भर्खरै :

बाग्मती प्रदेशको सभामुखमा नेमकिपाबाट सृजनाको उम्मेदवारी

बाग्मती प्रदेशको सभामुखमा नेमकिपाबाट सृजनाको उम्मेदवारी

हेटौंडा, २८ पुस । बाग्मती प्रदेशको सभामुखका लागि नेपाल मजदुर किसान पार्टीका सांसद सृजना साँयजुले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँले संविधानको धारा १८२ एवं प्रदेशसभा नियमावली (पहिलो संशोधन), २०७४ को नियम ७ को उपनियम (२) बमोजिम बाग्मती प्रदेशसभाको सभामुख पदमा पहिलो नम्बरमै उम्मेदवारी दर्ता गराउनुभएको हो ।
साँयजुको उम्मेदवारीमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाई प्रस्तावक र गीता काफ्ले समर्थकमा बस्नुभएको छ ।
त्यस्तैगरी सत्ता गठबन्धनको तर्फबाट राष्ट्रिय प्रजातन्त्र पार्टी
(राप्रपा) का भुवनकुमार पाठकले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र समर्थकमा माओवादी केन्द्रका युवराज दुलाल हुनुहुन्छ ।
नेपाली काङ्ग्रेसको तर्फबाट शिवराज अधिकारीले उम्मेदवारी दर्ता गराउनुभएको छ । अधिकारीको प्रस्तावमा कुन्दनराज काफ्ले र समर्थकमा रामकृष्ण चित्रकार हुनुहुन्छ ।
सभामुख पदको उम्मेदवारी दर्ता गराउने समय बिहीबार दिउँसो २ः०० बजेसम्मको लागि तोकिएको थियो ।
बाग्मती प्रदेशसभाको शुक्रबार बिहान ११ बजे बस्ने बैठकले सभामुख चयन गर्ने कार्यक्रम रहेको प्रदेशसभा सचिवालयका सचिव एवं निर्वाचन अधिकृत कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेशसभामा एक सय १० जना सांसद हुनुहुन्छ ।
प्रदेशसभाको उपसभामुख पदका लागि भने तोकिएको समयसीमाभित्र कुनै पनि उम्मेदवारी दर्ता नभएकोले भोलि बस्ने प्रदेशसभा बैठकले सोसम्बन्धी निर्वाचन कार्यक्रम सार्वजिनक गर्ने सचिवालय सचिव एवं निर्वाचन अधिकृत खड्काले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *