भर्खरै :

सेवा गर्ने कर्मचारीको सम्मान हुने

सेवा गर्ने कर्मचारीको सम्मान हुने

भक्तपुर, १५ माघ । वागीश्वरी माध्यमिक विद्यालयमा कार्यरत कार्यालय सहयोगी हरिप्रसाद दाहाललाई एक विशेष समारोहका बिच आइतबार बिदाइ गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र ज्याख्वले अनिवार्य अवकाश हुनुभएका दाहाललाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै दीर्घ सेवाको कदर गर्दै ताम्रपत्र प्रदान गर्नुभएको थियो ।
निरन्तर पच्चीस वर्षभन्दा बढी सेवा गर्नुभएका कार्यालय सहयोगी दाहालको सेवाको प्रशंसा गर्दै अध्यक्ष ज्याख्वले कार्यरत जो कोही शिक्षक कर्मचारीले सेवालाई प्राथमिकता दिई सेवा गरे सम्मान पाइने चर्चा गर्नुभयो । शैक्षिक संस्थामार्फत देश र जनताको सेवामा लाग्दा आत्मसन्तुष्टि मिल्ने चर्चा गर्दै उहाँले भावि पुस्तालाई सही बाटो देखाउने र गलत प्रवृत्तिबाट जोगाउने काम शैक्षिक संस्थाबाटै हुन्छ भन्नुभयो ।
कार्यक्रममा विद्यालयको कक्षा ११–१२ का संयोजक ज्ञानसागर प्रजापतिले एक शैक्षिक संस्था सफल हुन प्रअ र शिक्षकहरूमात्र राम्रो भएर पुग्दैन, त्यहाँ कार्यरत ननटिचिङ स्टाफहरूको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेमा जोड दिनुभयो ।
विद्यालयका प्रअ कृष्णप्रसाद धन्छाको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहाँले कार्यालय सहयोगी दाहालले स्कूललाई पहिलो घरमा समर्पित भएर सेवा गर्नु सबैको लागि अनुकरणीय छ भन्नुभयो ।
कार्यक्रममा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठ र प्रशासन प्रमुख तुल्सीराम प्रजापतिले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *