भर्खरै :

विश्वासको मतमा नेकाको गूढ कुरा के ?

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकालाई लात मारेको या धोका दिएको यथार्थ कसैले चाहेर पनि छोप्न सक्दैन । आफ्नो दललाई धोका दिएर नेकाको सपना सबै चकनाचुर पार्ने प्रम दाहाललाई नेकाका सांसदहरूले किन विश्वासको मत दिए ? यो कुरा नेकाका नेता, सांसद र कार्यकर्ताबिच मात्र होइन अन्य राजनीतिक दल, नागरिक समाज र सर्वसाधारणबिच पनि चर्चाको विषय बन्यो । नेकाले मत नदिए पनि प्रम दाहालले विश्वासको मत पाउनेमा शङ्का छैन । के नेकाले विश्वासको मत नदिए नेकाका नेताहरूले भनेझैँ संविधान बच्दैन ? नेकाले विश्वासको मत दिएपछि मात्रै संविधान बच्ने हो ?
संसदीय व्यवस्थामा सरकार जति महत्वपूर्ण हुन्छ त्यतिकै प्रतिपक्षको पनि त्यतिकै महत्वपूर्ण ध्यान हुन्छ । बहुमतको सरकार हुन्छ भने अल्पमतको प्रतिपक्ष हुन्छ । संविधानले बलियो प्रतिपक्षीको कल्पना गरेको छ । राजनीतिक विश्लेषकहरू प्रतिपक्षविनाको व्यवस्था गलत ठान्छन् । प्रतिपक्षमा बस्ने दलले विश्वासको मत दिनु संसदीय प्रणालीविपरीत छ । यो कार्य संसद्लाई विकृत बाटोमा लैजाने बाटो हो । त्यस्तो गलत बाटोको विकास गर्न प्रजातान्त्रिक दल नेका किन लाग्यो भन्ने प्रश्न पनि राजनीतिक वृत्तमा उठ्यो । सरकारको गुण र दोषको आधारमा समर्थन र विरोध गर्नु एउटा पाटो हो भने सरकारले सार्वजनिक गरेको न्यूनतम कार्यक्रमको समर्थन गर्दै विश्वासको मत दिनु अर्काे पाटो हो ।
नेकाले एमालेको समर्थनमा बनेको माओवादीको नेतृत्वमा बनेको सरकारमा सामेल नहुने कुरा स्पष्ट पारेको छ । तर, सरकारलाई विश्वासको मत दिएर नेका प्रतिपक्षमा बसेको मान्ने कि नमान्ने ¤ सञ्चारमाध्यममा आएझैँ के नेकाले ‘देखावटी प्रतिपक्ष’ को भूमिका निर्वाह गरेको हो ? प्रतिपक्षको भूमिका पनि देखाउने र नदेखाउने हुन्छ ? संसद्मा विपक्षीको सशक्त भूमिका हुनुपर्छ भन्ने थाहा पाएको नेकाले कुन स्वार्थ या गुह्य कुरा पूरा गर्न प्रम दाहाललाई समर्थन गरेको हो ? यो कुरा कुनै दिन सार्वजनिक हुने नै छ ।
सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति पूर्णरूपले जवाफदेही बनाउन संसद्मा सशक्त विपक्षी दलको खाँचो छ । सरकारको पनि पूर्णतः समर्थन गर्ने र विपक्षमा पनि बस्ने नेकाको व्यवहार द्वैधचरित्रको छ । नेकाले संविधान बचाउन विश्वासको मत दिएको भन्ने कुरामा त्यति दम छैन । के त्यो विश्वासको मत दाहालको नेतृत्वमा बनेको सरकार बिचैमा ढाल्ने मन्त्रयुद्ध हो ? नेपाली राजनीतिमा सत्तालिप्साको भोक बढेको बढ्यै छ । नेकाका नेता, सांसदहरूमात्र होइन संविधानका ज्ञाताहरूले पनि नेकाले विश्वासको मत नदिई प्रमुख प्रतिपक्षकै भूमिका निर्वाह गर्नुपर्ने तर्क राख्नु गलत होइन ¤ नेकाले गरेको समर्थनबारे एमालेका अध्यक्ष ओली आफै शङ्काले हेर्छन् । यसरी शङ्कै शङ्काको भरमा नेपालको राजनीति घस्रिरहेको छ । कुन दिन देशमा फेरि अर्काे राजनीतिक दुर्घटना हुने हो निश्चित छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *