भर्खरै :

सबै कम्युनिस्ट पार्टीहरू ‘अघोषित’ पुँजीवादी पार्टी होइनन्

सबै कम्युनिस्ट पार्टीहरू ‘अघोषित’ पुँजीवादी पार्टी होइनन्

देशमा कम्युनिस्ट पार्टीको नाउँमा खोलिएका धेरै दलहरू छन् । यहाँ पुँजीवादी व्यवस्थामा गई पुँजीवादी व्यवस्थालाई मलजल गर्ने र सत्तामा नगई आमूल परिवर्तनको निम्ति कानुनी र गैरकानुनी सङ्घर्ष गर्ने कम्युनिस्ट पार्टीहरू छन् । पालैपालो सरकारको नेतृत्व गर्ने र सत्तामा सामेल हुँदा विभिन्न निकायमा भागबन्डा गर्ने कम्युनिस्ट र सिद्धान्त र विचारको आधारमा सिद्धान्तनिष्ठ राजनीति गर्ने कम्युनिस्ट पार्टीहरू छन् । पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद मान्ने तर वर्गसङ्घर्षको बाटो या विचार छोड्ने र त्यही मार्गनिर्देशक सिद्धान्तको आधारमा वर्गसङ्घर्षविना समाजवादी क्रान्ति सम्भव छैन भनी जनतालाई सचेत र सङ्गठित गर्ने कम्युनिस्ट पार्टीहरू छन् । पद र पैसाको राजनीति गर्ने, पद पाउने भएपछि सिद्धान्त र विचार त्याग्ने अवसरवादी र संशोधनवादी कम्युनिस्ट पार्टी तथा बहुमत जनताको हितको निम्ति आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार गर्न इमानदारीपूर्वक राजनीति गरिरहेका कम्युनिस्ट पार्टीहरू छन् । त्यसकारण, सबै कम्युनिस्ट पार्टीलाई एउटै दृष्टिले हेर्नु उपयुक्त हुँदैन ।
हो, सत्तासीन कम्युनिस्ट पार्टीहरूले सरकारको नेतृत्व गर्ने या सरकारमा सामेल हुने नाउँमा कम्युनिस्टको सिद्धान्त र विचार छोडी कहिले कुन दल त कहिले कुन दलसँग मिलेका छन्, गठबन्धन गरेका छन् । उनीहरूको गतिविधि या कार्यशैलीको आधारमा राजनीतिक विश्लेषकहरूले ती दललाई ‘अघोषित’ पुँजीवादी दल, अवसरवादी र संशोधनवादीको संज्ञा दिएका छन् । कुनै कम्युनिस्ट दल सरकारमा सामेल भएर प्रायश्चित गरेका दलहरू पनि छन्, कुनै दल अहिलेसम्म सरकारमा सामेल नभएका, पद, पैसा र भागबन्डाको राजनीतिमा नलागेका दलहरू पनि छन् । नेमकिपा सरकारमा सामेल नभएको राजनीतिक दल हो, भागबन्डामा नलागेको, सिद्धान्त र विचारको राजनीति नछोडेको दल हो । सत्तालाई मिलीजुली भागबन्डा गरी पदमा पुगेर देशलाई भद्रगोल बनाउने दोष नेमकिपालाई दिए त्यो दृष्टिदोषमात्र हुनेछ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी दलको कमजोरी या दोष नेमकिपामाथि लगाउनु उचित हुँदैन । यस अर्थमा नेमकिपा पुँजीवादी दल होइन, अवसरवादी र संशोधनवादी दल होइन । तर, कति राजनीतिक विश्लेषकहरू देशका कम्युनिस्ट पार्टीहरू अघोषित पुँजीवादी दल हुन्, सिद्धान्तविहीन राजनीति गर्ने दल हुन् भनी विश्लेषण गर्छन् । जुन जुन दलले जेजस्तो राजनीति गरिरहेको छ, त्यसको आधारमा मूल्याङ्कन गर्नुपर्छ, सबैलाई एउटै दृष्टिले हेर्नु मनासिब हुँदैन ।
राजनीति कमाउने पेसा होइन, देश र जनताको सेवा गर्ने बाटो हो । राजनीति देश र जनतासित सम्बन्धित हुन्छ । राजनीति सिद्धान्त र विचारको आधारमा चल्नुपर्छ, भागबन्डा, पद र पैसाको आधारमा होइन । राजनीति देश विकासको निम्ति हो, दलका नेता र कार्यकर्ताले अकुत सम्पत्ति कमाउन होइन । राजनीति दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्न होइन देशको मुहार फेरेर बहुमत जनताको हित गर्न हो । सरकारमा जान र भागबन्डाको निम्ति जोसँग पनि साठगाँठ गर्ने या घाँटी जोड्ने काम सद्दे राजनीति होइन । अतः राजनीतिलाई पद, पैसा र भागबन्डा होइन देश विकासको निम्ति गर्नुपर्छ, देशलाई सही दिशा निर्देश गर्न गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *