भर्खरै :

देशमा देखिएको खोटो विचारविरुद्ध नेमकिपा स्थापना

देशमा देखिएको खोटो विचारविरुद्ध नेमकिपा स्थापना

उदयपुर ११ माघ । नेमकिपा उदयपुर जिल्ला समितिको आयोजनामा मोतिगडामा पार्टीको ४९ औँ स्थापना दिवस मनाइयो ।
कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्ली काफ्लेले नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलनबारे बताउँदै कृषि समस्या समाधान गर्न कृषकलाई नयाँ बीउबिजन, मलखाद आपूर्ति गराउन सङ्घर्ष गर्दै आइरहेको चर्चा गर्नुभयो ।
जनताका हक अधिकार दिलाउन र सिद्धान्तमा अडिग रहेर नेमकिपाले देश र जनताको सेवा गर्न राजनीति गरिरहेको उल्लेख गर्दै उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएको खोटा विचारको खण्डन गर्न नेमकिपा स्थापना भएको हो भन्नुभयो । जनतालाई सुखको स्वर्ग वा जनताको प्रजातन्त्र समाजवाद ल्याउन नागरिकलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारको सुनिश्चितता दिने काम राज्यले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
स्वदेशमै काम मामको सुनिश्चित गर्न समाजवादी गणतन्त्र आवश्यक छ भन्दै उहाँले स्थानीय स्रोत साधन देशकै हितमा उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । देशमा मल कारखाना नबन्नुमा शासक दलहरू जिम्मेवार भएको उहाँले पुष्टी गर्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सदस्य श्याम विसुंकेले कामदार वर्गलाई माथि उठाउन राजनीतिक चेतना दिने काम कम्युनिस्ट पार्टीले गर्छ भन्नुभयो । उहाँले भन्नुभयो, “जनता सचेत र सङ्गठित नभएसम्म समाजवाद आउनेछैन । समाजवादमा मात्र जनताले वास्तविक अर्थमा मुक्ति पाउनेछन् ।
नेमकिपाका महेन्द्र बखुन्छेले देशमा मल कारखाना नखोल्नु स्वदेशी दलालको कमिसनखोर प्रवृत्ति हो भन्दै देशलाई आत्मनिर्भर बनाउन युवाहरूलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभयो ।
देशका उद्योग, कल कारखानाहरू पुनः सञ्चालन गरी रोजगार सिर्जना गर्न शासक दलले ध्यान नदिँदा समाजमा गरिबी, भोकमरी रआर्थिक विषमता व्याप्त भएको बताउनुभयो । भारतीय विस्तारवाद र भारतीय पुँजीकै कारण नेपालमा राजनीतिक अस्थिरता छाएको र ठाउँ – ठाउँमा सीमा अतिक्रमण भइरहेको हुनाले विस्तारवादी र साम्राज्यवादी चलखेलविरुद्ध सङ्घर्ष गर्न आवश्यक रहेको भनाइ उहाँले राख्नुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय सदस्य हरि सुवालले शिक्षा क्षेत्रमा देखिएको दोहोरो शिक्षा नीतिको अन्त्य हुनुपर्ने भनाइ राख्दै शिक्षामा भइरहेको व्यापारीकरण बन्द गर्नुपर्ने बताउनुभयो ।
नेमकिपा उदयपुरका सन्तोष तामाङको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामकुमार खत्री, हरि बुढाथोकी, विष्णुबहादुर क्षेत्रीलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *