भर्खरै :

नयाँ आर्थिक नीति

नयाँ आर्थिक नीति

लेनिनकहाँ मजदुर, लालसेनाका कमान्डर र वैज्ञानिकहरूको घुइँचो लागिरहन्थ्यो । मजदुरहरूले आफ्ना कामका बारेमा बताउँथे । कमान्डरहरूले सैनिक स्थितिको बारेमा चर्चा गर्थे । वैज्ञानिकहरू शिक्षा, संस्कृति, विज्ञान र कलकारखानाहरूको विषयमा विचार–विमर्श गर्न आउँथे ।
लेनिनले प्रत्येकको कुरा ध्यान दिएर सुन्थे र आवश्यक सल्लाह दिन्थे । पछि यी सबै विषयमा जनकमिसार परिषद्मा छलफल हुन्थ्यो र सरकारले आवश्यक निर्णय लिन्थ्यो, कानुन पास गथ्र्यो ।
लेनिनसँग भेट्न आउनेहरूमध्ये किसानहरू पनि हुन्थे । सुरुआती समयमा किसानहरूसामु मुख्य समस्याको रूपमा जमिनदार र धनी किसानहरूको जमिनको समस्या थियो । जस्तो, त्यो जमिन गरिब र मझौला किसानहरूबिच कसरी बाँड्ने, त्यसको अधिकतम उपयोग कसरी गर्ने ?
पछि गृहयुद्ध सुरू भयो । सोभियत सरकारले किसानहरूले अतिरिक्त अन्नजति सरकारी गोदाममा जम्मा गर्नुपर्ने कानुन बनायो । यसको अर्थ, उनीहरूले आफूले खान र बीउबिजन बनाउन आवश्यक अन्नमात्र भण्डार गर्न सक्थे । बाँकी अन्न सरकारलाई दिनैपथ्र्यो । नत्र, लालसेना र मजदुरहरूलाई कहाँबाट खुवाउन सकिन्थ्यो र ?
किसानहरूका लागि ती अति कठिन दिन थिए । तर, अरू उपाय पनि त थिएन । सबैले कठिनाइ भोग्नुपरेको थियो ।
अब गृहयुद्ध पनि सकियो । जनकमिसार परिषद्का अध्यक्षको कार्यालयमा किसानहरूको घुइँचो लाग्न थाल्यो । लामा–लामा दारी भएका, जीवन बुझेका, अनुभवी किसान लेनिन सहर्ष उनीहरूसँग सोध्थे – भविष्यको बारेमा तपाईंहरूको विचार के छ ?
किसानहरू भन्थे – अतिरिक्त अन्न बुझाउनै पर्ने बाध्यता अन्त्य गरियोस् । यसको साटो करको व्यवस्था गरियोस् ।
यसको अर्थ ? यसको अर्थ, अतिरिक्त उब्जनीजति नखोसियोस् । बढी अन्न रोप्ने, बढी मिहिनेत गर्ने किसानसँग बढी अन्न रहन दिइयोस् । किसानहरूको रूचि यसैमा थियो । यस्तो स्थितिमा किसानले धेरैभन्दा धेरै बाली लगाउन चाहनेछ र मिहिनेत पनि राम्ररी गर्नेछ । उसले जति अन्न सरकारलाई करको रूपमा दिनुपर्ने हो, त्यति दिनेछ र बाँकी अन्न आफूसँगै राख्नेछ । आफूसँगको अन्न बजारमा बेचेर उसले साबुन, लुगाफाटो, तेल, खेतीपातीका औजारजस्ता आवश्यक सरसामान किन्न सक्नेछ । यी चीजबीज खेतमा त फल्दैनन् । त्यसैले कुनै चीजको कमी नहोस् भनेर सहरहरूमा कलकारखानाको विकास गर्नुपर्छ ।
कामदार जनताले आफ्नै हातले गरिबीबाट मुक्त जीवन निर्माण गर्न नपाउने ? पुँजीपतिहरू, श्वेत गार्डहरूलाई हामीले आफ्नो भाग्य आफै निर्माण गर्न सकौँला भनेर त धपाएका हौँ ।
किसानहरूका यी विचार, साथीहरूका सल्लाहसुझाव र आफ्नै चिन्तनले गर्दा लेनिनको मनमा एउटा नयाँ योजना जन्मियो यस योजनालाई उनले नयाँ आर्थिक नीतिको नाम दिए ।
सोभियत सरकारले निजी व्यापार गर्न छुट दियो । सीमितरूपमा यसले सोभियत सत्तालाई कुनै हानि थिएन । आखिर शासन मजदुर र किसानहरूको हातमा थियो । उद्योग, रेलमार्ग, विमानस्थल आदिको निर्माण र विकास होस् भनी मजदुर र किसानको सत्ताले ध्यान दिन थाल्यो । अब यी सबै जनताका सम्पत्ति थिए, राज्यका सम्पत्ति थिए ।
लेनिनले जेजति गर्थे, जनताको भलाइ र सुखको लागि गर्थे । युद्धपछि उनले अर्थव्यवस्था, व्यापार, उद्योग, विद्युतीकरण, मेसिन निर्माण र गाउँ सहरबिच सुदृढ मैत्री विकास गर्नमा जोड दिइरहेका थिए । नयाँ आर्थिक नीति यसकै लागि चाहिएको थियो । पार्टीको दशौँ अधिवेशनले लेनिनको यो योजना अनुमोदन गर्यो ।
नयाँ जीवनको निर्माण गर्न लेनिनले धेरै कठिनाइको सामना गर्नुप¥यो । बाटोमा धेरै बाधाअड्चन आए । नानाथरी मतभेद देखिए । नयाँ आर्थिक नीतिमाथि हमला भयो । उदाहरणको लागि त्रोत्स्कीले सधैँजस्तो यसपालि पनि लेनिनको नीतिको विरोध गरे । उनको यो विरोध अत्यन्त गलत र हानिकारक थियो । उनले ब्रेस्त सम्झौताको पनि विरोध गरेका थिए । उनको सो कदमले सोभियत जनताले धेरै नोक्सानी बेहार्नुपरेको थियो ।
साथै त्रोत्स्कीले लेनिन र पार्टीका विरूद्ध काम गर्दै ढुलमुले सदस्यहरूलाई जम्मा गरे । पार्टीभित्र गुटबन्दी सुरू गरे । लेनिनका धेरै विरोधीहरू थिए । मिलिजुली, परस्पर सहमति कायम गरी शान्तिपूर्ण जीवनको निर्माण गर्न आवश्यक थियो । लेनिन यसैको सपना देखिरहन्थे । पार्टी सदा एकजुट भएर अघि बढोस् भन्ने उनी चाहन्थे ।
लेनिनले निर्ममतापूर्वक तिनीहरूविरूद्ध सङ्घर्ष गरे ।
अधिकांश कम्युनिस्टहरू लेनिनको पक्षमा थिए । लेनिन विजयी भए । उनले पार्टी र सोभियत जनतालाई साम्यवादको बाटोमा अगाडि बढाइरहे ।
स्रोत : लेनिन कथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *