भर्खरै :

व्यवस्था परिवर्तन जनताको हितमा हुनुपर्ने

व्यवस्था परिवर्तन जनताको हितमा हुनुपर्ने

ललितपुर, १६ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ पार्टी स्थापना दिवसको अवसरमा नेमकिपा गोदावरी नगर समितिको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले कामदार जनतालाई राजनैतिकरूपले सचेत गर्न नसकेसम्म पुँजीवादी व्यवस्थालाई परास्त गर्न नसक्ने बताउनुभयो । उहाँले व्यवस्था परिवर्तन जनताको हितमा हुनुपर्ने बताउनुभयो । जनता सचेत नभएसम्म देशको सीमा अतिक्रमण, राष्ट्रिय सम्पत्ति र कलकारखानाहरू निजीकरण गर्ने र राष्ट्रघाती सन्धि गरी देश बेच्ने नेताहरूको चलखेल भइरहने उहाँले बताउनुभयो ।
उहाँले कम्युनिस्ट नाम राखेर जनतालाई धोका दिने भाइकाङ्ग्रेसको रूपमा काम गरेका पार्टीहरूलाई जनताको बिचमा नङ्गयाउनुपर्ने बताउँदै नेमकिपाको स्वार्थ भनेको कामदार जनताको सेवा गर्नुबाहेक अरू नभएको प्रस्ट पार्नुभयो ।
नेपाल कर्मचारी समाजका जीपी लासिवाले भारतीय एकाधिकार पुँजी र भारतीय विस्तारवाद, अमेरिकी साम्राज्यवाद र संशोधनवादको विरोधमा नेमकिपा सधैँ अग्रपङ्क्तिमा रहेको बताउनुभयो । देशलाई युद्ध भूमिमा परिणत गर्ने एमसीसी सम्झौता, राष्ट्रघाती सन्धिहरू, देशलाई सिक्किमीकरण गर्न नागरिकता विधेयकलगायतका देश र जनताको हितविपरीतको सम्पूर्ण कार्यहरूको नेमकिपाले सडक र सदनमा निरन्तर सङ्घर्ष गर्दै आएको लासिवाले बताउनुभयो ।
नेमकिपा ललितपुर जिल्ला समिति सदस्य कवीन्द्र डङ्गोलले मजदुर र किसानहरूको हितको निम्ति नेमकिपा समाजवादी व्यवस्थाको लागि सङ्घर्षरत रहेको पनि बताउनुभयो ।
नेमकिपा गोदावरी नगरपालिकाका विष्णुभक्त महर्जनको सभापतित्वमा सम्पन्न प्रवचन कार्यक्रममा सूर्यलक्ष्मी देसारले पनि बोल्नुभएको थियो ।
महालक्ष्मीमा प्रवचन कार्यक्रम
त्यस्तै नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समितिको आयोजनामा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सभासद् सृजना सैंजूले सिद्धान्त, नैतिकता र अनुशासन नभएको, मजदुर र किसानको हितमा काम नगर्ने पार्टी कम्युनिस्ट पार्टी नहुने बताउनुभयो ।
उहाँले नेमकिपाको स्थापना संशोधनवाद, साम्राज्यवाद र विस्तारवादको विरोधमा कामदार जनताको सेवा गर्न भएको बताउँदै कम्युनिस्ट नामको ट्रेडमार्क राखेर जनतालाई धोका दिने पुँजीवादी पार्टीहरूलाई जनताबिच नङ्गयाउनुपर्ने बताउनुभयो ।
उहाँले भारतीय एकाधिकार पुँजी तथा अमेरिकी साम्राज्यवादको नेपालप्रतिको गिद्धेदृष्टि राखी एमसीसीलगायतका देशघाती सम्झौताहरू गराई सम्पूर्ण नेपाली जनतालाई दुःख दिइरहेको बारे सचेत भई विरोध गर्नुपर्ने बताउनुभयो । उहाँले कामदार जनताको हितको लागि समाजवादी व्यवस्था ल्याउनुपर्ने भएकाले पुँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । नेमकिपाले जनताको बिचमा गएर राजनैतिकरूपले सचेत गराउने कार्य गरिरहेको उहाँले बताउनुभयो ।
नेपाल कर्मचारी समाजका जी.पी. लासिवाले पार्टीको सम्पूर्ण गतिविधि, सिद्धान्त र विचारबारे जानकारी लिन पार्टी प्रकाशनहरू अध्ययन गर्नुपर्ने र जनतालाई बुझाएर राजनैतिकरूपले सचेत गर्न सके समाजवादी व्यवस्थाको आन्दोलनलाई टेवा पुग्ने बताउनुभयो ।
उहाँले नेमकिपा संसारको सबै मजदुर किसानहरूको कम्युनिस्ट आन्दोलनमा एक्यबद्धता जनाउने सर्वहारा अन्तराष्ट्रवादी पार्टी हुनुका साथै जनताको सेवा गर्नेबाहेक अन्य केही पनि स्वार्थ नभएको पार्टी हो भन्नुभयो ।
नेमकिपा ललितपुर जिल्ला समितिका उपाध्यक्ष अशोक महर्जनले कामदार जनताको हितको लागि निर्वाचनलाई उपयोग गरी समाजवादउन्मुख कार्य गर्दै आएको पार्टी नेमकिपा हो भन्नुभयो । उहाँले समाजवादी व्यवस्थामा जस्तै शिक्षा, स्वास्थ्य सर्वसाधारण जनताको पहुँचमा पुग्ने गरी अति न्यून शुल्कमा सेवा गर्दै निजीकरण र भारतीय विस्तारवादको विरोधमा जनतालाई सचेत गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवम् नेमकिपा महालक्ष्मी नगर समितिका अध्यक्ष महन्त महर्जनले नेमकिपा सम्पूर्ण कामदार जनताको हितमा सडक र सदनमा सङ्घर्ष गर्दै आएको पार्टी हो भन्नुभयो । उहाँले कला, संस्कृति, सम्पदा संरक्षण र कृषि उत्पादनको लागि मल कारखाना खोल्नेबारे पार्टीले सधैँ आवाज उठाउँदै आएको र कोभिड महामारीको समयमा जनताको घरदैलोमा पुगेर सेवा गरेको बारे बताउनुभयो ।
कार्यक्रममा सचिव अनमोलले पार्टी प्रकाशनको अध्ययनमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *