भर्खरै :

नेक्राकिसङ्घको पाँचौँ काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न

नेक्राकिसङ्घको पाँचौँ काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ, १५ माघ । नेपाल क्रान्तिकारी किसान सङ्घको पाँचौँ काठमाडौँ जिल्ला सम्मेलन कीर्तिपुरमा शनिबार सम्पन्न भयो । नेमकिपाका केन्द्रीय वैकल्पिक सदस्य राजेन्द्र चवालले सम्मेलनको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अतिथि चवालले किसान सङ्घ किसानहरूको हक अधिकार प्राप्ति आन्दोलनमा सशक्त ढङ्गले अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले सबै कार्यकर्ताहरूमा पार्टीको इतिहासबारे ज्ञान हुनुपर्ने र जनतालाई सचेत पार्नुपर्ने बताउनुभयो ।
कार्यकर्ताहरू इमानदारीपूर्वक देश र जनताको सेवामा निरन्तर लाग्नुपर्ने बताउँदै नेपालको रणनीतिमा नेमकिपा प्रकाशस्तम्भको रूपमा रहेको उहाँले चर्चा गर्नुभयो ।
नेक्राकिसङ्घका केन्द्रीय सचिव हरिराम सुवालले किसान सङ्घको माघ २८ र २९ गते बारामा हुने तेस्रो राष्ट्रिय सफल पार्न काठमाडौँका किसान साथीहरूलाई सहभागी हुन आग्रह गर्नुभयो ।
नेक्राकिसङ्घ काठमाडौँ जिल्लाका अध्यक्ष वीरबहादुर डंगोलको सभापतित्वमा भएको कार्यक्रममा इन्जिनियरिङ समाजका ई. नरेश खत्री, नेमकिपा कीर्तिपुरका हरिकुमार महर्जन, कासिलाल डंगोललगायतले बोल्नुभएको थियो ।
सोही दिन बसेको बन्द सत्रमा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले सम्मेलन विगतको समीक्षा गर्दै सङ्घका कार्यसमिति र साधारण सदस्य सबै मिलेर देश र जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
बन्द सत्रमा वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवाल र नरेश खत्रीले बधाई तथा धन्यवाद शुभकामना दिनुभएको थियो ।
सम्मेलनबाट हरिशरण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौँ जिल्ला समिति सर्वसम्मतिले निर्वाचित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *