भर्खरै :

सुर्खेतमा नेपाल क्रान्तिकारी किसान सङ्घको जिल्ला भेला

सुर्खेतमा नेपाल क्रान्तिकारी किसान सङ्घको जिल्ला भेला

सुर्खेत, ३० पुस । माओ त्सेतुङ र स्तालिनको जन्म जयन्ती एवं नेमकिपाको ४९ औँ स्थापना दिवस (माघ १०) को अवसरमा नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतको जिल्ला भेला सम्पन्न भयो ।
उक्त भेलामा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्लेले माघ २८ र २९ गते बाराको कलैयामा सम्पन्न हुने नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पार्न आर्थिक, नैतिक र भौतिक सहयोग गर्न र प्रचारप्रसारलगायतका गतिविधि गर्न अनुरोध गर्नुभयो । उहाँले नेमकिपा विचार र सिद्धान्तमा आधारित पार्टी भएको र विचार सानो नहुने बताउँदै नेमकिपा अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, दलाल पुँजीवाद र देशभित्रको सामन्तवादलगायतका शक्तिसँग एक्लै लडिरहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाले माक्र्सवादको पहिलो प्रयोग लेनिनले रुसमा उद्योग कलकारखानामा काम गर्ने व्यापक मजदुरहरूलाई सचेत र सङ्गठित गरी सन् १९१७ मा अक्टोबर क्रान्ति सम्पन्न गरी समाजवाद स्थापना गर्नुभएको विचार व्यक्त गर्नुभयो । माओले गाउँ–गाउँका किसानहरूलाइ सचेत र सङ्गठित गरी समाजवाद स्थापना गर्नुभएको तथ्य प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “गाउँ–गाउँका किसानहरूलाई सङ्गठित गर्ने कष्टसाध्य कार्यमार्फत क्रान्ति सम्पन्न हुन्छ भन्ने नयाँ प्रयोग नै माओ विचारधारा हो ।”
कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहरा, नेक्राकिसङ्घका केन्द्रीय सदस्यद्वय प्रेमकुमार थापा र ऐनबहादुर शाही, नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य अकलबहादुर राना, नेक्रायुसङ्घका केन्द्रीय सहसंयोजक लालबहादुर थापा, नेपाल क्रान्तिकारी महिला सङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्का, कालिकोट तिलागुफा ३ का वडाध्यक्ष सूर्यबहादुर शाही, गगनबहादुर बिक, पुष्पराज राना र देवीराम सिजापतिलगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो । सोही कार्यक्रममा कानुन अध्ययन समाजका टीकाप्रसाद पोखरेल र महिला सङ्घका सदस्य बिजुकला रानाले प्रगतिशील गीत प्रस्तुत गर्नुभएको थियोे ।
नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेको उपस्थितिमा भएको भेलाबाट लोकबहादुर शाहीको संयोजकत्वमा २२ सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ सुर्खेतको प्रथम जिल्ला सम्मेलन तयारी समिति गठन भयो ।
त्यसैगरी, नेपाल क्रान्तिकारी युवा सङ्घ सुर्खेतको भेला नेमकिपाका केन्द्रीय सदस्य नवराज कोइरालाको उपस्थिति तथा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाको अध्यक्षतामा सम्पन्न भयो । सो भेलाबाट गोविन्दनाथ योगीको संयोजकत्वमा दोस्रो जिल्ला सम्मेलन तयारी समिति गठन गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *