भर्खरै :

देश भद्रगोल र अव्यवस्थित हुनुमा शासक दलहरू नै जिम्मेवार

देश भद्रगोल र अव्यवस्थित हुनुमा शासक दलहरू नै जिम्मेवार

मानिसले सत्य के हो ? असत्य के हो भन्ने कुरा बुझ्न सक्ने हुनुपर्दछ । सत्य र ठीक कुराको मात्र जयजयकार र समर्थन गर्नुपर्दछ वा राम्रो हो भन्नुपर्दछ । त्यस्तै गलत, बेठीक कुराको खुलेर विरोध गर्न सक्नु पर्दछ । अझ भनौँ देश र समाजलाई डो¥याउने, हिँडाउने राजनीति र त्यसको नेतृत्व गर्नेहरूको सही र गलत काम कुराको विषयमा ठीक खण्डन गर्न आवश्यक पर्दछ । आज देशको नेतृत्व गर्नेहरूको गलत कार्य र व्यवहारहरूको कारण समाज पछि परेको हो । शासक दल र तिनका युवा कार्यकर्ताहरूले नेतृत्वको हरेक काम कुराहरूलाई आलोचनात्मक दृष्टिकोणले हेर्न नसक्दा समाज बर्बादमा फसेको कुरा हामीले बुझ्नु पर्दछ ।
नेकपा माओवादीका अध्यक्ष प्रचण्ड सबै क्षेत्रबाट विवादित नेता हुन् । शान्ति प्रक्रियामा आइसकेपछि प्रचण्डका सहकर्मी मोहन वैद्य, नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतले जनयुद्धको भावनाविपरीत प्रचण्ड हिँडेको भने । पछि बाबुराम भट्टराईले बुढीगण्डकी हाइड्रोपावर आयोजनाबाट ९ अर्ब रूपैयाँ प्रचण्ड, देउवा, वलीले मिलेर खाएको प्रमाण नै भएको कुरा बोलेर नयाँ शक्ति पार्टी खोले । प्रचण्ड आफ्नो अस्तित्व जोगाउन कहिले काङ्ग्रेससँग चुनावी गठबन्धन गर्छन्, कहिले एमालेसँग पार्टी एकता गर्छन् । उनी देश र जनताको हितको लागि भन्दा पनि आफ्नो सत्ता स्वार्थको लागि अनेक जालझेल गर्छन् । देशघाती एमसीसी गलत छ भनेर कार्यकर्ता सडकमा उतारेको र स्वार्थ पूरा हुने भएपछि प्रचण्डले आन्दोलन बन्द गर्न लगाएको कुरा ताजै छ । काङ्ग्रेससँगको गठबन्धन पन्ध्र बीस वर्षसम्म रहने भनेर चुनावमा मत मागेकोमा प्रचण्ड एकाएक एमालेसँग सत्ता गठबन्धन गर्न पुगे ।
सिद्धान्त र विचारको राजनीति प्रचण्डसँग नभएको कुरा सबै जानकार छन् । झूट र भ्रमको खेती गर्न प्रचण्ड अब्बल भएको कुरा सबै जानकार छन् । त्यसैमा माओवादीका युवा कार्यकर्ताहरू पछिपछि लाग्छन् अनि भन्छन्– प्रचण्ड चतुर खेलाडी हुन् । देशको राजनीतिको ह्याण्डलिङ नै प्रचण्डको हातमा छ । आसेपासे झोले कार्यकर्ताहरू प्रचण्डले जे जस्तो कुकर्म गरे पनि ठीक ठान्छन् । प्रचण्डले काङ्ग्रेससँग चुनावी तालमेल गर्दा माओवादी कार्यकर्ताहरू एमालेको कार्यकर्तासँग झडप हुन पुगेको र एमालेसँग चुनावी गठबन्धन हुँदा काङ्ग्रेसी कार्यकर्ताहरूसँग झडप भएका कुराहरू गाउँका जनताले अहिले आएर बुझ्न थालेका छन् । तर, माओवादीका पिछलग्गू युवा कार्यकर्ताहरूले कहिल्यै पनि प्रचण्डबाट भएको गलत नेतृत्व र राजनीतिलाई नराम्रो भन्न सकेनन् । शासक पुँजीवादी दलका युवा कार्यकर्ताहरू स्थानीय तहको निर्वाचनमा एउटा पार्टीसँग कुम जोडेर हिँडे भने प्रतिनिधिसभाको निर्वाचनमा अर्को पार्टीसँग कुम जोडेर हिँडे । यिनीहरूको बच्चाजस्तो व्यवहारले जनतालाई लाज हुन थालेको छ । युवासँग जोस, जाँगर हुन्छ अनि गलत सही छुट्याउन सक्ने क्षमता पनि हुन्छ । तर, शासक दलका झोले अन्धभक्त युवा कार्यकर्ताहरू सिर्जनशील बन्न सकेनन् र प्रगतिशील हुन जानेनन् । अन्धभक्तको कारण पार्टीको हित हुँदैन र समाजको हित पनि हुन सक्दैन । देश भद्रगोल र अव्यवस्थित हुनुमा ती नै शासक दल, नेता र अन्धभक्त झोले कार्यकर्ताहरू जिम्मेवार छन् । आम जनताको मस्तिष्कमा यही कुरा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *