भर्खरै :

प्रमलाई विश्वासको मत दिने नेका प्रमुख विपक्षी दल नहुने

प्रमलाई विश्वासको मत दिने नेका प्रमुख विपक्षी दल नहुने

काठमाडौँ, ६ माघ । “प्रधानमन्त्रीलाई विश्वासको मत दिने राजनीतिक दल विपक्षी दल हुने नेपालको कानुनी व्यवस्था होइन । सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को दफा २(ङ) (४) अनुसार प्रतिनिधिसभाको प्रमुख विपक्षी दल नेपाल मजदुर किसान पार्टी हो । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने नेकाले विपक्षी दल दाबी गर्ने कुनै कानुनी आधार छैन । नेपालका राजनीतिक विश्लेषक र बुद्धिजीवीहरूले पनि यो यथार्थ सार्वजनिक गरिरहनुभएको छ ।”
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बाग्मती टेलिभिजनका प्रतिनिधि कृष्ण तिमिल्सिना र हिमालय टेलिभिजनका प्रतिनिधि रामचन्द्र अर्यालसँगको कुराकानीमा उक्त भनाइ राख्नुभएको हो ।
सांसद सुवालले पुँजीवादी विचार बोकेका पुराना र नयाँ राजनीतिक पार्टीहरूबाट देश र जनताको हित नहुने उल्लेख गर्दै पुँजीवादले केही सीमित व्यक्तिको हित गर्छ भने समाजवादले सबैको हित हेर्ने स्पष्ट गर्नुभयो ।
उहाँले भन्नुभयो, “नेपाल मजदुर किसान पार्टी सबैको हित हेर्ने समाजवादी विचार बोकेको देशभक्त पार्टी हो ।”
नेपालको नदीनाला भारतलाई दिने, युवालाई बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न पठाउने, नेपालको बिजुली भारतलाई सस्तोमा दिने र भारतबाट महँगोमा बिजुली ल्याउने, खाना पकाउने ग्याससँगै दाल, चामल र तरकारी पनि भारतबाट किन्ने सरकारहरू र तिनका पार्टी एवं नेताहरू देश र जनताको हितमा थिएनन् र हुनेछैनन्, सांसद सुवालले स्पष्ट गर्नुभयो ।
सुगौली सन्धिअनुसार महाकाली नदी सिङ्गै नेपालको भएको तर महाकाली सन्धिमा महाकाली नदीको अधिकांश भागमा नेपाल र भारतको साझा उल्लेख गरी सुगौली सन्धिको अधिकारसमेत गुमाउने नेका र एमालेलगायत पार्टीहरू देशभक्त नभएको उल्लेख गर्दै सांसद सुवालले वर्तमान र भविष्यको अमेरिकी कानुन पालना गर्नुपर्ने, एमसीसी सम्झौता, अमेरिकी सेनालाई नेपाली सेनाको ब्यारेक कब्जा गराउने एसपीपी साझेदारी, नेपाललाई सिक्किमजस्तै बनाउने नागरिकता विधेयक खारेज नगर्ने सरकारहरूको औचित्य नभएको स्पष्ट गर्नुभयो ।
सांसद सुवालले नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती र नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को नेपाल–भारत सन्धि खारेज गर्नुपर्नेमा जोड दिनुभयो ।
“संसदीय व्यवस्थामा विपक्षी दल प्रजातन्त्रको मेरुदण्डजस्तै हो । प्रमलाई विश्वासको मत नदिने र सभामुखलाई मत नदिने राजनीतिक दल र सांसदहरूलाई विभेद गर्नु राजनैतिक संस्कारविपरीत हो”, सांसद सुवालले उल्लेख गर्नुभयो ।
त्यस्तै सांसद सुवालले शुक्रबार काठमाडौँ क्षेत्र नं. १० का मतदाताहरूलाई पार्टीको तर्फबाट धन्यवाद दिँदै निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित भएको भए नेमकिपाका उम्मेदवारहरू धेरै क्षेत्रबाट निर्वाचित हुने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *