भर्खरै :

भाषा र संस्कृति नसिक्दा विदेशमा नेपाली युवा सस्तो ज्यामी मात्र

भक्तपुर, १ असोज ।
भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने विभिन्न सीपमूलक तालिमको आइतबार एक समारोहबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें(रोहित)ले उद्घाटन गर्नुभयो । तालिमका प्रशिक्षकहरुलाई सम्बन्धित सामग्री हस्तान्तरण गरी उहाँले तालिमको उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै सांसद बिजुक्छेंले वैदेशिक रोजगारीमा गएका नेपाली युवाहरुलाई उनीहरु गएका देशको भाषा र संस्कृतिबारे जानकारी दिन नसक्दा सस्तो शारीरिक श्रमिक मात्र बन्नु परेको बताउनुभयो ।
भाषा र संस्कृतिको ज्ञान पनि दिन सरकारले ध्यान दिए विदेशको संस्कृति र प्रविधिबाट नेपालसमेत लाभान्वित हुन सक्ने उहाँको भनाई थियो ।
अध्यक्ष बिजुक्छेंले विभिन्न देशमा गएर शारीरिक श्रमिक मात्र बन्ने नभई त्यहाँको साहित्यको नेपाली भाषामा पनि अनुवाद गर्न सके नेपाली समाजले लाभ उठाउन सक्ने धारणा राख्नुभयो ।
शैक्षिक योग्यताका साथै कोही पनि व्यक्तिसँग हातमा सीप पनि भए समाजमा धेरै योगदान पु¥याउन सक्ने उहाँको भनाई थियो ।
नेपाली समाजमा हातमा सीप भएको दक्ष जनशक्तिको अभाव भएको चर्चा गर्दै सांसद बिजुक्छेंले कुनै पनि काममा सीप भएका सिपालु व्यक्तिको सीपलाई शैक्षिक योग्यतासँग जोड्नुपर्ने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले राजनीतिक नेतृत्व सही नभएसम्म समाज अघि बढ्न नसक्ने विचार व्यक्त गर्दै कुनै अन्तर्राष्ट्रिय गैससले दिने तालिमभन्दा स्थानीय तहको निर्वाचन फरक हुनुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर नगरका कोही पनि युवा सीप नभएकाले पछि नपरोस् भनी नगरपालिकाले सीपमुलक तालिमको क्रम शुरु गरेको भन्दै प्रमुख प्रजापतिले आफूसँग भएका सीप र क्षमता देश र समाजको हितमा प्रयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा वडाध्यक्षहरु उकेश कवां, राजकृष्ण गोरा, महिला वडा सदस्यहरु रोशनमैंया सुवाल, सरिना द्योला, प्रशिक्षकहरुको तर्फबाट धर्मलक्ष्मी लघुलगायतले नगरपालिकाले दिने तालिमको विषयमा बोल्नुभएको थियो । भक्तपुर नगरपालिकाले चिनियाँ भाषा, आधारभूत सिलाई, उन्नत सिलाई, बुटिक आदिको तालिम शुरु गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *