वर्तमान सरकारबारे उसैलाई बोल्न देऔँ
- भाद्र ८, २०८३
देशका बहुमत श्रमजीवी जनतालाई सचेत र सङ्गठित गरी एक आदर्शोन्मुख र शोषणरहित समाज स्थापनामा टेवा पु¥याउने उद्देश्यले प्रकाशित भएको ‘मजदुर’ दैनिक २५ औँ वर्षमा प्रवेश गरेको छ । देश र जनतामा समर्पित विचारप्रधान ‘मजदुर’ दैनिक वर्षैभरि प्रकाशित हुने पत्रिका हो । कम्युनिस्ट सिद्धान्त र विचार बोकेको यो पत्रिका आस्थाको पत्रिका हो । आस्थाको यो पत्रिकामा धूमपान र लागूपदार्थसम्बन्धी विज्ञापन छापिँदैन । जनताका पिरमर्का र समस्या उजागर गर्ने, जनताको हितमा ऐन कानुन बनाउन सरकारको ध्यानाकर्षण गर्ने काम यस पत्रिकाले गरिरहेको छ । शोषितपीडित जनताको आवाज बोकेको यस पत्रिकाले राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा भइरहेको शोषितपीडित, आदिवासी, उत्पीडित जनताको आन्दोलनप्रति ऐक्यबद्धता जनाउने र त्यससम्बन्धी समाचार र लेखलाई स्थान दिइरहेको छ । मजदुर वर्गीय दृष्टिकोणलाई स्थान दिइरहेको यो पत्रिका २०५५ साल माघ १० गते प्रकाशित भएको हो ।
यो पत्रिका निश्चित सिद्धान्त र विचारप्रति प्रतिबद्ध छ । सिद्धान्त, दर्शन र विचार बोकेको यो पत्रिका पैसाको राजनीतिमा विश्वास गर्दैन । भ्रष्टाचार, कमिसन र ढिलासुस्तीको यो पत्रिका विरोध गर्छ । विधिको शासन र सुशासनमा विश्वास गर्ने ‘मजदुर’ दैनिक पत्रिका जातीय राजनीतिमा विश्वास गर्दैन । विदेशी हस्तक्षेप, विदेशी आक्रमण, दबाब र प्रभावको विरोधमा आवाज उठाइरहेको यस पत्रिकाले देशका मजदुर, किसान, विद्यार्थी, युवा, महिला, शिक्षक, देशभक्त व्यापारी, व्यवसायी, न्यायप्रेमी कर्मचारीको हकहितको निम्ति आवाज बुलन्द गर्छ । समाजमा व्याप्त अन्धविश्वास, विकृति र विसङ्गतिविरुद्धका लेख, समाचार र समाचार विश्लेषणमा पत्रिकाले जोड दिइरहेको छ । देश र जनताको अहितमा हुने देशघाती सन्धि–सम्झौता, ऐन–कानुनको विरोधमा जनतालाई आन्दोलित गर्ने, उत्प्रेरित गर्ने काम ‘मजदुर’ दैनिकले गरिरहेको छ ।
पत्रिकाले देशविरोधी र जनविरोधी ऐन–कानुन र गतिविधिको विरोध गरिरहेको छ । यस पत्रिकाले पैसाको भरमा राजनीति गर्ने, पैसा बाँडेर मत बटुल्ने, लोभलालच देखाएर आफ्नो हातमा लिने, नेता तथा कार्यकर्ता भाँड्ने, किनबेचमा लाग्ने दल र दलका नेताहरूको विरोध गरिरहेको छ । सङ्कीर्ण विचार र साम्प्रदायिक भावनाले समाज भड्काउने काम गर्छ । यस्ता विचारलाई दुरुत्साहित गर्ने, देशका नेता, मन्त्री, जनप्रतिनिधि कार्यकर्तालाई देश र जनताप्रति जिम्मेवार बनाउने विचार प्रेषित गरिरहेको पाठकहरूमा अवगतै छ । छलछामको राजनीति गरेर जनता झुकाउने, धाकधम्की दिएर वशमा राख्ने कुत्सित कार्य, उच्छृङ्खल र आपराधिक गतिविधिलाई दुरुत्साहित गर्ने विचार पनि पत्रिकाले स्थान दिइरहेको छ । देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पु¥याउन अघि सर्ने, विदेशी शक्तिराष्ट्र र ती शक्तिराष्ट्रको पछि लाग्ने या उठबसमा चल्ने विदेशी दलालहरूको विरोधको स्वर पनि ‘मजदुर’ दैनिकमा पाइन्छ ।
यस पत्रिकाको स्थापना दिवसमा प्रकाशन निरन्तरतामा साथ दिने लेखक, समालोचक, राजनीतिक कार्यकर्ता, संवाददाता, विज्ञापनदाता, पाठक, ग्राहक, पत्रिकामा आबद्ध सञ्चारकर्मी तथा कर्मचारी, पत्रिका वितरक तथा अन्य सहयोगीहरूको स्मरण गर्नु समीचीन नै हुनेछ । यहाँहरूको सहयोग र साथले हामीलाई उत्साह थपेको छ, प्रेरणा मिलेको छ । यहाँहरूको सहयोग र स्थान विगतमा झैँ आगामी दिनमा पनि पाइरहनेमा हामी विश्वस्त छौँ । यहाँहरू सबैमा ‘मजदुर’ दैनिकको तर्फबाट हामी धन्यवाद तथा आभार व्यक्त गर्दछौँ ।
Leave a Reply