भर्खरै :

बाग्मती प्रदेशसभामा नेमकिपालाई विपक्षी दल घोषणा गर्न माग

बाग्मती प्रदेशसभामा नेमकिपालाई विपक्षी दल घोषणा गर्न माग

हेटौँडा, २२ माघ । बाग्मती प्रदेशसभामा रहेका दलहरूको बैठक आइतबार हेटौँडास्थित प्रदेशसभा सचिवालयमा बस्यो ।
सो सर्वदलीय बैठकमा नेपाल मजदुर किसान पार्टीको संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले माघ ९ गते प्रमुख प्रतिपक्ष दाबी गर्दै विपक्षी नेता घोषणा गर्न मागसहितको पत्र दर्ता गरेको बताउनुभयो । उहाँले संसदीय व्यवस्थाको मर्म तथा सिद्धान्त, नेपालको संविधान र त्यसबमोजिम निर्माण गरिएको प्रदेशसभाको ऐनको आधारमा नेमकिपाले दाबी गरेको प्रस्ट पार्नुभयो ।
प्रदेशसभाका सभामुखको नाउँमा नेमकिपाले लेखेको पत्रमा बाग्मती प्रदेशसभाका अन्य दलहरू मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलहरू भएकाले तीबाहेक नेमकिपालाई प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड झ (१) बमोजिम विपक्षी दल घोषणा गर्न माग गरिएको छ ।
सभामुख भुवनकुमार पाठकले कानुनी परामर्श प्रारम्भ गरिसकेको बैठकमा जानकारी गराउनुभयो । उहाँले विचार, सिद्धान्त, परम्परा आदि सबै विषयमा ध्यान पु¥याई निर्णयमा पुग्ने जानकारी गराउनुभयो ।
सर्वदलीय बैठकपश्चात् सदनको बैठक बस्यो । बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन ग¥यो । समितिमा नेमकिपाका सांसद सुरेन्द्रराज गोसाई सदस्य चयन हुनुभयो ।
बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य गीता काफ्लेले ८–१० वर्ष बितिसक्दा पनि भक्तपुर –नगरकोट सडक पुनःनिर्माण सम्पन्न नहुँदा ठूलो नोक्सानी भएको बताउनुभयो ।
उहाँले स्थानीय बासिन्दा, यात्रु तथा पर्यटकहरूलाई ठूलो मार परेको बताउँदै अत्याचार–भ्रष्टाचार तुरुन्तै अन्त्य गर्न प्रदेश सरकारले आवश्यक पहल शीघ्र गर्न माग गर्नुभयो ।
प्रदेश सरकारको आँखा अगाडि विश्व पर्यटकीय स्थल नओइलाओस्, उहाँले भन्नुभयो ।
प्रदेशसभाको अर्काे बैठक सोमबार अपराह्न १२ बजे बस्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *