भर्खरै :

पाँच वर्षदेखि सम्पर्कविहीन डोल्मा घर फिर्ता

काठमाडौँ, ३० भदौ । वैदेशिक रोजगारीका सिलसिलामा कुवेत गएपछि पाँच वर्षदेखि सम्पर्कविहीन सिन्धुपाल्चोककी डोल्मा तामाङका बारेमा राष्ट्रिय समाचार समितिमा समाचार प्रकाशन भएको हप्ता दिनपछि उहाँ नेपाल आइपुग्नुभएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका, कुभिण्डेकी डोल्मा विसं २०६८ मा कुवेत गएकामा पाँच वर्षदेखि परिवारको सम्पर्कमा नआएको बारे गत भदौ २१ गते राससबाट समाचार सम्प्रेषण भएको थियो । स्थानीय दलालले राम्रो काम र पैसा पाउने प्रलोभन देखाउँदै उनलाई कुवेत पु¥याएको थियो । डोल्मा आज घर आइपुगेको जानकारी दिँदै आमा छेकुले पाँच वर्षपछि आफ्नो खुशी फर्किएको प्रतिक्रिया दिनुभयो ।
छेकुले टेलिफोनमा रासससँग भन्नुभयो, “आजबाट रात पनि दिनजस्तै उज्यालो हुन्छ जस्तो लागेको छ ।” पाँच वर्ष सम्पर्कमा नआएपछि छोरीसँग भेट हुने आशा मरिसके पनि एक्कासि आज भेट हुँदा खुशीको सीमा नरहेको उहाँको भनाइ छ ।
छोरी भेटिएको खुशीमा शनिबार घरमा भोज गर्ने योजनासमेत रहेको उहाँले जानकारी दिनुभयो । गएको एक वर्षसम्म फोन सम्पर्कमै रहेकी छोरीसँग एक्कासि पाँच वर्षअघिदेखि फोन सम्पर्क छुटेपछिका धेरै दिन रोएरै बिताएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “छोरीले जेल परेको थिएँ, तीन दिनअघि प्लेनमा राखेर नेपाल पठाइदिए भन्छे, के के भयो अब सोध्दै गर्नुपर्ला, छोरी फर्की, त्यही हाम्रा लागि खुशीको कुरा हो ।”
डोल्मा कुवेत जाँदा १७ वर्षकी मात्रै भए पनि नागरिकतामा उमेर बढाएर घरका सदस्यले पठाएका थिए । त्यसबेला रु ४५ हजार खर्च गरेर तामाङ कुवेत जानुभएको थियो । सिन्धुपाल्चोक, पाँचखर्कका कर्मा लामा र बतासेका प्रकाश लामा भन्ने व्यक्तिले डोल्मालाई कुवेत पठाउन भूमिका खेलेका थिए । डोल्मा त्यतिबेला कक्षा ६ मा पढ्दै थिइन् । छेकुका एक छोरी डोल्मा र दुई छोरा छन् । छोरामध्ये एक कक्षा १० र अर्कोे कक्षा ८ मा पढ्दै गरेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *