भर्खरै :

नगर प्रमुख प्रजापतिद्वारा प्रजिअ रिजाललाई स्वागत

नगर प्रमुख प्रजापतिद्वारा प्रजिअ रिजाललाई स्वागत

भक्तपुर, २२ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सुर्खेत जिल्लाबाट भक्तपुरमा सरुवा भई आउनुभएका भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई आज एक कार्यक्रमबिच पुष्पगुच्छा, भादगाउँले टोपी र खादा ओढाइ स्वागत गर्नुभयो ।
प्रजिअ रिजालको स्वागतमा आयोजित परिचयात्मक कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको शान्ति सुरक्षा, जात्रा व्यवस्थापन, सांस्कृतिक सम्पदा सुरक्षालगायतका विषयमा जिल्ल्ला प्रशासन कार्यालय र नगरपालिकाबिच सहकार्य हुने विश्वास व्यक्त गर्नुभयो ।
तीन तहको सरकारबिच सहकार्य र समन्वयको सिद्धान्तअनुसार अगाडि बढ्ने संवैधानिक व्यवस्था स्मरण गर्दै उहाँले भक्तपुरको दूधपाटीस्थित भाज्या पुखु परिसरको बाटो खोल्ने विषयमा गृहमन्त्रालयअन्तर्गतको जुद्ध बारुण यन्त्र परिसरको बाटो खोल्ने विषयमा सहकार्य र समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।
ऐतिहासिक, सांस्कृतिक र राजनीतिकरूपले भक्तपुर महत्वपूर्ण थलो भएको बताउँदै उहाँले अरू नगरपालिकाभन्दा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरसफाइमा विशिष्ट रहेको उल्लेख गर्नुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुरको ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गतिविधि अगाडि बढाउन जिप्रकाबाट साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।
प्रजिअ रिजालले भक्तपुर नपासँग अरू स्थानीय तहले सिक्न लायक धेरै कामहरू भएको बताउँदै अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन भक्तपुरको धेरै ठूलो भूमिका भएको बताउनुभयो ।
स्थानीय सरकार जनताको नजिकको सरकार भएको बताउँदै उहाँले भक्तपुरमा शान्ति सुरक्षा कायम गर्न जनप्रतिनिधि र स्थानीय जनतासँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको उक्त परिचयात्मक कार्यक्रममा भक्तपुर नगरपालिकाका जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुखहरूको उपस्थिति थियो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले प्रजिअ रिजाललाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र नगरपालिकाका महत्वपूर्ण प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *