भर्खरै :

पुरानै हर्कतमा ब्राजिलका कट्टर दक्षिणपन्थीहरू

२०२३ जनवरी ८ मा ब्राजिली झन्डाको रङ झल्किने लुगाहरू लगाएका मानिसहरूको भिड देशको राजधानी ब्रासिलियामा प्रदर्शनमा उत्रियो । उनीहरू सङ्घीय भवन र सर्वोच्च अदालतको हाताभित्र पसे र सार्वजनिक सम्पत्ति तोडफोड गरे । उपद्रवमा उत्रिनेहरूले यस्तो हमला गर्छन् भन्ने कुरा सबैलाई थाहा थियो किनभने सामाजिक सञ्जालमार्फत धेरै दिनदेखि ‘साताव्यापी जुलुसप्रदर्शन’ गर्ने व्यापक प्रचारप्रसार गरेका थिए ।
जनवरी १ मा लुला नाउँले लोकप्रिय लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलको नयाँ राष्ट्रपति पदको शपथ खाएका थिए । तर, उनले पदभार ग्रहण गर्दा यस्तो हुलदंगा भएको थिएन । लाग्छ उपद्रव गर्नेहरूले सहर कहिले शान्त होला भनेर पर्खिरहेका थिए । लुला सहरबाहिर गएपछि सडकमा उत्रिने योजना बनाएको देखिन्छ । हमलामा जति नै चुरीफुरी देखाएपछि उनीहरूको योजना कायरतापूर्ण थियो भन्ने कुरा यसैबाट सिद्ध हुन्छ ।
लुलाले राष्ट्रपति पदमा पराजित गरेका पूर्व ब्राजिली राष्ट्रपति जायर बोल्शोनारो ब्रासिलियामा कहीँकतै थिएनन् । उनी ब्राजिलमै थिएनन् । शपथग्रहण कार्यक्रमभन्दा अगाडि नै उनी भागिसकेका थिए । पक्कै पनि सरकारले पक्राउ गर्ने हुनाले भाग्नु स्वाभाविक थियो । उनी संरा अमेरिकाको फ्लोरिडा राज्यस्थित ओर्लान्डो पुगेका थिए । बोल्शोनारो ब्रासिलियामा नभए पनि बोल्शोनारोपन्थीहरू त जताततै थिए । उनका समर्थकलाई उनकै नाउँबाट बोल्शोनारिस्टा (बोल्शोनारोपन्थी) भनिन्छ ।
२०२२ अक्टोबर ३० मा बोल्शोनारो लुलासँग हार्नुअगावै ब्राजिलको चर्चित पत्रिका ‘ले मोन्डे डिप्लोम्याटिक ब्रसिल’ ले लेखेको थियो – ब्राजिलले ‘बोल्शोनारोविहीन बोल्शोनारोवाद’ देख्नेछ । देशभरिका जनप्रतिनिधि रहने ‘च्याम्बर अफ डेप्युटिज’ र ‘सिनेट’ मा बहुमत दक्षिणपन्थी ‘उदारवादी पार्टी’ कै छ । बोल्शोनारोको राष्ट्रपतीय कार्यकालमा यही बहुमतले राजनीतिक वाहनको काम गरेको थियो । विषालु दक्षिणपन्थी रुझान निर्वाचित निकायहरू र सामाजिक सञ्जाल दुवैतिर छ ।
ब्रासिलियाका जनताको सुरक्षाको जिम्मेवारी एन्डरसन टोरेस र इबानेइस रोचाको काँधमा छ । टोरेस जिल्लाका जनसुरक्षा सचिव हुन् भने रोचा जिल्लाका गभर्नर हुन् । उनीहरू दुवैजना बोल्शोनारो निकट छन् । टोरेस बोल्शोनारो सरकारमा मन्त्री थिए र हमलाका बखत ओर्लान्डोमा बिदा मनाउँदै थिए । रोचाले दिउँसोपख बिदा लिएर बसे । उनी हमलाको बेला कार्यालयमा बस्न चाहन्नथे भन्ने यहीबाट पुष्टि हुन्छ । हमलामा उनीहरूले परोक्ष सहयोग गरे । यसको लागि टोरेसलाई पदबाट बर्खास्त गरियो र रोचालाई निलम्बित गरियो । सुरक्षाको जिम्मा जिल्ला सरकारले सम्हालेको छ । हजारौँ ‘अतिवादी नाजीहरू’ लाई पक्राउ पक्राउ गरिएको छ । राष्ट्रपति लुलाले हुलदंगा गर्नेहरूलाई ‘अतिवादी नाजीहरू’ भनेका छन् ।
ब्रासिलिया थर्काएका नारा र चिन्हहरूले बोल्शोनारोलाई छोएनन्, बरु लुलाविरुद्ध विषवमन गरे । उनको सम्भावित जनपक्षीय सरकारप्रति उनीहरूले घृणा फैलाए । लुलाले प्रस्ताव गरेका सुधारहरूका कारण खासगरी ठूला कृषि व्यवसायीहरू रुष्ट छन् । लुला अपराधी हुन् भन्ने भ्रमजालमा परेका मानिसहरू नै यो हमलामा संलग्न थिए । जब कि अदालतले लुलालाई सफाइ दिइसकेको छ । हमलाको अर्को कारण ब्राजिलका धनाढ्यहरू हुन् । उनीहरूले चेतावनीस्वरूप यो हमला गराएका थिए ।
हमलाको भद्रगोल प्रकृति हेर्दा २०२१ जनवरी ६ को झल्को आउँथ्यो । त्यो दिन संरा अमेरिकी संसद् क्यापिटल हिलमा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरूले हमला गरेका थिए । ‘कम्युनिस्ट राष्ट्रपति जो बाइडेन’ वा ‘कम्युनिस्ट लुला’ को खतराबारे भ्रम फैलाएर धनाढ्य वर्गले दुवै घटनामा आफ्नो तुस पोखेका थिए । उनीहरू सार्वजनिक क्षेत्रमा राज्यको खर्चमा कटौती गर्ने नवउदारवादी अर्थतन्त्रबाट कत्ति पनि पछि फर्किन चाहँदैनन् भन्ने भाव दुवै हमलामा अभिव्यक्त भएको थियो ।
(लेखक भारतीय इतिहासकार, सम्पादक र राजनीतिक विश्लेषक हुन् ।)
स्रोत : न्युजक्लिक
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *