भर्खरै :

अमेरिकाले चीनविरुद्ध युद्धको तयारी थालिसक्यो

अमेरिकाले चीनविरुद्ध युद्धको तयारी थालिसक्यो

युक्रेनमाथि रुसी सैन्य कारबाहीको पहिलो वार्षिकी नजिकिँदै छ । फेब्रुअरी २०२३ मा एक वर्ष बित्नेछ । रुसका उच्च सैन्य अधिकारीहरूले यो युद्ध रुस र युक्रेनबिच नभई रुस र नेटोबिच भएको धेरै पहिले उद्घोष गरिसकेका छन् । युक्रेन संरा अमेरिकाको नयाँ युद्धमा मोहरामात्र हो ।
युरोपको अर्थतन्त्र र सेनालाई रुसविरोधी अमेरिकी युद्धोन्मादमा बलि चढाइएको छ । हिउँदको बेला छ । ‘विजय’ जस्तो देखिने केही लिएर द्वन्द्व अन्त्य गर्ने सम्भावना कहिल्यै थिएन । थियो भने पनि झन्डै नगन्य छ ।
अमेरिकी विदेशनीतिका निर्माताहरूमध्ये अत्यन्त आपराधिक पात्र कन्डोलिजा राइस र रोबर्ट गेट्सले यो कुरा स्वीकार गरिसकेका छन् । वासिङटन पोस्टमा लेख लेख्दै राइस र गेट्सले समय युक्रेनको पक्षमा नभएको निष्कर्ष निकालेका छन् । संरा अमेरिकाले चाँडै केही गर्नुपर्छ, नत्र युक्रेनले हार्ने निश्चित छ ।
राइस र गेट्सजस्ता कट्टर नवरुढीवादीहरूका लागि वार्ताबाट समाधान निकाल्ने विषय सोचबाहिरको कुरा हो । अमेरिकी राजनीति र सैन्य नेतृत्वको एउटै विकल्प युक्रेनमा मोर्चाबन्दी गर्नु हो । लडाइँमा विजय सुनिश्चित गर्न युक्रेनमा हतियारबन्द ट्याङ्कलगायत भारी हतियारहरू तैनाथ गर्नुपर्नेछ ।
भूराजनीतिक विश्लेषक ब्रायन बर्लेटिकले लेखेका छन् – राइस र गेट्सको माग पूरा गर्ने बाटोमा एउटा ठूलो बाधा छ । नेटोको गठ्ठाघर रित्तिँदै छ ।
संरा अमेरिकाले बर्सेनि ३० हजार राउन्ड लामो दूरीका १५५ एमएम होवित्जर प्रणाली उत्पादन गर्छ । युक्रेनले यति हतियार दुई सातामै रित्याउँदै छ । रुसी मिसाइल आक्रमणमा परेर ठूलाठूला हतियारहरू नष्ट हुँदै छन् ।
संरा अमेरिका र जर्मनीजस्ता देशहरूसँग मात्र युक्रेन पठाउनलाई केही हतियार बचेको छ ।
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सीकीले संसद्मा हतियारको भिख मागिरहँदा उनी जो बाइडेनको टिप्पणी सुनेर निराश भएको हुनुपर्छ । बाइडेनले अमेरिकाले युक्रेनलाई हतियार बन्द गर्ने वचन नदिने बताए । यसो गरे नेटो र रुसबिच तेस्रो विश्वयुद्ध हुनसक्ने बाइडेनले औँल्याएका थिए ।
सोलेदार सहरमा रुसको निर्णायक विजयले अमेरिकी विदेश नीति निर्माताहरूको चिन्ता बढ्दै छ । युक्रेन युद्धले अन्य देशमा युद्ध गर्ने अमेरिकी क्षमता घटिरहेको उनीहरू बुझ्दै छन् ।
अन्य देश भन्नाले अमेरिकी रणनीतिकारहरूले चीनलाई नै सबैभन्दा माथि राखेका छन् । पेन्टागनको अनुसन्धान शाखा रान्ड कर्पोरेसनले चीनलाई ‘जोडी’ प्रतिस्पर्धी र अमेरिकाको सबैभन्दा दीर्घकालीन खतरा भनेको छ ।
जो बाइडेनका रक्षामन्त्री लोयड अस्टिनले समेत चीनलाई अमेरिकी ‘सुरक्षा’ को निम्ति सबैभन्दा ठूलो खतरा भनेका छन् । नेटोले आफ्नो पछिल्लो रणनीतिक दस्तावेजमा चीनलाई ‘दुष्ट खेलाडी’ को बिल्ला लगाएको छ र चीनको उदयले ल्याएको कथित ‘खतरा’ लाई ठाउँमा ल्याउन अझ ठूलो भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।
‘फरेन पोलिसी’ पत्रिकामा नव वर्षमा शृङ्खलाबद्ध लेखहरू छापिएका छन् । ती लेखमा चीनविरुद्ध अमेरिकाले युद्धको तयारी थालेको खुलासा गरिएको छ ।
‘अर्को युद्धका लागि पाठहरू’ शीर्षकमा १२ निबन्धहरू छापिएका छन् । अमेरिकी विदेश नीति निर्माताहरूका विभिन्न तह र तप्काबाट लेखहरू आएका छन् । ओबामाकालका सीआईए निर्देशक र अमेरिकी सेनाका कमान्डर डेभिड पेट्रियसको लेख छापिएको छ । त्यस्तै पूर्व नेटो महासचिव जनरल एन्डर्स फोग रासमुसेन र पूर्वसहायक विदेशमन्त्री र ट्रम्पकालका नेटो उपमहासचिव जनरल रोस गोटमोएलरले पनि यस विषयमा लेख लेखेका छन् ।
धेरै लेखकहरू चरमपन्थी थिंक ट्यांकमा आबद्ध छन् । अमेरिकी सरकारले प्रायोजन गर्ने ‘सेन्टर फर न्यू अमेरिकन सिक्योरिटी’ (सीनास) र नवरुढीवादी ‘फाउन्डेसन फर डिफेन्स अफ डिमोक्रेसिज’ (एफडीडी) यस्तै समूह हुन् ।
उनीहरूका लेखमा आर्थिक, साइबर, सैन्य, कूटनीतिक र प्रचार युद्धका १२ क्षेत्र समेटिएको छ । एउटा कथन प्रत्येक लेखमा पाइन्छ : रुस युक्रेनमा पराजित भयो र ताइवानमा चीनविरुद्ध आउँदो युद्धको तयारी गर्ने उपयुक्त मौका छ । (रुस पराजित भएको कुरा साम्राज्यवादी अहङ्कारले रचेको झूटो हल्लासिवाय केही होइन ।)
‘फरेन पोलिसी’ का प्रमुख सम्पादक स्टेफान थेइलले स्पष्ट खुलाएका छन् :
“रुसी कब्जाका अघिल्ला १० महिनाबाट उचित शिक्षा निकाल्नुपर्छ । यी पाठक युक्रेनको अस्तित्वका निम्ति आवश्यक छन् । भविष्यमा हुने द्वन्द्व रोक्न पनि यी पाठहरू निर्णायक हुनेछन् । आवश्यक परे लडाइँमा पनि काम लाग्नेछन् । अर्को सम्भावित रणमैदान निश्चय नै ताइवान हुनेछ । त्यसमा धेरै चीज दाउमा लाग्न सक्छ ।”
चीनलाई ‘रोक्ने’ अनेक लोकाचार देखाए पनि लेखकहरूले चीनसँग युद्ध थाल्ने ठोस उपायहरू सुझाएका छन् । अन्य लेखकहरूसँगै डेभिड पेट्रियस दाबी गर्छन् ः
“युक्रेनले अमेरिका र हिन्द प्रशान्त क्षेत्रका अमेरिकी मित्र देशलाई एउटा अहम् शिक्षा दिएको छ । हामीले छिट्टै नै ठूलो सङ्ख्यामा तुलनात्मकरूपमा महँगा र चलायमान जहाज प्रतिरोधी, विमान प्रतिरोधी मिसाइलहरू तैनाथ गर्ने क्षमतालाई प्राथमिकतामा राख्नुपर्छ । त्यसलाई पेइचिङको बढ्दो जल र वायु सेनाविरुद्ध पहिलो र दोस्रो टापु लहरभरि फैलाउन र सक्रिय पार्न सक्नुपर्छ । ठूलो मात्रामा वायु, जल र जमिनमा मानवविहीन बन्दोबस्तीबाट अमेरिकी युद्धमैदानमा यी मिसाइलहरूको सङ्ख्या बढाउन सकिन्छ ।”
अर्को शब्दमा चीनको सामना गर्न अमेरिकाको आफ्नो ८ खर्ब ५८ अर्ब डलर बराबरको सैन्य बजेट अझ बढाउनुपर्ने हुन्छ ।
पेट्रियसले अफगानिस्तानमा अमेरिकी सेनाको नेतृत्व गर्दा विवाह र मानव बस्तीलाई तारो बनाउन प्रत्यक्ष भूमिका खेलेका थिए । उनलाई अमेरिकी गठ्ठाघरबारे राम्रो ज्ञान थियो ।
ओबामाको पालाका नेटो महासचिव एन्डर्स फोग रासमुजेन ताइवानमा हतियारहरू पेल्ने पेट्रियसको जोडको समर्थन गर्छन् । “हतियार नै निर्णायक हुन् । आफ्ना साझेदारहरूको सहयोगमा (ताइवान) हतियारै हतियार भिरेको दुम्सीजस्तो बन्नुपर्छ । आफूमाथिको बलप्रयोग रोक्न यति गर्नैपर्छ । ताइवान कब्जा गर्न असाध्यै धेरै मूल्य चुकाउनुपर्ने चीनले पनि महसुस गरोस् न ।”
यद्यपि, ‘फरेन पोलिसी’ का लेखकहरूले चीनसँगको युद्धको तयारी हतियारभन्दा पनि परको भएको स्पष्ट पारेका छन् ।
मारिया शागिना आर्थिक प्रतिबन्धका अध्येता हुन् । उनी ‘इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजी स्टडीज’ मा काम गर्छन् । यो एउटा थिङ्क ट्याङ्क समूह हो । हतियार उद्योग र अमेरिकी विदेश मन्त्रालयले यसको खर्च हेर्छ । शागिनाले संरा अमेरिका र उसका सहयोगी देशहरूले चीनविरुद्ध सकेसम्म ‘आर्थिक शासनकला’ को योजना तर्जुमा गर्नुपर्ने बताए ।
कार्लाइल समूहले प्रायोजन गर्ने ‘अमेरिकन इन्टरप्राइज इन्स्टिच्युट’ दक्षिणपन्थी अध्ययन समूह हो । यसमा काम गर्ने एलिजाबेथ ब्रले अमेरिका र उसका सहयोगी देशहरूले सूचना सञ्जालमा आफ्नो नियन्त्रण कायम गर्नुपर्ने सुझाव दिइन् । नागरिकहरूले संरा अमेरिका र नेटोलाई चुनौती दिने कथित ‘विध्वंशक’ राज्य र गैरराजकीय पक्षहरूबारे ‘के कुरा बुझ्नुपर्छ’ भन्ने कुरा सुनिश्चित गर्न पनि यस्तो नियन्त्रण आवश्यक भएको उनको तर्क थियो ।
यी कथित ‘तयारीहरू’ हुन थालिसकेको छ । संरा अमेरिकाले चीनविरुद्ध सूचना युद्धमा करोडौँ डलर खर्च गर्दै आएको छ । उसले हालै मात्र चिनियाँ सेमिकन्डक्टरको निर्यातमाथि रोक लगाएको छ । यो चीनविरोधी आर्थिक युद्धकै एक हिस्सा हो ।
‘फरेन पोलिसी’ ले चलाइरहेको ‘अर्को युद्धका लागि पाठहरू’ शृङ्खलाबाट संरा अमेरिकी रणनीतिकारहरूले चीनविरुद्ध युद्धको तयारी गर्दै छन् भन्ने स्पष्ट हुन्छ ।
‘फरेन पोलिसी’ मा माथिको लेख छापिएको दुई दिनपछि जापानस्थित अमेरिकी जनरल जेम्स बिएरमेनले ‘फिनान्सियल टाइम्स’ मा एउटा आश्चर्यजनक दाबी गरे । उनले चीनलाई युक्रेनकै शैलीमा ताइवानमा फसाएर संरा अमेरिकाले ‘युद्धको मञ्च तयार गरिरहेको’ बताए ।
भोलिपल्ट ‘सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज’ (सीएसआईएस) ले अमेरिका र चीनबिच ताइवानको विषयमा युद्ध भए कस्तो होला भनेर युद्धको भिडियो खाका जारी ग¥यो । निश्चय नै अमेरिकी सरकारले जति नै क्षति भए पनि चीनको ताइवान लिने प्रयास विफल हुने सोचेको हुनुपर्छ ।
२०२२ मे महिनामा ‘द सेन्टर फर न्यू अमेरिकन सिक्युरिटी’ (सीनास) ले एक टीभी कार्यक्रममा सो युद्धको भिडियो खाका देखायो । यो संस्था पनि मुख्यतया सैन्य ठेकेदारहरूले चलाइरहेका छन् । २०२२ फेब्रुअरीमा अमेरिकी जलसेना र वायुसेनाले जापानी जलसेनासँग मिलेर फिलिपिन्स सागरमा संयुक्त सैन्य अभ्यास गरे । यसलाई उनीहरूले ‘नोबल फ्युजन’ भने ।
चीनविरुद्ध अमेरिकी युद्ध तयारीहरूको ताइवानसँग त्यति सरोकार छैन । खासमा अमेरिकी साम्राज्य ओरालो झर्दै छ तथा चीन र रुस माथि उठ्दै छन् । अमेरिकी युद्ध तयारी यसकै जवाफमा आएको हो ।
पेइचिङ र मस्को दुवैले वासिङटनको वर्चस्वसामु आ–आफ्नै खालका चुनौतीहरू दिइरहेका छन् ।
सार्वभौमिकता र राजनीतिक स्वतन्त्रताको हकमा प्रगति गरिरहेको रुसले अमेरिका नेतृत्वको पश्चिमा गठबन्धनलाई चुनौती दिइरहेको छ । यसलाई वुल्फोवीज नीति भन्छन् । यो भनेको पूर्व सोभियत गणराज्यहरूमाथि पूर्ण प्रभुत्व कायम गर्ने अमेरिकी नीति हो ।
चीनको विशाल समाजवादी बजार अर्थतन्त्रले ठप्प रहेको अमेरिकी वित्तीय पुँजीवादी प्रणालीलाई सन् २०३५ सम्ममा गार्हस्थ उत्पादनमा उछिन्ने देखिन्छ ।
अमेरिकाको लागि ठूलो चुनौती रुस र चीनको बढ्दो निकटता हो ।
आर्थिक दृष्टिबाट रुस र चीनको विस्तृत रणनीतिक साझेदारी झन्झन् बढ्दै छ । खासगरी सन् २००१ मा मैत्रीपूर्ण सहकार्य र असल छिमेकी सन्धिपछि यस्तो साझेदारी सघन बनेको हो । दुईपक्षीय व्यापार २५ प्रतिशत बढोत्तरी भएको छ । सन् २०२४ सम्ममा जति लक्ष्य राखिएको थियो त्यो भन्दा पनि बढी २०० अर्ब डलर बराबरको कारोबार भइरहेको छ । चीनसँगको सहकार्यले अमेरिकी र युरोपेली युनियनको आर्थिक प्रतिबन्धबाट रुसलाई सुरक्षा दिइरहेको छ । उसले कृषि र ऊर्जासम्बन्धी उत्पादनहरू चीनमा निर्यात गरिरहेको छ ।
चीन र रुसले सैन्य, रङ्गीन क्रान्ति र कूटनीतिक क्षेत्रमा पनि सहकार्य बढाएका छन् । साझा खतरा अमेरिकी साम्राज्यवादले पनि यो सहकार्य बढाउन टेवा दिएको छ । तर, सायद अमेरिकी वर्चस्वको लागि सबैभन्दा ठूलो खतरा चीन र रुसको राजनीतिक नेतृत्व हो । उनीहरू विश्वव्यापी एकता र डलरविमुख राजनीतिमा सक्रिय छन् ।
चीन र रुस ब्रिक्स+ र साङ्घाइ सहकार्य सङ्गठन बहुपक्षीय सम्बन्धका प्रमुख अगुवा हुन् । यी सङ्गठनहरूले आर्थिक र सामाजिक विकासका सबै क्षेत्रमा लगानी बढाइरहेका छन् । यिनमा संलग्न देशहरूको आर्थिक र सामाजिक विकासमा खासगरी वित्तीय सहयोग पाउँदै आएका छन् ।
संरा अमेरिका र युरोपेली युनियनले भोकभोकै मार्ने गरी थोपरेको आर्थिक प्रतिबन्ध र पश्चिमा वित्तीय संस्थाहरूले दिने चर्को ऋणको जवाफमा ब्रिक्स+ ले दक्षिणी गोलाद्र्वका ठूला अर्थतन्त्रहरूलाई एकजुट पार्दै छ । यसमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका सहभागी छन् । अमेरिकी डलरको दबदबा रहेको नवउदारवादी अर्थप्रणालीको विकल्पमा ब्रिक्स+ को स्थापना भएको हो ।
ब्रिक्स+ को शक्ति सन् २०२२ यता बढ्दै छ । साउदी अरब, अल्जेरिया, इरान, अर्जेन्टिना र अन्य देशहरूले पनि ब्रिक्स+ मा सहभागी हुने रुचि देखाएका छन्, केहीले आवेदन नै दिएका छन् । ब्रिक्स+ लाई चीन र रुसका आ–आफ्नै सहकार्य परियोजनाहरूले सघाइरहेका छन् । यी परियोजनाहरूले पेट्रोडलरबाट मुक्त हुन आवश्यक भौतिक पूर्वाधारहरू विकास गर्न खोजिरहेका छन् ।
चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ले १४० भन्दा बढी देशहरूसँग ठूला सहकार्य सम्झौता गरेका छन् । तिनमा कम्तीमा २ हजार विकास अगुवाइहरू पर्छन् । यीमध्ये धेरै आयोजनाहरू पूरा भइसकेका छन् भने केही निर्माणाधीन छन् ।
रुस नेतृत्वको ‘युरासियन इकोनमिक युनियन’ (ईएईयू) र ‘बीआरआई’ गाभ्ने वार्ता चलिरहेको छ ।
चीनविरुद्ध युद्धको तयार गरिरहेका शक्तिहरूले युरेसियाली एकताबिच डलरको भविष्य के हुने भन्ने विषयमा गहिरो चासो दिएका छन् ।
‘फरेन पोलिसी’ ले आफ्नो निबन्ध शृङ्खलामा लेखकहरूले अमेरिकी नाकाबन्दीले नै चीनलाई आफ्ना व्यापारिक साझेदारबिच डलरको विकल्प खोज्ने बनाएको स्वीकार गरेका छन् ।
जोल्टन पोज्सार न्युयोर्कस्थित फेडरल रिजर्भ बैङ्कका अर्थशास्त्री र पूर्व रणनीतिकार हुन् । हालै उनले ‘ब्रिक्सपान्सन’ (ब्रिक्सको विस्तार) को खतराबारे कुरा गरे । उनले चीन, रुस, इरान र दक्षिणी गोलाद्र्ध नयाँ मुद्रा प्रणालीले एकीकृत हुने बताए । यसको लागि उनीहरूले आफूसँग भएका वस्तु भण्डारको उपयोग गर्न सक्ने उनको अनुमान थियो ।
पोज्सारले ‘वस्तुको बोझ’ बारे सचेत पारे । उनले रुसजस्ता सम्पदामा धनी देशहरूले आफ्ना माल वा वस्तुहरूलाई सञ्चिति वा वित्तीय व्यवस्थापनको लागि प्रयोग गर्ने सम्भावना भएको बताए ।
चीन र साउदी अरबले चिनियाँ युआनमा तेलको व्यापार गर्ने कुरामा रुचि देखाएका छन् । रुस पनि अन्तर्राष्ट्रिय सञ्चित मुद्राको खोजीमा छ । त्यस्तै ‘ब्रिक्स मुद्रा’ को अवधारणालाई पनि पश्चिमा वित्तीय दबदबाको लागि ठूलो खतराको रूपमा हेरिएको छ ।
आफ्नो साम्राज्यवादी वर्चस्वमा खिया लागेको देखेर जवाफमा अमेरिकाले युद्धलाई अघि सारेको छ ।
युद्ध परजीवी नवउदारवादको विशेषता हो । युद्धमा ठूला कम्पनीहरूले विश्वभरिका कामदार जनता र प्राकृतिक सम्पदालाई शोषण गर्ने र लुट्ने मौका पाउँछन् । युद्ध नाफादायी हुन्छ । युद्ध मुट्ठीभर सैन्य ठेकेदारहरूको नियन्त्रणमा हुने उद्योग हो ।
धनाढ्य शासकहरूले अमेरिकी साम्राज्यवादले चीन र रुसविरुद्ध प्रतिस्पर्धा गर्न नसक्ने हिसाब लगाएका छन् । यसैकारण, अमेरिका नेतृत्वको नवउदारवादी र साम्राज्यवादी खेमालाई अस्तित्वको खतरा आइलागेको उनीहरूको अनुमान छ ।
यो कुरा नेटोको थिङ्क ट्याङ्क ‘एटलान्टिक परिषद्’ ले जनाएको हो । अमेरिकी राष्ट्रिय सुरक्षा नीतिहरूमा पनि यो कुरा प्रतिबिम्बित भएको छ । अमेरिकी विदेश नीतिका रणनीतिकार र विज्ञहरूले आउँदो युद्ध अचानक हुनुहुँदैन भनेर तयारी गर्दै छन् ।
अमेरिकी साम्राज्यवादले खालि एउटै ‘शत्रु’ लाई तारो बनाइरहेको छैन । यसले वैकल्पिक विकास मोडेल र त्यसको निर्माणमा लागिपरेका देशहरूलाई पनि तारो बनाइरहेको छ ।
हेनरी किसिन्जरले भनेका थिए, संरा अमेरिकाको ‘कुनै स्थायी मित्र वा शत्रु छैन, खालि स्वार्थ छ ।’
युक्रेनको छद्म युद्ध अमेरिकाको साम्राज्यवादी विस्तारको ठूलो स्वार्थ लागू गर्ने परीक्षण स्थल हो । यो स्वार्थलाई दबाउनुमा नै मानव जातिको शान्ति र समृद्धि निहीत छ । खासगरी साम्राज्यवादको केन्द्र संरा अमेरिकालाई परास्त गर्नु नै शान्ति र समृतिको साझा सर्त हो ।
(लेखक हाइफोङ न्युयोर्कमा बस्ने अभियन्ता र पत्रकार हुन् । स्रोत : एमआर अनलाइन ।)
-The US is already preparing for its next war on China)
–MR online
– Jun 18, 2023
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *