भर्खरै :

शोषणविहीन समाजको लागि सङ्घर्ष आवश्यक

शोषणविहीन समाजको लागि सङ्घर्ष आवश्यक

महाबु गाउँ दैलेखको टाकुरामा छ । गाउँमा ल्होसारको रमझममा एउटा कार्यक्रम भयो । कार्यक्रमको नारा थियो, ‘शिक्षा–स्वास्थ्य निःशुल्क गर ! युवाहरूलाई रोजगारीको व्यवस्था गर !’ दैलेख क्षेत्र नं. १ का सांसद पनि अतिथि थिए । कार्यक्रममा गाउँ, समाज, जिल्ला र देशका समस्याहरूको कुरा उठ्यो । सहभागीहरूमध्ये केही व्यक्ति देशबारे चिन्तित देखिन्थे । धेरैजसो रमाइलो गर्ने धुनमा थिए ।
एक अतिथिले भने, “जनताले आफ्नो हात काटेर तपाईँलाई मत दिएका छन् । जनताका समस्या समाधान होला भन्ने आसमा भोट हाले । तपाईँ सांसद बन्नुभयो । के युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था हुन्छ ? के शिक्षा–स्वास्थ्य निःशुल्क दिने कानुनी व्यवस्था हुन्छ ? स्वदेशमै मल कारखाना खोलेर किसानहरूको सेवा हुन्छ ? देशघाती एमसीसी सम्झौता र नागरिकता विधेयक खारेज हुन्छ कि हुँदैन ? यसबारे तपाईँको धारणा के छ ?”
बोल्ने पालो सांसदको थियो । आफ्ना सांसदले यी विषयमा केही त बोल्लान् भन्ने धेरै सहभागीको आस थियो । जनताबिच कानेखुसी चल्दै थियो, “यस्तो कानुन बने नेपाली जनताले परिवर्तनको अनुभूति गर्ने थिए । के नेपाली नेताले यस्तो कानुन बनाउँछन् त ? सरकारमा गएर भ्रष्टाचार र कमिसन खान पल्केकाले के बनाउनु ! सत्तामा जाने धेरै दल विदेशीका दलाल छन् । नेपाली जनताले भनेको भन्दा आफ्ना मालिकले जे भने त्यहीँ गर्छन् । कति सांसद, मन्त्री तथा कर्मचारी भारत, अमेरिकालगायत खोइ क–कसका दलाल छन् रे ! सामान्य जनताले सबै कुरा बुभ्mदैनन् । बुभ्mने कति लोभ–लालचमा फस्छन् । देशभक्त नेता र जनता नभएसम्म देशको मुक्ति सम्भव छैन ।”
सांसदले बोले, “जनताले विश्वास गरे । पटक–पटक जिताए । मैले पनि जनताको काम राम्रोसँग गरेँ । विकास निर्माण गरेकै छु । यहाँ राम्रो काम गर्ने मान्छेको खुट्टा तान्ने गरिन्छ । खराब व्यक्ति र पापीहरूका लागि कसले ढोका खोल्छ ! गरेकै छु त !”
उनको भाषण सुन्दा जनता तीनछक्क परे । प्रदेश र प्रतिनिधिसभाका सदस्य कानुन बनाउन जाने हो भन्ने बुझिने कुरा हो । तर, उनले नबुझेको जस्तो देखियो । बुझेका भए, विभिन्न विषयमा कुरा उठ्दा किन त्यस विषयमा बोलेनन् ? यस्तो कानुन बनाउँछु भनेनन् । संविधान सदस्य हुने बेला पनि यस्ता व्यक्तिले के भूमिका खेले होलान् । के शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्छ भन्ने कुराका विरोधी हुन् ? युवाहरूलाई स्वदेशमै रोजगारी दिनुहुँदैन भन्ने उनको धारणा हो ? उनको चाला देखेर सहभागीहरूले मुखामुख गरे । के–के गरेर चुनाव जिते भन्ने कुरा ती सांसदका कार्यकर्ता र समर्थकले आँखा चिम्ले पनि दैलेखी जनतालाई राम्रोसँग थाहा छ । कम्युनिस्ट पार्टीका नेतालाई वर्गसङ्घर्षबारे राम्रै ज्ञान होला । कसको पक्षमा काम गर्दा राम्रो काम भन्ने पनि फरक–फरक होला । मजदुर र किसानको हितमा यो–यो राम्रो काम गर्दा खुट्टा ताने, यसले विरोध गरे भनेका भए जनताले आफ्नो वर्ग शत्रु प्रस्ट चिन्ने थिए । के धर्म र पापका कुरा गरेर जनता ठग्ने व्यक्ति पनि कम्युनिस्ट हुन सक्छन् ? अथवा उनको पार्टी र उनको कम्युनिस्ट र समाजवाद शब्द जनता ठग्ने चाल हो ? सचेत जनतामा चर्चा चलेको छ । सुरुवाती अवस्थामा समाजलाई सञ्चालन गर्न धर्मको विकास भयो । तर, पछि दास मालिक तथा सामन्तहरूले आफ्नो शासन टिकाई राख्न धर्मको प्रयोग गरे । उनीहरूले धर्मको नाममा शासन र शोषण गरे । अहिले पनि जनता ठग्नेलाई कारबाही र सजाय दिन नसके जनताले झन् बढी दुःख पाउने छन् । शोषणविहीन समाज निर्माणका लागि हामीले सङ्घर्ष नगरी नहुने भइसक्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *