भर्खरै :

गणेश माविको ३९ औँ स्थापना दिवस मनाइयो

गणेश माविको ३९ औँ स्थापना दिवस मनाइयो

भक्तपुर, ५ फागुन । गणेश माध्यमिक विद्यालय भार्वाचोको ३९ औँ स्थापना दिवसको अवसरमा शुक्रबार पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको कायक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले अरूको भर नपरी आफ्नै स्रोत र साधनको अधिकतम उपयोग गर्दै शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा उन्नति र प्रगति गर्न सकिन्छ भनी भक्तपुर नगरपालिकाले प्रमाणित गरेको बताउँदै देशभरका स्थानीय पालिकाले यसतर्फ मनन गर्नुपर्ने बताउनुभयो ।
मोबाइल, टेलिभिजन, कम्प्युटरजस्ता प्रविधिको विकाससँगै ती उपकरणहरूले विद्यार्थीहरूमा पर्न सक्ने नकारात्मक असर तथा गलत बाटोबारे अभिभावकहरू सचेत रहनुपर्ने बताउँदै उहाँले विद्यालयलाई ज्ञान, विज्ञान र विचारको कर्मथलो बनाउन र देशको लागि सक्षम र सफल नेतृत्व तयार गर्न शिक्षकहरू तत्पर रहनुपर्नेमा जोड दिनुभयो ।
विद्यालयका पूर्वअध्यक्ष कृष्णबहादुर दुगजुले समय सापेक्ष विद्यालयको भौतिक विकास, शैक्षिक गुणस्तरीयतामा उन्नति भएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा अझ प्रगति हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।
सभापतिको आसनबाट बोल्दै विद्यालयका प्रधानाध्यापक गणेशराम थुसाले विद्यार्थीहरूको रचनात्मक, सृजनात्मक क्रियाकलापहरूलाई अगाडि बढाउन वार्षिकोत्सवकै अवसर पारी बिहीबार शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरेको चर्चा गर्नुभयो ।
विद्यालयका शिक्षिका सुशीला न्याइच्याई र शिक्षक लक्ष्मीसुन्दर सुवालले पनि बोल्नुभयो ।
औपचारिक कार्यक्रमपश्चात् विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुतिहरू देखाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *