेलनअघि नै नवनिर्वाचित राष्ट्रपति बोल्शोनारोलाई भेट्न ब्राजिल गए । जहाजबाटै उनले ट्रम्पलाई जी–२० सम्मेलनमा पुटिनसँग दुई पक्षीय वार्ता गर्ने विषयमा जिज्ञासा राखे । ट्रम्पले तत्कालीन स्थितिमा पुटिनसँग भेट्नु खतरनाक हुने बताए किनभने मिडियाले युक्रेनको विषयलाई प्राथमिकता दिने पक्का थियो । रुसले पक्राउ गरेका युक्रेनी जहाज र त्यसका कर्मचारीहरू रिहा गनेको खण्डमा भेट्न सकिने ट्रम्पले भने । ट्रम्प युक्रेनभन्दा पनि अन्य विषयमा पुटिनसँग छलफल गर्न चाहन्थे । त्यसपछि बोल्टनले आफ्ना रुसी समकक्षी पात्रुशेभलाई फोन गरेर ट्रम्पको सर्त राखे । पात्रुशेभले उनको कुरा राष्ट्रपति पुटिनसमक्ष राख्ने वचन दिए ।
बोल्टन ब्युनस आयर्स पुगेपछि पात्रुशेभसँग उनको फोनवार्ता भयो । पुटिनको स्पष्ट विचार थियो – रुसी सीमाभित्र अवैध रूपमा घुसपैठ गर्न खोजेको हुनाले छानबिन जारी रहन्छ । जहानबाट जफत गरिएका कागजातबाट युक्रेनले रुसी सेनालाई भड्काउने उद्देश्यले नै घुसपैठ गरेको पुष्टि हुन्थ्यो । यो अपरेसन युक्रेनी गुप्तचर निकायले सञ्चालन र नियन्त्रण गरेको बरामद कागजातबाट पुष्टि भएको पात्रुशेभले बताए । निष्कर्ष स्पष्ट थियो – रुसले पक्राउ गरेका जहाज र व्यक्तिहरूलाई छोड्ने छैन । पात्रुशेभले यो घटनालाई मेक्सिकोको सीमाबाट हुने घुसपैठसँग तुलना पनि गरे । बोल्टनले कानुनी प्रक्रियामा कति समय लाग्ला भनी सोधे । पात्रुशेभले बुझेर खबर गर्ने बताए । यो सूचना बोल्टनले ट्रम्पलाई सुनाए । बोल्टनकै सल्लाह अनुसार ट्रम्पले पुटिनसँगको दुई पक्षीय भेटवार्ता स्थगित गरे र त्यसको जानकारी उनले ट्वीटमार्फत सार्वजनिक गरे । यसले रुसी पक्ष चिढियो ।
ब्युनस आयर्समा पनि पुटिन र ट्रम्पको भेटका लागि कसरत भयो । तर, पुटिनले आफ्नो अडान छोडेनन् । यद्यपि भोजनको समयमा उनीहरूबीच कुराकानी भएरै छोड्यो । पछि ट्रम्प र मर्केलबीचको दुई पक्षीय वार्तामा ट्रम्पले भने, “रुसप्रति सहानुभूति राख्ने युक्रेनी राष्ट्रपतिले तेस्रो विश्वयुद्ध रोक्न टेवा दिन सक्छ ।”
पुटिनसँग कुराकानी
मार्च ३१ गतेको निर्वाचनसम्म युक्रेन शान्त रह्यो । तर, ट्रम्पको युक्रेन चासो युक्रेनस्थित अमेरिकाको राजदूत योभानोविचमा थियो । ट्रम्प उनलाई पटक्कै रुचाउँथेनन् । उनले पटकपटक उनलाई अमेरिका फिर्ता बोलाउन भनिसकेका थिए । योभानोविचबारे गलत सूचनाहरू ट्रम्पलाई उनका कानुनी सल्लाहकार रुढी जुलियानीले सुनाएको बोल्टन दाबी गर्छन् । जुलियानीले सन् २०१६ मा सम्पन्न अमेरिकाको राष्ट्रपति निर्वाचनमा रुसले नभई युक्रेनी अधिकारीहरूले हस्तक्षेप गरेको भन्दै आएका थिए । त्यसैले योभानोविच हिलारी क्लिन्टनकी मान्छे भएको जुलियानीको आरोप थियो । यस विषयमा कुनै प्रमाण नभएको पोम्पेओले बताए । बरु योभानोविचले युक्रेनमा भ्रष्टाचार घटाउने प्रयास गरेको पोम्पेओको बुझाइ थियो ।
मार्च ३१ को युक्रेन निर्वाचनमा जेलेन्स्की सबैभन्दा अगाडि देखिए । अब कसरी जाने भन्ने विषयमा छलफल गर्न बोल्टनले आफ्ना फ्रान्सेली र जर्मन समकक्षीहरूसँग फोनवार्ता गरे । जर्मनीका हेकरले पोरोशेन्कोलाई बर्लिन बोलाउने भने । फ्रान्सका एतियनले पोरोशेन्को र जेलेन्स्की दुवैलाई पेरिस बोलाएर कुराकानी गर्ने बताए । हार्ने पक्षलाई बोके जित्ने पक्षसँग काम गर्न अप्ठ्यारो हुने बोल्टनले देखे । अप्रिल २१ मा जेलेन्स्कीले खसेको मतको ७३ प्रतिशत मत ल्याएर पोरोशेन्कोलाई चुनावमा पछारे । ट्रम्पले टेलिफोनबाट जेलेन्स्कीलाई बधाई दिए । जेलेन्स्कीले उनलाई पदभार ग्रहण गर्न समारोहमा आमन्त्रण गरे । आफ्नो साटो वरिष्ठ अमेरिकी प्रतिनिधि पठाउने वचन दिएर ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउस भ्रमणको निम्तो दिए ।
अप्रिल २३ मा ट्रम्प र मुल्भानीले जुलियानीसँग योभानोविचसँग कुराकानी गर्दै थिए । राजदूत योभानोविच छलफलकी प्रमुख विषय थिइन् । केही मुद्दाहरूको छानबिन बन्द गर्न अमेरिकी राष्ट्रपतिले भनेको भनी योभानोविचले जेलेन्स्कीसँग कुरा गरेको हल्ला चल्दै थियो । जुलियानीले योभानोविच हिलारी क्लिटनसँग मिलेको र उनीहरूलाई जो बाइडेनका छोरा हन्टर बाइडेनले सघाएको बताए । यो सुनेपछि पोम्पेओले योभानोविचलाई नहटाएको देखेर ट्रम्प चकित भए । पोम्पेओ भने जुलियानीको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभएको बताउँदै आएका थिए । केही समय विदेश मन्त्रालयका दस्तावेजका चाङ न्याय मन्त्रालयमा पठाएपछि योभानोविच र उनीअघिका राजदूत केही अज्ञात गतिविधिमा संलग्न भएको र ती गतिविधि आपराधिक पनि हुनसक्ने ठहर भयो । यसपछि पोम्पेओले योभानोविचलाई फिर्ता बोलाउने बताए ।
जुलियानी वाहियात षड्यन्त्र सिद्धान्तमा लागेको बोल्टनको निष्कर्ष छ । यद्यपि युक्रेनमा मैदान विद्रोहपछि विकास भएको अराजक घटनाक्रम हेर्दा जुलियानीको आरोप निराधार मान्न मुश्किल छ ।
मे ३ मा ट्रम्पले पुटिनलाई फोन गरे । बोल्टन ट्रम्प पुटिनसँग कुरा गर्न मरिहत्ते गरेको भन्दै व्यङ्ग्य कस्छन् । युक्रेनको जहाज र त्यसमा सवार कर्मचारीहरू फिर्ता नगर्दासम्म कुरा नगर्ने आफ्नो सर्त मिचेर ट्रम्पले पुटिनसँग कुरा गरे । पुटिनले जेलेन्स्कीको चुनावी अभियान प्रयोजन गरेको हुनले इगोर कोलोमोइस्कीले आफ्नो सम्पत्ति फिर्ता पाउने बताए । जेलेन्स्की टेलिभिजन कलाकार हुनाले रुसमा पनि उनका समर्थक र सम्पर्क रहेको पुटिनले थपे । साथै, उनले जेलेन्स्कीको परीक्षण हुन बाँकी छ भने । जेलेन्स्की औपचारिक रूपमा युक्रेनी राष्ट्रपति नभएको हुँदा आफूले कुरा नगरेको पुटिनको तर्क थियो । अर्थात् संसदीय निर्वाचनमा जेलेन्स्कीको दल ‘जनसेवक पार्टी’ ले जित्ने विषयमा उनलाई शङ्का थियो ।
जेलेन्स्कीको जीत
मे ८ मा युक्रेनको विषयमा ट्रम्पको कार्यालय ओभलमा बैठक बस्यो । त्यसमा जुलियानी, मुल्भानी, सिपोलन र बोल्टनलगायत केही अधिकारीहरू उपस्थित थिए । त्यहाँ हिलारी क्लिन्टनले २०१६ को निर्वाचनमा धाँधली गराए–नगराएको र त्यसमा हन्टर बाइडेन संलग्न भए–नभएको विषयमा छानबिन गर्न जेलेन्स्कीलाई भन्ने कुरा उठ्यो । यसको लागि जुलियानी युक्रेन जाने भए । बाहिर योभानोविचलाई अमेरिका बोलाउने खबर पत्रपत्रिकामा फैलिसकेको थियो ।
केही दिनपछि ‘न्युयोर्क टाइम्स’ मा जुलियानीको अन्तर्वार्ता छापियो । त्यसमा उनले भने, “हामी युक्रेनी निर्वाचनमा भाँजो हाल्दै छैनौँ । हामी छानबिनमा भाँजो हाल्दै छौँ । यो हाम्रो अधिकार हो । यसमा कुनै गैरकानुनी केही छैन । कसैले यसलाई अनुचित भन्न सक्छ । यो विदेश नीति होइन भन्न सक्छ । म उनीहरूले पहिलेदेखि गर्दै आएको अनुसन्धान गर्न भन्दै छु । अरूले त्यो बन्द गर भन्दै छन् । तिनीहरूले अनुसन्धान रोक्नु हुन्न भन्ने विषयमा म कारण पनि बताउँछु किनभने अनुसन्धानबाट आउने नतिजाले मेरा ग्राहकलाई फाइदा पुग्न सक्छ, र त्यो अमेरिकी सरकारलाई पनि काम लाग्न सक्छ ।” यो पढेपछि जुलियानीलाई युक्रेन पठाउन हुन्न भन्ने विषयमा सिपोलन, आइजनबर्ग र बोल्टन एकमत भए ।
मे २० मा जेलेन्स्कीले पदभार ग्रहण गर्ने दिन थियो । ट्रम्पले उपराष्ट्रपति पेन्सलाई युक्रेन पठाउने सोचे । तर पछि ऊर्जामन्त्री रिक पेरी जाने भए । ऊर्जाको क्षेत्रमा पूर्वी युरोपमा रुसको ‘रजाइँ’ हुनाले पेरी जानु फलदायी हुने ट्रम्पले देखे । उनीसँगै युरोपेली युनियनका लागि अमेरिकी राजदूत गोर्डन सोन्डलेन्ड पनि जाने भए । उनीसँगै युक्रेनका लागि अमेरिकी प्रतिनिधि भोल्कर र सांसद रोन जोनसन पनि थिए । पदभार ग्रहण गर्ने समारोहमा जेलेन्स्कीले संसदीय निर्वाचन गर्ने घोषणा गरे । खासमा उनले जनअपेक्षा अनुसार काम गर्न नसक्ने हुनाले संसदीय निर्वाचन नगराउने पोरोशेन्को पक्षधरहरूको अनुमान थियो । जेलेन्स्कीले सबैलाई चकित पारे ।
ट्रम्प बिस्तारै युक्रेनसँग चिढिँदै गए । युक्रेनले हिलारी क्लिन्टन र हन्टर बाइडेनसँग मिलेर आफूलाई हराउन खोजेको हुनाले युक्रेनलाई कहिल्यै सहयोग नगर्ने मनस्थितिमा उनी पुगिसकेका थिए । युक्रेनबाट फर्केको टोलीका ऊर्जामन्त्री पेरीले ट्रम्पलाई त्यहाँको विषयमा जानकारी गराउन खोजे । उनले जेलेन्स्की ह्वाइट हाउस आउने बताए । ट्रम्पले सुन्नै चाहेनन् । त्यसपछि जुलाईमा हुने युक्रेनी संसदीय निर्वाचनपछि मात्र जेलेन्स्कीलाई बोलाउन सकिने तय भयो । सोन्डलेन्डले पनि जेलेन्स्कीको अमेरिका भ्रमणमा जोड दिए । तर ट्रम्पको मनोदशा हेरेर अमेरिकी कर्मचारीतन्त्रले कछुवा चाल देखायो । जेलेन्स्कीबारे युरोपेली देशहरू पनि सशङ्कित भएको बोल्टन दाबी गर्छन् । जून महिनासम्म फ्रान्सेली राष्ट्रपति म्याक्रोँले जेलेन्स्कीसँग हिमचिम बढाइसकेका थिए ।
जून २५ मा बोल्टनले इजरायलबाट ट्रम्पसँग युक्रेनको विषयमा कुरा गरे । ट्रम्पले “भन्सार कर बढाउनाले यो महिना धेरै धन आएको” बताए । त्यसपछि युक्रेनलाई अढाई करोड डलर सहयोग गर्ने कुरा उठ्यो । संसद्ले सो सहयोग अनुमोदन गरिसकेको थियो । ट्रम्पले अलमल देखाए । जर्मनीले आफ्नो छिमेकीलाई सहयोग नगरेको भने । यस विषयमा ट्रम्पले बोल्टनसँग उनको राय मागे । बोल्टनले एस्परलाई युरोप पठाएर युरोपेली देशको ढुकुटीबाट पैसा खसाल्न भने । ट्रम्पले युक्रेनलाई ‘रक्षा सहयोग’ रोक्न खोजेकोमा बोल्टन छक्क परे । खासमा जेलेन्स्की र उनको सरकारलाई दबाब दिन ट्रम्पले त्यसो गरेका थिए ।
जुलाई १० मा बोल्टनले आफ्ना युक्रेनी समकक्षी ओलेक्सान्द्र दानिल्युकसँग कुरा गरे । दानिल्युक पश्चिमसमर्थक थिए । उनी पहिले पोरोशेन्कोका वित्तमन्त्री थिए । कुराकानीको क्रममा उनीहरूले जेलेन्स्कीको अमेरिका भ्रमणमा जोड दिए । ट्रम्पको मनोदशाका कारण बोल्टनले हुन्छ भन्न सकेनन् । दानिल्युक अमेरिकासँग नजिकिन चाहन्थे । खासमा ट्रम्प–जेलेन्स्की भेटवार्ताको योजना दानिल्युकको थिएन । बरु युरोपेली युनियनका अमेरिकी राजदूत सोन्डलेन्डको थियो ।
युक्रेनमा संसदीय निर्वाचन भयो । त्यसमा जेलेन्स्कीको दलले ४३ प्रतिशत मत पायो । यो पर्याप्त मत थियो । यसबीच बोल्टन जापान भ्रमण गएका थिए । अमेरिकी सैन्य अखडाका लागि जापानले आफ्नो सैन्य बजेट बढाओस् भन्ने ट्रम्पको सन्देश लिएर उनी त्यहाँ गएका थिए । उनी अमेरिका फर्केपछि ट्रम्प र जेलेन्स्कीबीच फोनवार्ता भयो ।
बोल्टन जेलेन्स्कीबाट खुसी थिए । किनभने संसद्मा बहुमत ल्याएको उत्साहमा उनले रुसी ट्याङ्कर र त्यसमा सवार कर्मचारीहरूलाई पक्राउ गरे । यो कर्च जलडमरुको घटनाको बदला थियो । यो देखेर बोल्टनले जेलेन्स्कीमा दम भएको थाहा पाए । जुलाई २५ मा ट्रम्प र जेलेन्स्कीले फोनमा कुराकानी गरे । जेलेन्स्कीले पुरानाहरू पाखा लागेको र नयाँ नेताहरूले जितेको बताए । ट्रम्पले अमेरिकाले युक्रेनको लागि युरोपेली युनियनले भन्दा धेरै गरेको र गर्नुपर्ने युरोपले थियो भने । उनले भने, “युरोपेलीहरू धेरै कुरा गर्छन्, हामी मात्र युक्रेनलाई सहयोग गर्छौँ । बदलामा युक्रेनले राम्रो गरिरहेको छैन ।” ट्रम्पले जुलियानीको आरोपतिर इशारा गर्दै थिए । जेलेन्स्कीले मर्केल र म्याक्रोँले चाहिनेजति नगरेको, रुसविरुद्ध पर्याप्त नाकाबन्दी नलगाएको बताएर ट्रम्पलाई कुरा लगाए । उनले भने, “युरोपेली युनियन हाम्रो ठूलो साझेदार बन्नुपर्ने, तर संरा अमेरिकाले मात्र धेरै गर्दै आएको छ ।” ट्रम्पले ‘क्राउडस्ट्राइक’ नामक साइबर कम्पनीको कुरा झिके र त्यसमाथि छानबिन गर्न भने किनभने सोही कम्पनीले हिलारी क्लिन्टनलाई चुनावमा सघाएको उनको बुझाइ थियो । जेलेन्स्कीले नयाँ अधिकारी छनोट गरेर त्यो काम अघि बढाउने र ट्रम्पसँग व्यक्तिगत सम्बन्ध राख्न चाहेको बताए । उनले अमेरिकासँग रणनीतिक साझेदारीलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । ट्रम्पले योभानोविच र जो बाइडेनका छोराको चर्तिकलाबारे बताए । उनीहरूले चुनावमा धाँधली गर्ने कम्पनीमाथि छानबिन गर्न नदिएको ट्रम्पले सुनाए । जेलेन्स्कीले योभानोविच खराब भएको बताए । अन्त्यमा जेलेन्स्कीले ट्रम्पलाई युक्रेन भ्रमणमा बोलाए । ट्रम्पले शिष्टतापूर्वक हुन्न भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *