भर्खरै :

कामदार वर्गको मुख्य दुश्मन भारतीय विस्तारवाद र पुँजीवादी व्यवस्था

कामदार वर्गको मुख्य दुश्मन भारतीय विस्तारवाद र पुँजीवादी व्यवस्था

जुम्ला, ११ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा नेमकिपा जुम्ला जिल्ला समितिको आयोजनामा बुधबार प्रशिक्षण कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य सुनिल प्रजापतिले नेपाली राजनीतिमा कामदार वर्गको मुख्य दुश्मन भारतीय विस्तारवाद र पुँजीवादी रहेको बताउनुभयो ।
नेमकिपा समाजवादी व्यवस्था स्थापना गर्न सङ्घर्षरत रहेको चर्चा गर्दै उहाँले सशस्त्र सङ्घर्षबिना समाजवादी व्यवस्था स्थापना गर्न नसकिने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “नेमकिपाले पहिलो चरणमा किसान आन्दोलनलाई अगाडि बढायो, दोस्रो चरणमा सरसफाइ आन्दोलनलाई अगाडि बढायो र अहिले शिक्षा–स्वास्थ्यमा जोड दिई जनतालाई राजनीतिकरूपमा सचेत र सङ्गठित गर्ने अभियानमा प्रतिबद्ध भई लागिपरेको छ ।”
निर्वाचन जित्ने उद्देश्त्न्दा पनि नेमकिपाले लेनिनवादी सिद्धान्तअनुसार निर्वाचनलाई उपयोग गरिरहेको धारणा राख्दै उहाँले निर्वाचनको नतिजाबाट जनताको चेतनास्तर जाँच्न सकिने बताउनुभयो ।
निर्वाचनमा भाग लिई समाजवादी आन्दोलनको आधारशिला तयारी गर्नु नेमकिपाको उद्देश्य हो, उहाँले भन्नुभयो ।
नेमकिपाले जितेको ठाउँमा पार्टीको सिद्धान्त र निर्देशनअनुसार समाजवादी विचारधाराअनुसार काम गरिरहेको केन्द्रीय सदस्य प्रजापतिले बताउनुभयो ।
क्रान्तिको परिस्थिति तयार नहुँदै क्रान्तिको लागि आह्वान गर्नु वामपन्थी अवसरवाद हुने उहाँले बताउनुभयो ।
केन्द्रीय सदस्य प्रजापतिले भन्नुभयो, “पुँजीवादी राजनीति जालफेल र षड्यन्त्रमा आधारित हुन्छ । आर्थिकरूपले स्वतन्त्र नभएको देश राजनीतिकरूपमा पनि स्वतन्त्र हुनसक्दैन । नेपालको महत्वपूर्ण निर्णय सिंहदरबारबाट नभई भारतबाट भइरहेको छ ।”
नेमकिपाले नेपालको कम्युनिस्ट आन्दोलनलाई दिशा निर्देश गरी ‘प्रकाशस्तम्भ’ को काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रमका सभापति एवं नेमकिपा जुम्लाका अध्यक्ष पूर्णलाल खत्रीले कार्यकर्ताहरूले पार्टी निर्देशन र अनुशासनलाई पालना गर्नुपर्ने आवश्यकता औँल्याउँदै पार्टी प्रकाशनहरू नियमितरूपमा अध्ययन गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश गुरूङले पुँजीवादी व्यवस्थामा निजीकरणलाई प्रोत्साहित गर्ने भएकोले नाफाको निम्ति जे पनि गर्न पछि नपर्ने बताउनुभयो ।
कामदार जनताको भविष्य समाजवादी व्यवस्थामा मात्र सुनिश्चित हुने चर्चा गर्दै उहाँले उत्पादनका मुख्यमुख्य साधन र स्रोत सामाजिकीकरण, शिक्षा–स्वास्थ्य निःशुल्क, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त र ज्येष्ठ नागरिकलाई आदर निकेतनको बन्दोबस्त हुने व्यवस्था नै समाजवादी व्यवस्था हो भन्नुभयो ।
कार्यक्रममा नेक्राशिसङ्घका दीर्घबहादुर शाही, नेक्रामहिला सङ्घका राज्यलक्ष्मी न्यौपाने र नेक्रायुसङ्घका भीम नेपालीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *