भर्खरै :

नेमकिपाको स्थापना दिवसमा डोरी तान्ने प्रतियोगिता

नेमकिपाको स्थापना दिवसमा डोरी तान्ने प्रतियोगिता

भक्तपुर, २१ माघ । नेपाल मजदुर किसान पार्टीको ४९ औँ स्थापना दिवसको अवसरमा शनिबार डोरी तान्ने प्रतियोगिता सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा वडा नं. ५ एकाइ समितिको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भनपा वडा नं. ५ का वडा अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले गर्नुभएको थियो ।
१४ वटा पुरूष र १३ वटा महिला समूहले भाग लिएको उक्त प्रतियोगितामा पुरूषतर्फ चण्डेश्वरी धिमा पुच (क), वाकुपतिनारायण मिलिजुली समूह र चण्डेश्वरी धिमा पुच (ख) क्रमशः पहिलो, दोस्रो र तेस्रो भए भने महिलातर्फ चण्डेश्वरी बुहारी समूह, चण्डेश्वरी मचा खल र नेपाल क्रान्तिकारी महिला सङ्घ ५ वडा एकाइ समिति क्रमशः पहिलो, दोस्रो र तेस्रो भए ।
प्रतियोगितामा विजयीहरूलाई पुरस्कार प्रदान गर्दै वडा अध्यक्ष बिजुक्छेँले नेमकिपाले स्थापनाकालदेखि इमानदारीपूर्वक देश र जनताको सेवा गर्दै पुँजीवादी व्यवस्थाको विरोधमा र समाजवादी व्यवस्थाको पक्षमा काम गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कामदार जनताको भविष्य समाजवादी व्यवस्थामामात्र सुनिश्चित हुन्छ । समाजवादी व्यवस्थामा कामदार वर्गका प्रतिनिधिहरूले शासन चलाउँछन् ।”
भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षणमा विशेष जोड दिँदै भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यले कलेजहरू सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
कार्यकर्ताहरूले नियमितरूपमा अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै वडा अध्यक्ष बिजुक्छेँले पार्टी प्रकाशनहरूलगायत ‘मजदुर’ दैनिक र ‘श्रमिक’ साप्ताहिक अध्ययन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेक्रायुसङ्घ भक्तपुर नगर समितिका अध्यक्ष जगतराम धुख्वाले खेल हारजितभन्दा स्वस्थ र मित्रताको लागि आवश्यक भएको बताउनुभयो ।
भारतीय विस्तारवादले ७१ भन्दा बढी ठाउँमा ६० हजार हेक्टरभन्दा नेपाली भूमि अतिक्रमण गरेको चर्चा गर्दै उहाँले नेपाल विकास नहुनुमा भारतीय विस्तारवाद प्रमुखरूपमा दोषी रहेको उल्लेख गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष चन्द्रकृष्ण ग्वाछाको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्णप्रसाद छुस्याकी, विष्णुप्रसाद कर्माचार्य र लक्ष्मीनारायण त्वानाबासुले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *