भर्खरै :

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – ३०

ट्रम्पका सुरक्षा सल्लाहकारको गन्थन – ३०

(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)

ट्रम्पको आनाकानी
अमेरिकाले ४० करोड डलर युक्रेनलाई ‘रक्षा सहयोग’ गर्दै थियो । सो रकम युक्रेनलाई दिने संसद्बाटै पारित भएको थियो । बोल्टन, पोम्पेओ र एस्परले पटकपटक ट्रम्पलाई भेट्न पनि उनले पैसा दिने छाँटकाँट देखाएनन् । यसमा अमेरिकी कर्मचारीतन्त्रको ढिलासुस्तीलाई पनि बोल्टनले ठूलो अवरोध देखे । ट्रम्पलाई युक्रेनको लागि पैसा मागेर चिढाए । उनी सहयोगकै विपक्षमा जाने निश्चित थियो । यद्यपि, एक बैठकमा बोल्टनले युक्रेनलाई दिने भनेको रकम रोक्का गरिएको थाहा पाए । अन्य देशलाई अमेरिकाले वार्षिक ४ अर्ब डलर सहयोग दिँदै आएको थियो । ट्रम्प त्यसलाई पनि रोक्न भन्दै थिए ।
२०१९ अगस्ट २० मा ट्रम्पसँग बोल्टनले रक्षा सहयोगबारे कुरा गरे । ट्रम्पले हिलारी क्लिन्टन र हन्टर बाइडेनको चुनावी हस्तक्षेपको विषयमा छानबिन नगरेसम्म सहयोग रोक्ने बताए । यस्तैमा हुथी लडाकुहरूले अमेरिकाको अर्को ड्रोन पनि भुइँमा खसाले । ट्रम्पले केही भनेनन् । अगस्ट २३ गते भएको बैठकमा ट्रम्पले जी–७ को बैठकमा युक्रेनलाई दिने आर्थिक सहयोगबारे कुरा गर्ने बताए । एस्परले मन्त्रीस्तरीय बैठकमा युक्रेनमा अन्य देशलाई पनि सहयोग बढाउन भन्ने बताए । जी–७ को बैठकमा फ्रान्स र जर्मनीले युक्रेनको तनाव कम गर्न पुटिनले केही गर्ने अपेक्षा लिए । तर, अन्य देश रुसलाई बोलाएकोमा रिसाए ।

बोल्टनको युक्रेन, मोल्दोभा र बेलारुस भ्रमण
अगस्ट २६ मा बोल्टन युक्रेनको ‘निजी भ्रमण’ मा गए । भ्रमणमा उनले युक्रेनका धेरै उच्चपदस्थ कर्मचारी, सैनिक, नेता र मन्त्रीहरूलाई भेटे । यो भ्रमण उनको कार्यकालकै अन्तिम विदेश भ्रमण बन्यो ।
भ्रमण जाँदै गर्दा बोल्टनले अमेरिकी अधिकारी भोल्करसँग कुरा गरे । भोल्करले जेलेन्स्कीको तारिफ गरे र उनी अमेरिकाको घरेलु मामिलामा हस्तक्षेप गर्ने मनोदशामा नरहेको बताए । यद्यपि, जेलेन्स्की ट्रम्पको आग्रहअनुसार अनुसन्धान गर्न राजी थिए । युक्रेनको राजधानी किभमा सुरुमा बोल्टनले आफ्ना समकक्षी दानिल्युकलाई भेटे । उनीहरूबिच युक्रेनको राष्ट्रिय सुरक्षा परिषद्ले कसरी काम गर्ने, क्रिमिया र डोनबस क्षेत्रको समस्यालाई लिएर रुससँग कसरी प्रस्तुत हुने र समग्र युक्रेनी परिवेशबारे छलफल भयो । यो छलफलमा बोल्टनकै विभागका बिल टेलर पनि सँगै थिए । त्यसपछि बोल्टन डोनबस युद्धमा मारिएका युक्रेनीहरूको स्मारकमा गए । भोलिपल्ट बोल्टनले युक्रेनी सुरक्षा सेवाका अध्यक्ष तन बाकानोभलाई भेट्न गए । बाकानोभलाई अमेरिकी दूतावासका कर्मचारीहरू पनि मन पराउँथे । उनीहरूले दुई युक्रेनी कम्पनीबारे कुरा गरे । सरकारी स्वामित्वमा रहेका मोटर सिच र अन्तोनोभ चिनियाँ ‘नियन्त्रण’ मा जाने ‘खतरा’ बारे कुरा भयो । ती कम्पनी सोभियत सङ्घकै पालादेखि थिए र चीनसँग सहकार्य गर्दै थिए । चीननजिक गए अमेरिकाले सहयोग नगर्ने बोल्टनले बताए ।
भोलिपल्ट बोल्टनले रक्षामन्त्री बन्ने आन्द्री जागोरोदन्युकलाई भेटे । उनी युक्रेनी सेनालाई सुधार गर्न चाहन्थे । डोनबसमा चलिरहेको लडाइँलाई हेरेर पनि उनी परिवर्तनको पक्षमा थिए । उनी अमेरिकामा अड्किरहेको आर्थिक सहयोगबाट हातहतियार किन्ने र केही रकम सैन्य क्षमता वृद्धिका निम्ति खर्च गर्ने सोचमा थिए । भविष्यमा अमेरिकी सहयोग धेरै गुना बढ्ने उनले अपेक्षा सुनाए । साँझपख बोल्टनले जनरल रुस्लान खोमचकलाई भेटे । उनी युक्रेनी जनरल स्टाफका प्रमुख थिए । खोमचक अमेरिकी सैन्य सहयोगका पक्षधर थिए । उनी युक्रेनको सैन्य संस्कृति फेर्न तम्तयार थिए । उनी अङ्ग्रेजी भाषामै तालिम दिलाउनुपर्ने विचारका पक्षपाती थिए । उनी मस्कोसँग सम्पूर्ण सम्बन्ध तोड्न तयार थिए । उनी रुसले सीमा क्षेत्रमा बढाउँदै गएको सैन्य उपस्थितिबाट ‘चिन्तित’ थिए । उनले यसलाई युक्रेन र पोल्यान्ड दुवैका लागि खतरा भने ।
यसपछि बोल्टन जेलेन्स्कीलाई भेट्न राष्ट्रपति भवन गए । त्यहाँ जेलेन्स्कीका प्रमुख सहयोगी आन्द्री बोहदान र उनका सहयोगी रुस्लान राइबोशाप्का पनि थिए । बोहदान जेलेन्स्की र धनाढ्य इगोर कोलोमोइस्कीका निजी वकिल थिए । बोहदान र दानिल्युकबिच खटपट थियो । बोहदानले बोल्टनसँग देशमा सुधार ल्याउन अमेरिकी सहयोगको अपेक्षा गरेको बताए । जेलेन्स्कीका धेरै मन्त्रीहरूको नयाँ अनुहार थिए, उनीहरूलाई प्रशासन र सरकार चलाउने अनुभव थिए । मन्त्रिमण्डल विज्ञताको आधारमा बनाइएको थियो । उनीहरू पहिले विभिन्न राजनीतिक दलमा थिए । प्रिस्ताइको नाटोका लागि पूर्व युक्रेनी दूत थिए ।
बोल्टनले प्रिस्ताइकोसँग विदेश नीतिको विषयमा झन्डै एक घण्टा कुरा गरे । प्रिस्ताइकोले अमेरिका रुससँगको ‘आइएनएफ’ सन्धिबाट पछि हटेकोमा युक्रेनलाई फाइदा भएको बताए । पूर्व सोभियत राज्यको नाताले सो सन्धि युक्रेनको हकमा पनि लागू भएको तर सन्धि खारेज भएपछि युक्रेन मुक्त भएको उनले बताए । युक्रेनले पनि सन्धिले प्रतिबन्ध लगाएका मिसाइलहरू राख्न पाउने भयो भनी प्रिस्ताइको खुसी थिए । क्रिमिया र डोनबसतिर उनको इसारा थियो । उनी यसलाई अमेरिका, युरोप र युक्रेनको विजयको रूपमा हेर्दै थिए । रुससँग लड्ने प्रिस्ताइकोको विचार देखेर बोल्टनको खुट्टा भुइँमा थिएन । राइबोशाप्कालाई बोल्टनले सिधै अमेरिकी न्याय मन्त्रालयसँग कुरा गर्न भने । राइबोशाप्काले अमेरिकी चुनावसँग जोडिएको मामिलामा छानबिन गर्दै थिए ।
यसपछि जेलेन्स्कीसँग बोल्टनको भेट भयो । जेलेन्स्की विषयवस्तुमा स्पष्ट भएको बोल्टन लेख्छन् । अमेरिकाले क्रिमियाको विषयलाई लिएर रुसमाथि नाकाबन्दी लगाएको र ‘क्रिमिया कब्जा’ लाई अमान्य घोषणा गरेकोमा जेलेन्स्कीले अमेरिकालाई धन्यवाद भने । उनीहरूबिच नोरम्यान्डी समूहको शान्ति प्रक्रिया प्रभावकारी नभएको कुरा चल्यो । (यो शान्ति प्रक्रिया युक्रेनको सैन्य क्षमता बढाएर उसलाई नाटोमा ल्याउँदासम्म रुसको आँखामा छारो हाल्ने चालबाजी थियो भनी हालै एँगेला मर्केलले स्वीकार गरेकी छिन् ।) जेलेन्स्कीले रुस–युक्रेन विवाद समाधान गर्न बेलायत र अमेरिका अझ सक्रिय हुनुपर्ने बताए । कुरा देशतिर मोडियो । जेलेन्स्कीले भ्रष्टाचारसँगको लडाइँलाई आफ्नो प्रमुख मुद्दा भने । संसद्मा २५४ सिट ल्याएको हुनाले उनको दल ‘जनसेवक पार्टी’ ले २५४ वटा कानुन ल्याउँदै थियो । उनले भने, “आश्वासनका दिन सक्किए, अब कार्यान्वयन गर्ने हो ।”
युक्रेनी जहाजीहरूलाई फिर्ता गर्न जेलेन्स्कीले पुटिनसँग फोन गरेको बताए । उनी डोनबस सकेसम्म हात पार्न चाहन्थे र मिन्स्क सम्झौताअनुसार युद्ध अन्त्य गर्न चाहन्थे । यो बोल्टनको बुझाइ हो । उनी एकपछि अर्को सहरमा युद्धविराम गर्ने तयारीमा थिए र यसको लागि रुसले पनि एकएक पाइला चाल्नुपर्ने उनको सर्त थियो । बोल्टनले चतु¥याइँपूर्वक डोनबस हात पर्यो र क्रिमिया हात लागेन भने के गर्नुहुन्छ भनी सोधे । जेलेन्स्कीले त्यस्तो स्थितिमा पश्चिमा रुसमाथि नाकाबन्दी चालू राख्नुपर्छ भने । उनीहरूले बेलारुस र मोल्दोभाको विषयमा पनि कुरा गरे । यी देशसँग युक्रेनको समस्या (रुस र भ्रष्टाचार) मिलेको उनीहरूको निष्कर्ष थियो ।
किभ छोड्दै गर्दा बोल्टन एकदम उत्साहित थिए । जेलेन्स्कीको टोलीसँग ढुक्कले काम गर्न सकिने उनले बुझिसकेका थिए । अगस्ट २९ मा उनी किभबाट मोल्दोभा र बेलारुस गए । उनी रुसलाई अमेरिकाले उसको छिमेकबाट ध्यान नहटाएको सन्देश दिन चाहन्थे । बेलारुसलाई पुटिनले रुसमा भाग्न चाहेको हुनाले आफूले बेलारुसका लुकाशेन्कोलाई भेट्न गएको बोल्टन दाबी गर्छन् । बोल्टन अझै पदमा बहाल हुन्थे भने उनले ‘कूटनीतिक र सैन्य’ उपायमार्फत अन्य पूर्व सोभियत गणराज्यलाई पनि अमेरिका नजिक लाने थिए । यो कुरा उनले लुकाएका छैनन् ।
यसबिच बोल्टनले बिल टेलर किभमै बस्ने थाहा पाए । टेलर अमेरिका र युक्रेनको बढ्दो हिमचिमबाट खुसी थिए । अमेरिकाले युक्रेनको सैन्यकरणमा टेवा नदिए उनी अमेरिकाको साथ छोडेर भए पनि युक्रेनको पक्षमा काम गर्न तयार थिए । सरकारी सेवामा आउनुअघि उनी निजी कम्पनीमा काम गर्थे । यो कुरा बोल्टनबाहेक पोम्पेओलाई पनि थाहा थियो ।

उपराष्ट्रपति पेन्सको वार्सा भ्रमण
पोल्यान्डको राजधानी वार्सामा दोस्रो विश्वयुद्धको नाजी हमलाको स्मरणमा कार्यक्रम हुँदै थियो । त्यहाँ पूर्व सोभियत गणराज्यहरूका प्रतिनिधि आउने निश्चित थियो । त्यसैले ट्रम्प त्यहाँ जान चाहन्थेनन् । अमेरिकाले युक्रेनलाई दिने भनिएको रकम नाटो देशहरूले दिनुपर्ने उनको अडान थियो । एउटा भिडियोवार्तामा वार्सामा रहेका बोल्टनलाई ट्रम्पले भने, “पैसा नदिए, तिमीहरूको रक्षा गर्दैनौँ भन्न म तयार छु । युक्रेनलाई दिने रकम पनि नाटोले नै दिनुपर्छ । युक्रेन हामी र रुसबिचको पर्खाल हो ।” त्यसपछि उपराष्ट्रपति पेन्सलाई ट्रम्पले भने, “(नाटो महासचिव) स्तोल्टेनलाई फोन गरेर नाटोलाई पैसा तिराउन लगाउनू । नाटोको डिसेम्बर बैठकसम्म पर्खिन भन्नू ।” ट्रम्प नाटोबाट पछि हट्ने धम्की दिँदै थिए ।
ट्रम्पले वार्सा नजाने बहाना पाए । अमेरिकाको फ्लोरिडा राज्यमा ठूलो तुफान आयो । त्यसैले उनले उपराष्ट्रपति पेन्सलाई वार्सा पठाए । ट्रम्पले पैसा दिन्न भनेको युक्रेनलाई च्याप्नमात्र हो भन्ने पेन्सको बुझाइ थियो । तर, ट्रम्प गम्भीर थिए । पेन्ससँगै युरोपेली युनियनका लागि अमेरिकी राजदूत सोन्डलेन्ड पनि वार्सा गएका थिए । सोन्डलेन्डले जुलियानीको कुरा उप्काउन सक्थे । त्यसैले बोल्टनले आफ्नो युक्रेन भ्रमणबारे पेन्सलाई जानकारी गराए । वार्सामा पेन्सले जेलेन्स्कीलाई भेटे । उनले अमेरिकी सहयोगबारे खुलेर कुरा गर्न सकेनन् । सोन्डलेन्डले पेन्सलाई जुलियानीको विषय उठाउन भनेका थिए । बैठकमा त्यसको कुरा उठेन । बरु पछि सोन्डलेन्ड आफैले यो कुरा युक्रेनी अधिकारीलाई बताए ।
जेलेन्स्कीसँगको भेटबाट उपराष्ट्रपति पेन्स उत्साहित भए । उनले ट्रम्पलाई भने, “हाम्रो २५ करोड अमेरिकी डलरको सहयोग अघि बढाउनुपर्छ भन्ने मेरो सिफारिस छ ।” उनले ट्रम्पलाई राष्ट्रसङ्घको महासभामा भेट्न सुझाव दिए । यसपछि जेलेन्स्कीले रुससँग बन्दी साटासाट गर्ने भए । यो सुनेर ट्रम्प सहयोग रकम पठाउने निष्कर्षमा पुगे ।

कुराकानी गर्दै राष्ट्रपति ट्रम्प र बोल्टन

बोल्टनको बर्खास्ती/राजीनामा
बोल्टन वार्साबाट अमेरिका फर्के । उनी ट्रम्पलाई भेट्न २०१९ सेप्टेम्बर ९ मा राष्ट्रपति कार्यालय ओभल गए । ट्रम्पले अफगानिस्तानको विषय मिडियामा नउठेको गुनासो गरे । तालिबानसँगको भेट र सम्झौता हुन नसकेकोमा उनी दुःखी थिए । त्यसपछि ट्रम्पले भने, “तिमीलाई धेरैले रुचाउँदैनन् । तिमी सूचना चुहाउँछौ र समूहमा मिलेर काम गर्दैनौ भन्दै छन् ।” केही महिनायता बोल्टनमाथि यो आरोप लाग्दै आएको थियो । तर, यसको दोष आफूलाई नभई पोम्पेओ र मुल्भानीलाई जाने बोल्टनले स्पष्टीकरण दिन्छन् । बरु आफ्नो बारेमा अखबारहरूमा राम्रै खबर छापिएको उनी लेख्छन् । तालिबानीहरूसँगको बैठकबारे पनि आफूले उनीहरूसँग सम्झौता गर्न नचाहेको उनी ट्रम्पसामु खुलेर भन्छन् । त्यसपछि ट्रम्पले सैन्य जहाजको कुरा उठाउँछन् । युक्रेन, मोल्दोभा र बेलारुस भ्रमण गर्दा उनले अमेरिकी सैन्य विमान प्रयोग गरेका थिए । सुरक्षा सल्लाहकार सैन्य विमानमा यात्रा गर्नु अमेरिकी परम्परा रहेको बोल्टन लेख्छन् । त्यसपछि ट्रम्पले भने, “तिमीले राष्ट्रिय सुरक्षा परिषद्मा आफ्ना मान्छेहरू भरेका छौ ।” यी गुनासाहरू ट्रम्पका नभई मुल्भानीका भएको बोल्टन अनुमान लगाउँछन् ।
यति सुनेपछि बोल्टनले ‘भोलि बिहान पद छोड्ने’ बताएर ट्रम्पको कार्यालयबाट बाहिर निस्के । ट्रम्पलाई सहयोगी वाल्सले सैन्य विमानको ‘परम्परा’ बारे सुनाए । यसपछि ट्रम्पले भने, “मैले अनुमति नदिँदासम्म अब सैन्य विमान प्रयोग नगर्न भन्नु उनलाई ।” यसको अर्थ ट्रम्पले बोल्टन काममा आइरहने सोचेका थिए भनी बोल्टन अनुमान गर्छन् । जेहोस्, भोलिपल्ट अर्थात् सेप्टेम्बर १० तारिखमा बोल्टनले राजीनामा दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *