संरा अमेरिकी चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीको पराजय
- कार्तिक २०, २०८३
एमसीसी सम्झौता पारित गराउन र पारित भएपछि अमेरिकी मन्त्रीहरू एकपछि अर्काे नेपालमा प्रवेश गरी देशका शासक नेताहरूसँग भेटघाट गर्दै छन् । अमेरिकी मन्त्री नेपाल पसेर एमसीसी सम्झौता लागु गर्न छोडेको खबर सेलाउन नपाउँदै फेरि अमेरिकी आयोगका व्यक्ति नेपाल आएका छन् । संसारलाई आतङ्कित पार्ने, शान्ति र प्रजातन्त्रमा असर पु¥याउने साम्राज्यवादी देश अमेरिकाले अहिले पनि आफ्नो अहङ्कार छोडेको छैन । अमेरिकी एकाधिकारवादी पुँजीवादी वर्गको प्रतिक्रियावादी व्यवस्था नमिल्काएसम्म र उपनिवेशवादी तथा साम्राज्यवादी व्यवस्था अन्त्य नभएसम्म संसारका स्वाधीन मुलुकका जनताले शान्ति, प्रजातन्त्र र सुरक्षाको अनुभूति गर्न पाउने छैनन् ।
अहिले साम्राज्यवादी नीतिविरुद्ध संसारका स्वाधीन, सार्वभौम देश र देशभक्त जनताले मात्र होइन अमेरिकाका अश्वेत वर्णका नागरिकहरू पनि देशमा पूर्ण स्वतन्त्रता, समानता र मुक्तिको निम्ति सङ्घर्षरत छन् । अमेरिकाका काला जनता र गरिखाने वर्गका गोराहरूको सङ्घर्षको उद्देश्य एउटै हो, स्वार्थ एउटै हो । अफ्रो अमेरिकी सङ्घर्षले गर्दा अेमरिकी गोरा मजदुर र प्रगतिशील पक्षका जनताको विश्वास जितेको छ । अमेरिकी कालाहरू अमेरिकाका मजदुरहरूको आन्दोलनसँग एकगठ गरेर अमेरिकाको एकाधिकारवादी पुँजीपति वर्गको शासन अन्त्य गर्न सङ्घर्ष गर्दै छन् । अमेरिकी शासकले काला नेता मार्टिन लुथर किङको हत्या गरेपछि अफ्रो अमेरिकी कालाहरूको सङ्घर्षको समर्थन गर्दै सर्वहारा वर्गका गुरु माओ त्सेतुङले सन् १९६८ मा भनेका थिए, “कालाहरूलाई दास बनाएर, कालाहरूलाई किनबेच गरेर फसाएको उपनिवेशवादी र साम्राज्यवादी तुच्छ व्यवस्था कालाहरूको पूर्ण अधिकार र स्वतन्त्रता प्राप्तिसँग अस्ताउनेछ ।”
विश्वभरिका मजदुर, किसान, क्रान्तिकारी, बुद्धिजीवी र अमेरिकी साम्राज्यवादविरुद्ध सङ्घर्ष गर्न तत्पर सबैले अमेरिकी कालाहरूले गरिरहेको सङ्घर्षमा ऐक्यबद्धता जनाउनुपर्छ, समर्थन गर्नुपर्छ । नेता माओ त्सेतुङले पनि त्यसबेला संसारका साझा शत्रु अमेरिकी साम्राज्यवादविरुद्ध लड्न आह्वान गरेका थिए । अफ्रो अमेरिकी सङ्घर्ष शोषितपीडित कालाहरूले मात्र स्वतन्त्रता र समानताको लागि लडेको लडाइँ होइन, त्यो लडाइँ सारा शोषितपीडित पुँजीवादीहरूले गरेको चरम अत्याचार, दमन र शोषणविरुद्धको सङ्घर्ष पनि हो ।
अमेरिकाको रङ्गभेद नीति उपनिवेशवाद र साम्राज्यवादी व्यवस्थाले निम्त्याएको समस्या हो यो । अमेरिकाका काला र अमेरिकी शासकहरूबिचको अन्तर्विरोध वर्गीय अन्तर्विरोध हो । अमेरिकामा भएको अफ्रो अमेरिकी सङ्घर्षको आँधी अमेरिकी साम्राज्यवादले आफ्नो मुट्ठीमा पारेको राजनीतिक, आर्थिक हालिमुहालीविरुद्धको अभिव्यक्ति हो । यस्तो सङ्घर्ष र एकता संसारका विभिन्न मुलुकमा गरिरहनु अपरिहार्य छ । अहिले साम्राज्यवादी देश अमेरिकाको ध्यान नेपालमा परेको छ, नेपाली भूमि टेकेर प्रत्यक्ष या अप्रत्यक्षरूपमा, खुला या गुप्तरूपमा उसको विभिन्न क्रियाकलाप भइरहेको छ । यसतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने हो । देशका सबै देशभक्त दल र जनताको ध्यान जानुपर्छ । बेलैमा सचेत भएनौँ भने नेपाल पनि कुनै दिन अफगानिस्तान बन्न बेर लाग्दैन । सबैले साम्राज्यवादी नीतिको विरोध गरौँ, साम्राज्यवादी नीतिको विरुद्धको सङ्घर्षमा समर्थन गरौँ र प्रतिबद्धता जनाऔँ ।
Leave a Reply