कक्रोच मार्न तोप प्रयोग गर्दै छन् मोदी !
- जेष्ठ ३०, २०८३
विदेशमन्त्री स्तरीय द्विदेशीय वार्ता गर्न काठमाडौँ आएका भारतीय विदेशसचिव विनयमोहन क्वात्रा दुई दिनको भ्रमण सकेर फर्किनु अघिसम्म राजनीतिक भेटघाटमा निकै व्यस्त देखिए । पहिलो दिन नेपालका विदेश सचिव भरतराज पौड्यालसँग नाममात्रको द्विदेशीय वार्ता सकाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ताका नाममा राजनीतिक मन्त्रणामा व्यस्त भए । उनको दोस्रो दिन राजनीतिक भेटघाटमै केन्द्रित रह्यो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायतका नेताहरूसँग पनि उनले भेटघाट गरे ।
यसअघि नेपालका लागि भारतीय राजदूत रहिसकेका भारतीय विदेश सचिव क्वात्राले नेपालका नेता र राजनीतिक दलहरूबारे राम्रो जानकारी राख्नेमा दुईमत छैन ।
कतिपय नेतासँग उनको एक्लाएक्लै छलफल भएको बताइएको छ । नेपालमा पुरानो सत्ता समीकरण फेरिएर अचानक हालको सत्ता गठबन्धन बनेको छ । नयाँ गठबन्धनको भविष्य अन्योलमा पारिदिने गरी राष्ट्रपति कसलाई बनाउने भन्नेबारेमा विवाद सतहमा आएको छ । पुरानो सत्ता समीकरण नफेरियोस् भन्ने भारतीय चाहना रहेको भन्ने समाचार र विश्लेषणहरू भएका थिए । नेपालको रणनीतिक महत्व निकै बढेको देखिएको बेला भएको भारतीय विदेशसचिवको यात्रालाई नेपालका नेताहरूले पनि निकै महत्व दिएको देखियो र यस्तो नेपालको राजनीतिमा पहिले पनि भइरहेकै हो । के भारतीय विदेश सचिवको भ्रमण नेपालमा आफ्नो अनुकूलको राष्ट्रपति बनाउनका लागि त होइन ? पुरानो सत्ता गठबन्धन भत्किएदेखि काङ्ग्रेस नेताहरू राष्ट्रपतिको चुनावलाई लिएर नयाँ समीकरण भत्काउन प्रयास गर्ने घोषणा सार्वजनिकरूपमै गरिरहेका छन् । प्रधानमन्त्री दाहालको राष्ट्रिय सहमतिको प्रस्तावलाई एमालेबाट राष्ट्रपति हुन नदिने उनको योजनाको रूपमा अथ्र्याउने गरिन्छ । त्यसमा भारतीय रुचि पनि मिसिएको चर्चा भइरहँदा दक्षिणी छिमेकका विदेश सचिवको भ्रमण र राजनीतिक मन्त्रणालाई कूटनीतिक शिष्टाचार मात्र कदापि मान्न सकिन्न । केही दिनअगाडि राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड भ्रमणमा आएर राजनीतिक भेटघाट गरेका थिए । यो नेपालको राजनीतिमा विदेशी हस्तक्षेपको निरन्तरता हो । नेपाली जनताको प्रश्न छ – नेपालको राजनीतिमा विदेशी हस्तक्षेपको अन्त्य कहिले ?
Leave a Reply