भर्खरै :

नेक्राकिसङ्घ वर्गीय मुक्ति आन्दोलनमा सङ्घर्षरत

विक्रम संवत् २०२५ साउन १४ गते गुप्तरूपमा स्थापना भएको नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन माघ २८ गतेदेखि बारा जिल्लाको कलैयामा सुरु हुन गइरहेको छ । क्रान्तिकारी भूमिसुधारको निम्ति किसान आन्दोलन भन्ने नाराका साथ सुरु हुन लागेको सो सम्मेलनको पहिलो दिन कलैयाको कलैया बजारबाट जुलुस सुरु हुनेछ । नगर परिक्रमापछि जुलुस सभास्थलमा पुगी सम्मेलनको उद्घाटन हुनेछ । सम्मेलनको उद्घाटन झन्डातोलनका साथ हुनेछ । दोस्रो दिन माघ २९ गते बन्द सत्र हुनेछ । सोही दिन बसेको बन्द सत्रले नेक्राकिसङ्घको नयाँ कार्य समिति गठन गर्नेछ । सम्मेलन सुरुअघि हुने जुलुसमा नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलन सफल पारौँ, क्रान्तिकारी भूमिसुधार लागु गर, ५८ वर्षमाथिका किसानलाई पुग्दो निर्वाह भत्ता र आदर निकेतनको व्यवस्था गर, स्वदेशमै मल कारखाना स्थापना गर, जनसङ्ख्याको अनुपातमा राज्यका सबै अङ्गहरूमा किसानको प्रतिनिधित्व सुनिश्चित गर, गुठी जग्गा रैकरमा परिणत गर्ने व्यवस्था गर, सबै खालका जोताहा किसानलाई मोहियानी हकको व्यवस्था गर, भारतीय विस्तारवाद मुर्दावाद, अमेरिकी साम्राज्यवाद मुर्दावाद, समाजवादी गणतन्त्र जिन्दावाद, नेमकिपा जिन्दावाद, नेपाल क्रान्तिकारी किसान सङ्घ जिन्दावाद आदि नारा लगाइने छ ।
नेक्राकिसङ्घको २०३५ मा भूमिगतरूपमा राष्ट्रिय भेला भएको थियो । सङ्घको खुला राष्ट्रिय भेला ०६४ असोज ६ र ७ गते भएको थियो । प्रथम राष्ट्रिय सम्मेलन २०६६ पुस १० र ११ गते भएको थियो भने दोस्रो राष्ट्रिय सम्मेलन २०७३ माघ २८ र २९ गते भएको थियो । अहिले तेस्रो राष्ट्रिय सम्मेलन २०७९ माघ २८ र २९ गते बाराको कलैयामा हुन गइरहेको छ । सङ्घले भक्तपुर, चितवनलगायतका जिल्लामा भएको किसान आन्दोलनबाट किसानहरूको मोहियानी हक सुरक्षित भएको थियो । सङ्घका अग्रजहरूले बारा, पर्सा, रौतहट, धनुषा, सिरहा, सप्तरी, भक्तपुर, चितवनलगायतका जिल्लामा भएको किसान आन्दोलनमा भाग लिएका थिए । नेक्राकिसङ्घ वर्गीय मुक्ति आन्दोलनमा सङ्घर्षरत छ । सत्तासीन दलले क्रान्तिकारी भूमिसुधारको बाटो कहिल्यै रोजेन । ती दलले वैज्ञानिक भूमिसुधारको नाउँमा जनतालाई छलछाम गरेर किसानलाई धोका दिँदै छन् ।
कमैयाहरू जोताहा किसान भएको हुँदा उनीहरूलाई मोहियानी हक दिनुपर्छ भन्ने माग नेक्राकिसङ्घको हो । सरकारले ०६५ भदौ २१ गते हलिया मुक्ति घोषणा ग¥यो । पुस्तौँदेखि जोत्दै आएको जग्गामा हलियालाई मोहियानी हक नदिई मुक्तिको घोषणा गरेर जग्गाबाट वञ्चित गराइयो । नेक्राकिसङ्घले मोहियानी हक दिएरमात्र हलियामुक्ति घोषणा गर्नुपर्ने आवाज राख्यो । यसअघि २०५७ साउन २ गते नेकाको सरकारले गरेको कमैया मुक्ति घोषणा पनि त्यस्तै धोकापूर्ण थियो । किसानहरूको सम्मानमा ५८ वर्षमाथिका किसानलाई पुग्दो निर्वाह भत्ता र आदर निकेतनको व्यवस्था गर्न सङ्घले आवाज उठाउँदै आएको हो ।
नेक्राकिसङ्घले स्थापनाकालदेखि नै स्वदेशमै रासायनिक मल कारखाना खोल्न सङ्घर्ष गर्दै आएको हो । तराईका अधिकांश किसानको आफ्नो नाममा जमिन छैन । तराईका किसानले मोहियानी हक पाएका छैनन् । सङ्घ किसानहरूको हक हितको निम्ति मात्र होइन देश जोगाउन, नेपाली भूमि बचाउने अभियानमा पनि सङ्घर्षरत छ । यसरी देश र जनताप्रति समर्पित नेक्राकिसङ्घको तेस्रो राष्ट्रिय सम्मेलनको सफलताको अग्रीम शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *