भर्खरै :

नियमावली मस्यौदा समितिको बैठक अनुपस्थितिविना टुङ्ग्याइयो

नियमावली मस्यौदा समितिको बैठक अनुपस्थितिविना टुङ्ग्याइयो

काठमाडौँ, ११ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरको उपस्थितिमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठक बुधबार बस्यो । माघ १० गतेको प्रतिनिधिसभा बैठकले सो समिति गठन गरेको थियो ।
माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले सर्वप्रथम समितिको कार्यविधि बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सांसदहरू संसद् बैठकमा नबसे पनि हुने नियमावलीको औचित्य नहुने उल्लेख गर्नुभयो ।नेकाका सांसद जीवन परियारले बैठकको अध्यक्षता सभामुख या कसको हो भनी जिज्ञासा राख्नुभयो ।एकीकृत समाजवादीका प्रकाश ज्वालाले समितिका ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बस्नुपर्ने बताउनुभयो ।
यही बिचमा सभामुख घिमिरेले समितिलाई सहजीकरण गर्न आफू उपस्थित भएको उल्लेख गर्दै आजै कार्यविधि बनाउनुपर्नेमा जोड दिनुभयो ।
एमालेका सांसद एवं पूर्वसभामुख सुवास नेम्वाङले संसद्को सबै प्रक्रियाको अङ्ग सभामुख हुने बताउनुभयो ।
राप्रपाका सांसद ज्ञानबहादुर शाहीले माघ १० गतेको प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूको उपस्थिति थोरै भएको उल्लेख गर्नुभयो । नेकाका सांसद दिलेन्द्र बदूले कार्यविधि बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नियमावलीमा सरकारलाई संसद्प्रति जिम्मेवार बनाउने, बैठकबाट पारित हुने प्रस्तावमा कूल सदस्य सङ्ख्याको बहुमत आवश्यक हुने र बैठक कक्षमा बस्नुपर्ने सांसदहरू मन्त्रालयका मन्त्रीको पछि लागेर आ–आफ्नो निर्वाचन क्षेत्रमा योजना पार्ने स्थिति अन्त्य गर्नुपर्नेतर्फ जोड दिनुभयो ।
सांसद्ले संसद्मा राख्नुहुने देश र जनताको विषयमा मन्त्रीको सम्बोधन हुनैपर्ने प्रावधान नियमावलीमा हुनु जरूरी भएको उल्लेख गर्दै २५ जना मन्त्रीमध्ये एउटा मन्त्री उपस्थित गराई बैठक चलाउनुको औचित्य नहुने बताउनुभयो ।
माओवादीका सांसद हितराज पाण्डेले समितिको सचिव र कार्यविधि नै जरूरी भएको उल्लेख गर्नुभयो । सांसदहरू शक्ति बस्नेत, प्रकाश ज्वाला, दिलेन्द्र बदूले समितिको बैठक मान्न नहुने विचार राख्नुभयो ।
सांसद सुवालले संसद्को सचिवालयबाट मस्यौदा समितिको बैठक नै भएको परिपत्र पठाएको हुँदा उपस्थिति गराउनुपर्नेमा जोड दिनुभयो ।
अन्ततः अर्को बैठक माघ १३ गते बस्ने गरी उपस्थिति नै नगराई बैठक टुङ्ग्याइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *