भर्खरै :

श्रीपञ्चमी, वसन्त पञ्चमी, सरस्वती पूजा र अक्षरारम्भ

श्रीपञ्चमी, वसन्त पञ्चमी, सरस्वती पूजा र अक्षरारम्भ

हजुरलाई थाहा छ, नवरात्रि कतिवटा छन् ? मलाई थाहा छ, हजुरको उत्तर– एकातिर होइन रहेछ । नवरात्रि चार वटा हुँदा रहेछन् । विभिन्न सन्दर्भ सामग्री अध्ययनको क्रमबाट जानकारी भयो । चैत्र नवरात्रि र शारदीय नवरात्रिका बारेमा धेरैलाई जानकारी छ । किनकि चैत्रदसैं र शारदीय दसैँ ( असोज महिनाको) हामी सनातनीहरूले मनाउँदै आएका छौँ । अन्य दुुई नवरात्रि पनि छन् । ती हुन् – असार शुक्ल प्रतिपदादेखि नवमीसम्म, माघ शुक्ल प्रतिपदादेखि नवमीसम्म । चारै नवरात्रिहरू शुक्लप्रतिपदादेखि नवमीसम्म नै हुन्छन् । रात्रि जोडिएको बाटै थाहा लाग्छ कि यो रात्रिको समयमा पूजा अर्चना गरिने पर्व हो । त्यसैले यो पूजा गुप्त प्रकारको हुन्छ । यसलाई गुप्त नवरात्रि पनि भनिन्छ । यी नवरात्रहरूमा प्रतिपदा तिथिमा घटस्थापना गर्नेदेखि नवमीसम्म हरेक दिन शक्ति स्वरुपिणी देवीहरूको उपासना गरिन्छन् । गुप्त पूजाहरू प्रायः तन्त्रप्रधान हुन्छन् । यसै सिलसिलामा माघ महिनाको नवरात्रिअन्तर्गत पाँचौँ दिन विद्या प्राप्ति, वाक्कला निपुणता र प्रसिध्दि हेतु देवी सरस्वतीको पूजा अर्चना गरिन्छन् । श्री एकाक्षरी शब्द हो जसले लक्ष्मीको पर्याय तथा विविध शक्तिको पर्यायको रूप पनि जनाउँछ । त्यसैले उनै विद्याकी अधिस्थात्री देवीको दिवस माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमी भनी सरस्वती दिवसको रूपमा मनाइँदै आइरहेका छौँ । हामी फ्कार परिवारका अनुयायीहरूबाट ।
सरस्वती माता दृष्टा वीणापुस्तकधारिणी ।
हंसवाहनसंयुक्ता विद्यादानं करोतु मे ।।१।।
प्रथमं भारती नाम द्वितीय च सरस्वती ।
तृतीयं शारदादेवी चतुर्थं हंसवाहिनी ।।२।।
पञ्चमं तु जगन्माता षष्ठं वागीश्वरी तथा ।
सप्तमं चैव कौमारी अष्टमं वरदायिनी  ।।३।।
नवमं बुध्दिदात्री च दशमं ब्रह्मचारिणी ।
एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी।।४।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसति तस्य ब्रह्मरूपा सरस्वती।।५।।
सरस्वतीको लक्षणको कुरा गर्नु पर्दा, श्वेत वस्त्र धारण गरेकी,गोरो वर्णकी, सदा मुस्कुराइरहने, सर्वाेत्तम रत्नद्वारा निर्मित आभूषणले सुशोभित भएकी, एक हातमा वीणा, एक हातमा पुस्तक, एक हातमा स्फटिक माला लिएकी र एक हात अभय मुद्रामा रहेकी चारहात भएकी राजहाँसमा सवार भएकी देवी सरस्वतीलाई नमन गर्दै असल विद्या र मधुर वाणी र प्रसिध्दि प्राप्तिको लागि उपासना गरिन्छ र तल्लीन भएर मेहनत गरिन्छ ।
यसै दिनलाई स्थानीय बौद्ध धर्मावलम्बीहरूले महामञ्जुश्रीको रूपमा पूजाअर्चना गर्छन् । भक्तपुर सुडालस्थित थाकलमाथमा अवस्थित ‘ल्हासपा ससुद्य’ लाई मानिसहरू मञ्जुश्रीको रूपमा मान्छन् । ल्हासादेखि हिँडेर आएकी सरस्वती भएकीले थाके होलान् भनेर भक्तपुर (ख्वप) तिर स्थानीय सरस्वतीको मन्दिरहरूमा र घर–घरमा सरस्वतीका ढुङ्गेमूर्ति हुनेकामा साँझ तेल लगाइदिने प्रचलन अद्यापि छ । शिक्षक, विद्यार्थी, कालिगढ, कलाकार आदिले पुस्तक, कलम, वाद्ययन्त्रहरू र ज्यावल र औजारहरूमा पूजा गर्छन् । पूजामा विशेषगरी चढाइएका अक्षताबाट पाँच दाना अक्षता प्रसादको रूपमा हातमा लिई दाँतमा नछुने गरी मुखमा राखी निलिन्छ । अक्षता त क्षति नभएको चामल । नक्षत अक्षत । सिकाइ पनि अक्षता जस्तै होस् भनी क्षति नभएको वरप्रसाद अक्षता कुपुक्क निल्ने । सिकाइ पूर्णताको अभिष्ट बोकेको श्रीपञ्चमी पर्वको महिमा यस्तै छ ।

वसन्त पञ्चमी
श्रीपञ्चमीको दिन वसन्त श्रवण गर्ने चलन छ । शिशिर ऋतुमा पर्ने यो पर्वमा वसन्त ऋतुको आगमनलाई स्वागत गर्न वसन्त राग गाइन्छ र श्रवण गरिन्छ । अब चिसो मौसम सकिन लाग्यो वसन्तको आगमन हुु लाग्यो भनेर राग वसन्त र ध्रुपद रागमा आधारित विभिन्न दाफा सङ्गीत,भजन र गीतहरू पनि गाइन थाल्छ श्रीपञ्चमीकै दिनदेखि । हनुमानढोका दरबार काठमाडौँमा बर्सेनि सो दिन राजाको सवारी भई वसन्त श्रवण गर्ने चलन थियो । त्यसैले पनि वसन्त पञ्चमी पनि भनिएको हो ।
अक्षरारम्भ
म ६ वर्षको थिएँ आमाले सिलेट र खरीढुङ्गाको टुक्रा ल्याइदिनुभयो । हात समाउँदै लेखाउन थाल्नुभो । फ् नमः शिवाय । नमो वागीश्वराय । स्वर वर्ण र व्यञ्जन वर्ण लेख्नका निम्ति त्यो आधार अक्षर बराबर भए मेरा लागि । तर मैले सम्झेसम्म लेख्न सिकेको पहिलो अक्षर त ‘ज’ थियो । घरको चोटामा दलिन जोडेरै काठको सिलेट ( नेवारभाषामा ग्वरः)मा ‘जय शारदा’ लेखिराखेको हुन्थ्यो । त्यही ‘जय शारदा’को ‘ज’ पहिलो अक्षर बन्न पुग्यो त्यो ६ वर्षे ठिटोले लेखेको जीवनमा लेख्न सिकेको । अनि त ‘ज’बाट अ र आ । अनि बिस्तारै अरु अक्षरहरू लेख्न थालेँ खुसी हुँदै । पिताजी रामशक्ति राज र उहाँका समकक्षी साथीहरू मिलेर विद्यार्थी निकेतन स्कुल स्थापना गर्नुभएको थियो । पिताजी विद्यार्थी निकेतन स्कूलको संस्थापक शिक्षकहरूमध्ये एक हुनुहुन्थ्यो । तात्कालीन अवस्थामा स्कूल खोल्नु अपराध थियो । भारतमा अङ्ग्रेजविरुद्ध भारत छोड आन्दोलन चर्किरहेको थियो । सुवासचन्द्र बोसको जय हिन्द, जय हिन्द लयात्मक नारा जस्तै पिताजीका साथीहरू भेट हुँदा ‘जय शारदा’ भनेर अभिवादन गर्नुहुन्थ्यो रे पिताजीले भन्नुभएको । त्यस उसले मेरा अक्षरारम्भका गुरु जननी नै हुन् र वेदविद्या गुरु पिताजी नै हुनुभयो । वागदेवीलाई आत्मसात गरेकै कारण ध्वनि तरङ्गको आकाशमा आफ्नो आवाजलाई बुलन्द गर्न पाएँ। हे वागीश्वरी कोटीकोटी नमन ।
आयुर्वेदमा कुनै ओखतीलाई रसायन बनाउने क्रममा गरिने विधिलाई संस्कार भनिएको छ । जसरी प्राकृतिक खानीबाट फलाम, चाँदी, सुन आदि कच्चा धातुलाई अग्नि र अन्य उपकरण वा साधनका मद्दतले शुद्ध र गुणस्तरीय बनाइन्छ त्यसैगरी आमाको गर्भबाट पशुवत् जन्मिएको मानव–शिशुलाई शिक्षादीक्षा, सत्सङ्ग, सद्भाव, वातावरण, परिवेश र सुझबुझ आदि कुराले सुसभ्य र सुसंस्कृत मानिस बनाइन्छ । त्यस्ता संस्कारहरू सोह्रवटा रहेका छन् । तीमध्ये अक्षरारम्भ संस्कार पनि पर्दछ । सन्तान जन्माएर मात्र बाबुआमाको र अभिभावकको कर्तव्य पूरा हुँदैन । खाना, नाना र छानाको साथमा शिक्षादीक्षा दिने प्रबन्ध पनि मिलाउन सक्नुपर्दछ । त्यसैले चाणक्य नीतिमा भनिएको छ–
“माता शत्रु पिता वैरी येन वालो न पाठित ।
न शोभते सभामध्ये हंसमध्ये बको यथा ।।
जुन आमाबाबुले छोराछोरीलाई पढाएनन् ती आामाबाबु शत्रु हुन् । हाँसका बथानमा बकुल्लो नसुहाएझैँ अनपढ छोराछोरी विद्वानको सभामा सुहाउँदैनन् । त्यसैले शिक्षादीक्षा दिलाउनु आमाबाबुको कर्तव्य हो । अक्षरारम्भका प्रसङ्गमा एउटा रोचक कुरा के छ भने, “बालबालिकाको दाहिने हात टाउका माथिबाट घुमाएर आफ्नो देब्रे कान छुन सक्ने भएपछि अक्षरारम्भ गर्ने उचित समय हुन्छ । यो क्षमता पाँच वर्षको उमेरमा हुन्छ । अझ छोरी बच्चाको चार वर्षमै त्यो क्षमता हुनसक्छ ।
लालयेत पञ्च वर्षाणि, ताडयेत् दस वर्षाणि ।
प्राप्ते तु षोडशे वर्षे पुत्रं मित्र वदाचरेत ।।
सन्तान पाँच वर्षको आयुसम्म बडो प्यारो गरी अनि दस वर्षसम्म हप्कीदप्कीसहित हुर्काउनुपर्छ भने जब सो¥ह वर्षको हुन्छ बाबुआमाले सन्तानलाई मित्रवत् व्यवहार गर्नुपर्दछ ।
यसबाट पनि थाहा हुन्छ कि पाँच वर्ष नाघेपछि शिक्षारम्भ गराउनु पर्दछ भनेर । अक्षरारम्भ गर्ने सम्पूर्ण मुनाहरूमा सरस्वती दिवसको हार्दिक मङ्गलमय शुभकामना छ । विश्राम गर्दै–
विद्यया लुप्यते पापं विद्ययाक्क्युः प्रवर्धते ।
विद्यया र्वसिद्धिःस्याद्विद्ययाक्मृतमश्नुते ।।
अर्थात् विद्या अध्ययन गर्नाले पाप नाश हुन्छ, विद्याले आयु बढ्छ । विद्याद्वारा सबै सिध्दि प्राप्त गर्न सकिन्छ र विद्याद्वारा अमृत चाख्न पाइन्छ । अस्तु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *