भर्खरै :

आमाको कथा र व्यथा !

आमाको कथा र व्यथा !

आफूले चाहेको वा सोचेको भन्दा विपरीत परिणाम निस्कँदा हाम्रो मुखबाट फुट्ट निस्कन्छ, ‘म ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो’ । हाम्रो दैनिकीमा प्रयोग हुने थुप्रै टुक्काहरूमा यो टुक्का पनि हो । हिउँद लागेसँगै तराईमा मुटु कमाउने शीत लहर र उपत्यकामा हातपाउ जम्ने चिसोको सुरुवात हुन्छ । हट्टाकट्टा युवा युवतीहरूलाई पनि आत्थुआत्थु पार्ने यो जाडो ‘ज्येष्ठ नागरिक’ हरूका लागि त अभिशापै ठहरिने भयोे ! हरेक दिन, हरेक पल, अप्रिय घटना सुनिरहेको छु ! – फलानो तरिव्वा, फलानो धोव्वा, फलानो अजी बित्नुभयो, आज राति फलानो फलानो बजे ! यस्तै ! यस्तै अपसादहरू !
आजभोलि राति–राति, बिहान बिहानै फोनको, मोबाइलको घण्टी बज्दा झसङ्ग हुन्छु कि कतै यो घण्टीले अशुभ सन्देश त दिइरहेको छैन ! उपचारार्थ भर्ना भएका आफ्न्तहरू भेट्न जाने क्रममा अस्पतालहरूको सघन उपचार कक्षमा वयोवृद्धाहरू अक्सिजनको पाइप र मास्कको सहारामा आफ्नो श्वासप्रश्वासलाई सहज बनाउन सङ्घर्ष गरिरहेका देखिन्छन् । हुन त उमेर पुगेको मात्र होइन, चालीस र साठीबिचका जवानहरूले पनि यही पुस महिनामै हृदयघाटको कारणले मृत्यु–वरण गरेका दुःखद समाचाहरू आइरहेकै हुन् ।
चिकित्सा विद्याले पनि चिसो मौसममा, उमेर पुगेका, दम रोगी, धुवाँमा काम गर्ने, चुरोटको अम्मली र छातीको समस्या हुनेलाई झन् गाह्रो हुने गर्छ । विकासको नाममा गरिने अविवेकी, अमानवीय कार्यहरू, विश्व जलवायु परिवर्तन, अत्यधिक सवारी साधनले फ्याक्ने दूषित धुवाँ र वायु प्रदूषणले छाती र श्वासप्रश्वासका दीर्घरोगीहरूको घाउमा नुन चुक छर्ने नै भयो । स्वस्थ मानिसको आयुलाई पनि यसले निर्मतापूर्वक छाँट्दै लगिरहेको छ । यसैलाई मनन गरी यही पुस महिनाको आगमनसँगै भक्तपुर नगरपालिकाले छाती र श्वासप्रश्वासका रोगहरूको प्रतिरोधात्मक उपचारको लागि महिनाभरि नै स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ ।
यस्तै एउटा स्वास्थ शिविरमा हामी जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेवी र चिकित्सा टोली बिहान ७ बजेदेखि नै तयारीमा रह्यौँ । शिविर समयमै सुरु भयो । बा, आमा, छोराछोरी र नाति नातिनाहरूको हात समाउँदै आए । कोही आप्mनो कुप्रो शरीरलाई घिसार्दै शिविरसम्म आइपुगे । नाम दर्ता भयो । स्वास्थ्य जाँच गरियोे । श्वास फेर्न गाह्रो भएकालाई बाफ दिइयो । आवश्यकताअनुसार कसैलाई नयाँ औषधि, कसैलाई आराम गर्न र चुरोट खानेहरूलाई नखान सल्लाह दिइरहे, स्वास्थ्यकर्मीहरूले । अब, दमले ग्रसित मिश्रीमायाको पालो । रक्तचाप २००÷१२०, जुन सामान्य थिएन । डाक्टरले उनलाई अहिले नै अस्पताल जान र थप औषधि उपचार गर्न सल्लाह दिनुभयो । औषधि लिने ठाउँमा आएर उहाँले आजै अस्पताल जान नसक्ने र दुईचार दिनपछि मात्र जाने कुरा गर्न थाल्नुभयो । तर, उहाँको रक्तचापले खतराको सङ्केत गर्दै थियो । कुनै पनि बेला उहाँलाई स्ट्रोक हुनसक्थ्यो । उहाँका परिवार र अरु कोही सँगै आउनुभएको छ कि भने खोज्न थाल्यौँ । उहाँ त एक्लै आउनुभएको पो रहेछ ¤ थप सोधपुछ गरी छोरा, बुहारी अन्य जहान परिवारको मोबाइल नम्बर माग्न थाल्याँै तर व्यर्थ ¤ उहाँले कसैको नम्बर दिनसक्नुभएन । आजै अस्पताल नजाने भनि जिद्दी गर्नुभयो । दुई चार महिनाअघि भएको एउटा घरदैलो कार्यक्रममा यस्तै उच्च रक्तचाप भएकी आमालाई अस्पताल जान हामीले सुझाएका थियौँ । उहाँले नातिसँग अस्पताल जाने बाचा गर्नुभएको थियो । तर, अफसोच ¤ केही दिनपछि रक्तचापकै कारण पक्षघात भई हात खुट्टा नचल्ने भएको खबर आयो । पछि थाहा भयो, उहाँ अस्पताल जानुभएन । यस्तै दुःखद घटना नदोहरियोेस् भनेर हामी मिश्रीमाया आमालाई अस्पताल जान सम्झाइबुझाइ गरी नै रह्यौँ । उहाँको जिद्दीलाई थामथुम पार्दै मोटरसाइकलमा अस्पताल लाने निर्णय गरी पु¥यायौँ र जचायौँ ।
बाटोभरि मिश्रीमाया आमा चिन्तायुक्त स्वरमा बर्बराइ नै रहनुभयो – “पर्सी कान्छो छोराको ४५ दिन । लुगा धुने, घर लिप्ने केही गरेको छैन, पचास–साठी जनालाई भोज खुवाउनु पर्छ, तयारी गरेको छैन ।” मैले सान्त्वना दिने प्र्रयास गरेँ – “अरु छोरा बुहारीहरूले गरिहाल्छन् नि । सबै तपाईँले नै गर्नुपर्छ र ?” आमाको घरको गन्थन सुन्दै हामी अस्पतालको आकस्मिक कक्षमा पुग्यौँ । उहाँलाई बेडमा सुताउँदै सिस्टरले जाँच गर्न थालिन् । बेडमाथिको मनिटरले आमाको रक्तचाप अघिको जति नै देखाइरहेको थियो । उच्च रक्तचापले मृगौलामा पनि क्षति पु¥याउँछ । मृगौलाको अवस्था थाहा पाउन रगत परीक्षण पनि भयो । आमालाई रक्तचाप घटाउने औषधि पनि चलाइयो । रक्तचाप अझै नघटेकोले उहाँलाई आकस्मिक कक्षका डाक्टर र नर्सले बेडमा आराम गर्न आग्रह गरे । तर, उहाँ घर जाने भनेर सुँक्कसँुक्क गर्न थाल्नुभयो । गहभरि आँसु टलपल गरिरहेको थियो । आमाले आफ्नो व्यथाको पोको खोल्न थालिन् – “तीन–तीनजना छोराहरू छन् । सबै भाडाको कोठामा आ–आफ्नो परिवारसँगै बस्छन् । म बूढी सानो टहरामा एक्लै बस्छु ।” मिश्रीमाया आमासँगको हाम्रो बसाइ दुई घण्टा बितिसकेको थियो । यति छोटो समयको हाम्रो बसाइले हामी र आमाबिचको भावनात्मक सम्बन्ध नजानिँदो पाराले गाढा भइसकेको थियो । उहाँले आफ्नो मनको बह विस्तारै पोख्न थाल्नुभयो ।

अशक्त आमा बुबालाई एक्लै छाडेर जान किन हिच्किचाउँदैनन्, सन्तानहरू ? रामायणको रामलाई सम्झेँ, जसले बुबादशरथको एक बचनमा १२ बर्षको बनबासलाई हाँसीहाँसी स्वीकारे । लक्ष्मणलाई सम्झेँ, जसले दाइ रामको हरेक बचनको पालना गरे । साँच्चै रामायण सत्यमाआधारित कथाहो या काल्पनिक कथामात्र ?

“बूढा बित्दा कान्छो छोरो दुईवर्षको मात्र थियो । परिवार लिएर अलग्गै बसेको कान्छो “आमा” भनेर बरोबर आउँथे । तर, के गर्ने ! “आमा” भनेर भेट्न आएको पनि भगवानले सहेन ¤ त्रिचालिस दिनअघि साथीलाई घर पु¥याउन मोटरसाइकलमा गएको कान्छालाई ट्रकले नराम्ररी हान्यो । उनको घटनास्थलमै मृत्यु भयो । उनको साथीको टाउकोको ठूलो अप्रेसन भयो र बाँच्यो ।” मिश्रीमाया आमाको व्यथा सुन्दै गर्दा हामीलाई पनि भक्कानिउँ जस्तो लाग्यो । तर, हामीले मन थाम्यौँ । उहाँलाई सम्झाउने प्रयास गर्यौैँ – “नरुनुस् आमा ¤ हामी छौँ नि त । तपाईँको छोरी र बुहारीहरू पनि होलान्, सब ठीक भइहाल्छ नि । पहिला आफ्नो स्वास्थ्य ठीक गर्नुस् अनि घरको विधि व्यवहार गरौँला ।” हाम्रो संस्कारमा आमाको सबभन्दा निजक छोरी नै हुने भएकोले मैले अचानक छोरीको कुरा उठाउँदै भनेँ, “छोरीलाई फोन गरी बोलाउन आमा ।” मेरो कुरा सुनेर आमा आत्तिइन् – “पर्दैन, पर्दैन ¤ कति माइत जानु पर्ने भनेर ज्वाइँ रिसाउलान्, छोरीले पसल हेर्नुपर्छ । छोरीले कोही नयाँ मान्छेसँग कुरा गर्यो कि ज्वाइँ शङ्का गर्दै छोरीसँग रिसाउँछन् । भो पर्दैन, उनलाई नबोलाऔँँ” आमाको चिन्ता देखेर हामी एकछिन अक्कनबक्क भयौँ । घरायसी कामकाज, विधि व्यवहारको चिन्ता छोडेर नाति नातिना काखमा खेलाउँदै फुक्का भएर बस्छन् यो उमेरमा कोही कोही । तर, मिश्रीमाया आमा एक्लो, दम र रक्तचापले ग्रस्त शरीर लिएर कान्छोको ४५ दिनको संस्कार गर्न एक्लैले अटालिरहन्छन् । छोरीलाई दुःख होला भनेर फोनसमेत गर्न मान्दैनन् ।
औषधिको असरले रक्तचाप घट्दै गएको मनिटरले देखाउँछ । डाक्टरले आमालाई घर जान अनुमति दिन्छन् । घर व्यवहारको चिन्ताले उनको रक्तचाप चाँडै नघट्ने पक्का हो । हामी बाध्य भयौँ, आमालाई टहराको घरमा पु¥याउन गयौँ । एकनाले अग्ला दुई घरहरूको बिचमा मुश्किलले १२÷ १५ फिटको मोहदाको एकतले तहराको जस्ताको खापामा झुन्डिएको ताला आफैले खोल्दै आमाले हामीलाई भित्र आउन आग्रह गर्दै भनिन् – “हेर्नुस् ¤ यस्तो साँघुरो टहरा छ, अनि कान्छी बुहारी मसँग यहाँ कसरी बस्छे ? कान्छोको तेह्र दिन सकिँदै सानो छोरो च्यापेर उनी माइत गइहालिन् ।”
आकस्मिक कक्षका डाक्टरले आमालाई लेखिदिएको औषधि लिन उहाँको बीमा कार्ड लिएर टहराबाट हामी निस्क्यौँ । टहरा भित्रबाटै कराइन्, “औषधि लिएर आउँदा तपाईँहरूलाई पनि खाना पकाएर राख्छु है ।” आमाको स्वर धेरै बेरसम्म कानमा गुञ्जिरह्यो । मिश्रीमाया आमाको कथा–व्यथाले मेरो मन मस्तिष्क नराम्ररी हल्लिरहेको थियो । केही नपढी निद्रै नलाग्ने बानी, आज खै पढ्ने जाँगर पनि आएन । खाली मिश्रीमाया आमाको गहभरिको आँसु, उनको एकनाले टहरा, कान्छोको दुःखद मृत्यु, एकसाथ आँखा अगाडि घुमिरह्योे । हामीले आफ्नो आमा बुबालाई हामी सबै सन्तानहरू मिलेर बिरामी पर्दा र बुढेसकालमा राम्ररी स्याहारसुसार गरेका थियौँ । आमाबुबाहरूको सेवा गर्न पाउँदा हामी छोराछोरीहरू खुसी हुन्थ्यौँ । आज यस्तो किन भइरहेछ ? हाम्रो समाज कता गइरहेछ ? अशक्त आमा बुबालाई एक्लै छाडेर जान किन हिच्किचाउँदैनन्, सन्तानहरू ? रामायणको रामलाई सम्झेँ, जसले बुबादशरथको एक बचनमा १२ बर्षको बनबासलाई हाँसीहाँसी स्वीकारे । लक्ष्मणलाई सम्झेँ, जसले दाइ रामको हरेक बचनको पालना गरे । साँच्चै रामायण सत्यमाआधारित कथाहो या काल्पनिक कथामात्र ?
मिश्रीमाया आमाको जस्तो कथाव्यथा बोकेर जीवन जिइरहेका अरु कति आमा बाहरू होलान् ? समृद्धिको सपना बाँड्दै मुठीभर स्वार्थी व्यक्तिहरूको मात्र हित हुने पुँजीवादी बाटोमा देशलाई हिँडाउन उद्यत लुचा–फटाहाहरूले सामाजिक विखण्डन र सामाजिक मूल्यको ह्रास र पतनबारे केही हेक्का राखेका होलान् ? यस्तै यस्तै सम्झेर कुनबेला निदाएछु, पत्तै भएन ।
२४ पुस २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *