भर्खरै :

आज नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवस

आज नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवस

काठमाडौँ, ९ माघ । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधारालाई मार्ग निर्देशक मानी नेपाली कामदार जनताको एक राजनीतिक पार्टी स्थापनाको खाँचो महसुस गर्दै २०३१ माघ १० (२३ जनवरी १९७५) मा नेपाल मजदुर किसान पार्टी स्थापना भएको थियो । संशोधनवाद, सामाजिक साम्राज्यवाद, भारतीय विस्तारवाद र निरङ्कुश पञ्चायती व्यवस्थाको विरोधमा श्रमजीवी वर्गको अगुवाइको निम्ति नेमकिपा स्थापना भएको हो । नेमकिपाले स्थापनाकालदेखि सिद्धान्तनिष्ठ र इमानदारीपूर्वक देश र जनताको सेवा गर्दै छ । देशमा आमूल परिवर्तन गरेर देश र जनताको सेवा गर्नु नै नेमकिपाको उद्देश्य हो । तद्नुसार नेमकिपाका नेता, सांसद, जनप्रतिनिधि तथा कार्यकर्ताहरू इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न जनताको घर–आँगनमा पुगिरहेका छन् ।
नेकपाभित्र त्यसैबेला सैद्धान्तिक र वैचारिक मतभेद बढ्यो । कम्युनिस्ट पार्टीहरू संशोधनवाद र अवसरवादमा पतन भए । वर्ग शत्रु र वर्ग मित्रबारे फरकफरक मत देखियो । बङ्गलादेश विभाजनको सवालमा मतभेद भयो । रुसी संशोधनवाद सामाजिक साम्राज्यवादबारे मतभेद भयो । कम्युनिस्ट पार्टीभित्र खोटा विचार देखिन थाल्यो । देशमा कम्युनिस्ट आन्दोलन कसरी बढाउने भन्नेबारे मतभेद देखियो । यसरी कम्युनिस्ट पार्टीभित्र सैद्धान्तिक र वैचारिक मतभेदको कारण नेपालको कम्युनिस्ट आन्दोलन अघि बढाउन, कम्युनिस्ट पार्टीलाई दिशानिर्देश गर्न नेमकिपाको स्थापना भएको हो । नेमकिपा समाजवादले मात्र नेपाली जनताको समस्या समाधान हुनेमा विश्वस्त छ । समाजवाद स्थापना गर्न नै नेमकिपाका नेता तथा कार्यकर्ताहरूले पूर्वदेखि पश्चिमसम्मका तल्लो वर्गका जनतामाझ कम्युनिस्टको सिद्धान्त र विचार पु¥याउने काम गरिरहेका छन् । नेमकिपाका प्रतिनिधिहरू सङ्घीय संसद्मा होस् या प्रदेश संसद्मा प्रखर प्रतिपक्षको रूपमा देश र जनताको हितमा सङ्घर्षरत छन् । कम्युनिस्ट पार्टीको साझा शत्रु भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको विरोधमा नेमकिपा सङ्घर्षरत छ ।
वर्गसङ्घर्षको माध्यमबाट पुँजीवादी सत्ता समाप्त गर्ने नेमकिपाको उद्देश्य हो । नेमकिपाले कानुनी र गैरकानुनी सङ्घर्ष गर्दै आएको छ । नेमकिपा जातीय राज्यको वकालत गर्दैन† वर्ग समन्वयको नीति पनि आत्मसात गर्दैन । सामन्तवादी र पुँजीवादी सरकारमा नगई काम गरी खाने वर्गको हित र समाजवादउन्मुख संविधान निर्माणको पक्षमा छ । नेमकिपा नेपाल–भारत सीमा नियमित गर्ने पक्षमा छ† नेपाली भूमि अतिक्रमणको विरोधमा छ । नेपालको सार्वभौमिकता अक्षुण्ण राख्न आमा र बाबु दुवैले नेपाली नागरिकता प्राप्त गरेका सन्तानलाई मात्र वंशजको नेपाली नागरिकता दिनुपर्ने पक्षमा नेमकिपा अडिग छ ।
कम्युनिस्ट आन्दोलनभित्र भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवाद नदेख्ने, सोभियत संशोधनवाद स्वीकार्ने, राजावादी या दरबारपरस्त हुने, संशोधनवाद र अवसरवाद देखिएपछि अर्को कम्युनिस्ट स्थापना गर्नैपर्ने स्थिति देखियो । ‘नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेका खोटाविचारको खण्डन’ र ‘सोभियत संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन’ पुस्तक कम्युनिस्ट पार्टीभित्र मतभेद देखिएपछि प्रकाशित भएको हो । नेमकिपाले पुँजीवादी निर्वाचनबाट समाजवाद नआउने र पुँजीपति वर्गको सञ्चालक समितिको रूपमा सञ्चालन हुने सरकारले तल्लो वर्गका जनताको हित नगर्ने हुँदा नेमकिपा पुँजीवादी सरकारमा नगएको हो । यसकारण, नेमकिपा देशभरि समाजवादी प्रचार अभियानमा लागिरहेको हो । पार्टी स्थापना दिवसलाई पनि नेमकिपाले समाजवादी गणतन्त्रको प्रचार अभियानको रूपमा लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *