भर्खरै :

श्रद्धाञ्जली सभामा भाग लिँदा

श्रद्धाञ्जली सभामा भाग लिँदा

साँझपखको समय थियो । त्यो दिन यातामा पहिलोपटकको श्रद्धाञ्जली सभाको कार्यक्रम थियो । आकाश चकमन्न थियो । टोलभरि मानिसहरू भेला भइसकेका थिए । तर, पनि त्यो ठाउँ निस्तब्ध थियो । वातावरण शान्त थियो । वसन्त ऋतुको आगमन भए पनि त्यो दिन किन हो कुन्नि चराचुरुङ्गीहरूको चिरविर आवाज पनि निस्केको थिएन । जताततै बत्ती बालेर उज्यालो पारिएको थियो । मञ्च सजिसजाउ थियो । मञ्चको चारैतिर ढक्कमक्क फूल फुलेका गमला र दियोको बत्ती बालेर झिलिमिली पारिएको थियो । घरको भित्ता भित्तामा कृष्णराम र अन्य सहिदका तस्बिरहरू टाँगिएका थिए । मञ्चमा ‘सहिद कृष्णराम दुवाल अमर रहून्’ भन्ने नारा अङ्कित व्यानर टाँगिएको थियो । मञ्चको बिचमा कालो माटोले बनाएको सहिद कृष्णरामको आधा शरीरको प्रतिमा राखेको थियो ।
कार्यक्रम सुरु हुँदा साँझ सात बजेको थियो । कार्यक्रमको प्रारम्भमा सहिदका मातापिताले श्रद्धाञ्जली अर्पण गरे । टोलका सबभन्दा बढी उमेरका वृद्ध र वृद्धा, आमन्त्रित अतिथि, जनप्रतिनिधि, वाद्यवादनका गुरु, बुद्धिजीवी तथा समाजसेवीहरूले पालैपालो सहिदहरूप्रति पुष्पार्पण गरे । श्रद्धाञ्जली अर्पण किसान, मजदुर, महिला, विद्यार्थी, युवा र शिक्षकहरूले पनि गरे । पुष्पार्पण गर्न झन्डै एक घण्टा लागेको थियो । सहिदप्रति चढाएको फूल नै एक रासै बनेको थियो ।
श्रद्धाञ्जली अर्पण गर्दा कृष्णरामका माता कृष्णमायाले भक्कानो छोडेर रोएकी थिइन् । उनको रुवाइ सुनेर सभामा बसिरहेका दिदीबहिनीहरू सुँक्कसुँक्क रोएको आवाज राम्ररी सुनिन्थ्यो । रुवाइको आवाजले टोलमा सन्नाटा छाएको थियो । एकक्षण टोल स्तब्ध बनेको थियो ।
सुनसान र स्तब्ध त्यस वातावरणमा आइमाईहरू भलाकुसारी र कानेखुसी गरिरहेका राम्ररी देखिन्थे । कोही भन्दै थिए– विचरा ! कृष्णरामप्रति जनताको ठूलो सम्मान यही होला । कृष्णराम युगयुगसम्म बाँच्ने भयो ।
युवाहरूबिच पनि खासखुस कुरा भइरहेको सुनिन्थ्यो । शोकमा डुवेका युवाहरू शक्तिमा बदल्दै भन्दै थिए– सहिदका परिवारको बिचल्ली सरकारले हेर्छ कि हेर्दैन ? पीडित परिवारको जीवन सुनिश्चितताको निम्ति सरकारले काममामको बन्दोबस्त गर्छ कि गर्दैन ? सरकारले सहिदहरूको कर्तव्य बुझेर सम्मान गर्छ कि गर्दैन ?
श्रद्धाञ्जली अर्पणको बेला सभामा सहभागी दिदीबहिनीहरूको आँखा आँसुले भिजेको थियो । स्थानीय महिलाहरूको श्रद्धाञ्जली अर्पण गर्दागर्दै भक्कानो छोडेर रोएको आवाजले सभा एकक्षण भावविह्वलै बनेको थियो । तर, रोए पनि, भक्कानो फुटे पनि, आँखा आँसुले भिजे पनि कसैले कसैलाई सम्झाउने, रोक्ने कुरै थिएन, साध्य पनि हुँदैन सम्झाएर बगेको आँसु रोकिने पनि होइन ।
सहिदहरूप्रतिको पुष्पार्पणपछि श्रद्धाञ्जली गीत गाइएको थियो । गीत देशभक्तिपूर्ण थियो । सहिदको त्याग खेर नजाने भाव गीतमा थियो । सहिदको कर्तव्य भुले इतिहासले धिक्कार्ने विचार गीतमा थियो ।
कृष्णरामकै मिल्ने मित्र बुद्धिरामले उनको जीवनी पढेका थिए । जीवनी पढिरहेको बेला कृष्णराम दर्शकहरूमाझ पानी खुवाइरहेको याद भयो । जुलुस र सभामा सहभागी गराउन घर–घरमा पुगेर खबर गरिरहेको जस्तो भान भयो । आफैँ जुलुसमा सहभागी भएर नारा लगाइरहेको झल्झली सम्झना भएको अनुभूति भयो ।
२०४६ सालको ऐतिहासिक जनआन्दोलनमा वीरगति प्राप्त गरेका कृष्णराम दुवालको जन्म २०३३ साल असार ७ गते भएको थियो । गरिब परिवारमा जन्मेका कृष्णराम दुवालले कक्षा ४ सम्म अध्ययन गरेका थिए । किसान परिवारमा जन्मेका सहिद दुवालका माता कृष्णमाया र पिता पूर्णबहादुर दुवाल थिए ।
बुद्धिराम जीवनी पढ्दै थिए । त्यसबेला मेरो मनमा धेरै प्रश्नहरू उब्जे– पञ्चायती व्यवस्था अन्त्य गर्न रगतको खोलो बगाउने र गोली निलेका सहिदहरूप्रति सरकारले सम्मान गर्ने हो कि होइन ? सरकारले सहिद दिवस मनाउँछ कि मनाउँदैन ? सहिदहरूको जीवनी पाठ्यपुस्तकमा समावेश गर्छ कि गर्दैन ? सहिदहरूको संस्मरणमा प्रतिमा राख्छ कि राख्दैन ? सहिदका परिवारहरूको जीवन सुनिश्चित बनाउन सरकारले सहयोग गर्छ कि गर्दैन ?
सबैको सहिदहरूको स्मरणले मन दुखिरहेको थियो, पोलिरहेको थियो आन्दोलनको स्मरण गराइएको थियो । दर्शकहरू रिसको पोको निलेर भोक मेटाइरहेका थिए ।
त्यसबेला शिक्षक श्रीकृष्ण आक्रोशपूर्ण अभिव्यक्ति दिँदै थिए । आन्दोलनको दोस्रो दिन फागुन ८ गते ज्यानको बाजी राखेर आन्दोलनलाई देशव्यापी बनाउन शङ्खघोष गरिरहेका सहिदहरूको देन खेर नजाने विचार उनले व्यक्त गरे । उनले धैर्यताको बाँध फुट्ने दिन नआओस् भनी सङ्केत दिँदै थिए । उनको बोलाइमा आक्रोशको स्वर भए पनि तौलेर बोल्ने उनको बानी थियो ।
फागुन ८ गते नेपाल बन्दको कार्यक्रम थियो । बन्द सफल पार्न सूर्यमढीबाट जुलुस सुरु भएको थियो । सुरुमा प्रदर्शनकारीहरू थोरैमात्र थिए । जुलुस दत्तात्रय पुगेपछि लाठीघारी प्रहरीहरूले छेक्न खोजे तर सकेनन् । जुलुसमा प्रदर्शनकारीहरू थप्दै गए । जुलुस सुकुलढोकामा पुगेपछि प्रदर्शनकारीहरू हजारौँ भइसकेका थिए । त्यहाँ पनि प्रहरीले जुलुस छेक्ने प्रयास गरे । जुलुस अघि बढ्दै गयो । जुलुसमा नेपाल बन्द सफल पारौँ, पञ्चायती व्यवस्था अन्त्य गरौँजस्ता नारा लगाइएको थियो । नाराले आकाश थर्केको थियो । जुलुसमा प्रदर्शनकारीहरू बिचबिचमा थप्दै थिए । जुलुस अघि बढ्दै टौमढीमा पुगेको थियो । जुलुसको एक भाग प्रहरीको छेकबार तोडेर अघि बढेको थियो । जुलुसको अर्को भाग पछाडि थियो । पछाडिका प्रदर्शनकारीहरू टौमढीमा पुग्नै लागेको बेला प्रहरीले बिनाचेतावनी गोली प्रहार गरे । पहिलो गोली राजकुमार सुवाललाई लागेको थियो भने दोस्रो गोली कृष्णराम दुवाललाई लागेको थियो । यसरी बन्दको क्रममा बिहान राजकुमार सुवाल र कृष्णराम दुवाल सहिद भए ।
अगाडिको जुलुस भार्वाचो पुगी समापन भएको थियो ।
गोली चलाएको घटनाले प्रदर्शनकारीहरू आन्दोलित र आक्रोशित भए । आन्दोलन सफल पार्ने र पञ्चायती व्यवस्था अन्त्य गर्ने दृढ निश्चय गरे । यही क्रममा बन्द सफल पार्न दिउँसो पनि कोणसभा र जुलुस भएको थियो । बन्दुकधारी प्रहरीहरू ठाउँ–ठाउँमा तैनाथ थिए । तर, पनि सभा र आन्दोलन रोकिएन । चोकचोक र गल्ली गल्लीबाट जनता उठे । सभा र जुलुसकै क्रममा निर्मलकुमार शाक्य र हरिकृष्ण भुजुलाई पनि गोली लाग्यो । सडक रक्ताम्य भयो । शाक्य र भुजु भुइँमा ढले र एकक्षणमै तातो सास फेर्न छोडे ।
भक्तपुरबाट पहिलोपल्ट चारजना सहिद भएपछि आन्दोलन सफल हुने सन्देश देशभर फैलियो । पञ्चायती व्यवस्था अन्त्य हुने सन्देश एक कान दुई कान मैदान हुँदै देशभर पुग्यो । आन्दोलनले व्यापक रूप लियो । अन्ततः पञ्चायती व्यवस्था चैत २६ गते राति अन्त्य भएको घोषणा भयो । उनीहरूकै रगतको थोपाबाट आन्दोलनले आँधीबेहरी ल्याएको हो र पञ्चायती व्यवस्था अन्त्य भएको चर्चा सर्वत्र भयो ।
सभामा कुनै स्रोताहरू डेग चलेनन् । भावविह्वल र आक्रोशपूर्ण मुद्रामा मानिसहरू सभामा व्यक्त विचार सुनिरहेका थिए ।
लामो समयको पखाईपछि लक्ष्मीभक्तको बोल्ने पालो आयो । उनी पुराना किसान कार्यकर्ता थिए । किसानको दुःख र पीडा उनलाई राम्ररी थाहा थियो । विस्तारै मनको दुःख पोख्ने लक्ष्मीको बानी थियो । जीवनको ओरालीउकालीमा जस्तोसुकै समस्या र चुनौतीसँग सामना गर्दै अघि बढ्ने उनको बानीकै कारण टोलका मानिसहरू उनलाई लक्ष्मी दाइ भनी बोलाउँथे । शत्रुसामु कहिल्यै नझुक्ने र कहिल्यै निराश नहुने उनको अर्को बानी थियो ।
उनले आफ्नो विचार विस्तारै व्यक्त गरे– कृष्णराम आज हाम्रोसामु छैनन् । तर, जनतामाझ उनको आत्मा छ, त्याग छ, देश र जनताप्रति समर्पणको भावना छ । उनी जनतामाझ सदा बाँचिरहने छन् । उनको त्याग अपरम्पार छ, उनी हाम्रा लागि अमर छन्, अजय छन् ।
आखिर परिवर्तनका निम्ति दुई चार जनाको ज्यान फाल्नुपर्ने रहेछ । यही भएर होला भूपि शेरचनले कविताको एक अंश यसरी कोरे –
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन देश दुईचार सपुत मरेर नगए ।
श्रद्धाञ्जली सभाका वक्ता गोविन्द पनि थिए । उनी स्पष्ट वक्ता थिए । उनी सर्वसाधारणले बझ्ने भाषामा आफ्ना विचार निडरका साथ राख्थे ।
सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उनले भने, “सहिदहरूको त्याग खेर जाँदैन । सहिदको रगत चुस्ने रक्तपिपासुहरूलाई इतिहासले कहिल्यै माफी दिनेछैन । गोली निलेका सहिदका परिवार र जनताको सरापले राजतन्त्र एक दिन अन्त्य अवश्यम्भावी छ ।”
जोशिलो र मन छुने उनको विचार सुनेर टोलका दाजुभाइ दिदीबहिनीहरूमा आत्मबल बढेको थियो । वक्ताहरूको कुरा सुनेर स्रोताहरूको कहिले मन ग¥हुँगो हुन्थ्यो त कहिले हलुङ्गो हुन्थ्यो । कहिले पीडाले मनमा पोल्थ्यो र आँसु आउँथ्यो त कहिले सहिदको सपना पूरा गरेरै छाड्ने प्रेरणा र आत्मबल मिल्थ्यो ।
रातको १० बजिसकेको थियो । कार्यक्रममा एउटा नाटक देखाइएको थियो । नाटक नेपाल बन्दसम्बन्धी थियो । नाटकमा सूर्यमढीदेखि टौमढीसम्मका जुलुसका दृश्य, वक्ताहरूको मन्तव्य, जुलुसले प्रहरीको छेकबार तोडेको र शान्तिपूर्ण जुलुस टौमढीमा पुग्दा प्रहरीको गोली लागेर राजकुमार सुवाल र कृष्णराम दुवालले जीवन त्याग गर्दासम्मका दृश्य र घटनाहरू देखाइएको थियो ।
नाटकले जीवन्त घटनाको याद दिलायो । दृश्य देखेर कति रोए । घटना हेर्दाहेर्दै कतिमा रिस र आक्रोश बढ्यो । नाटकमा जुलुसको क्रममा गोली लागेर ढलेका राजकुमार र कृष्णरामलाई अस्पताल पु¥याउँदाको क्षण हेर्दा सबैजसोको मन चिसो भएको अनुभूति भयो । त्यस दृश्यले सबैलाई भावविह्वल बनायो ।
दर्शकहरू ज्ञानबहादुर र नारायण दाइको भाषण सुन्न आतुर थिए । ज्ञानबहादुर किसानहरूका निम्ति ज्ञानका खानी थिए । किसानहरूको दुःख पीडामा सधैँ समर्पित र भिज्दै आएका ज्ञानबहादुर किसानहरूमाझ लोकप्रिय किसान नेता थिए । उनी नगर पिताको रूपमा परिचित थिए ।
“व्यक्ति मर्छ, विचार मर्दैन, सहिदका हत्याराहरू जनताको कठहरामा उभिनेछन्, राजा राजदरबार छोडेर भाग्ने दिन आउनेछ । अब राजतन्त्र अन्त्यको दिन गन्ती सुरु गरे पनि हुन्छ ।” यी हुन्– ज्ञानबहादुरले व्यक्त गरेका विचारहरू ।
नारायण दाइ अन्तिम वक्ता थिए । नेपालको कम्युनिस्ट आन्दोलनलाई बचाइराख्ने नेतामध्ये एक थिए उनी । सत्ता र भागबन्डाको राजनीति छोडेर शुद्ध श्रमजीवी वर्गको पक्षमा निरन्तर लागिरहेका नारायण दाइको ध्येय नेपालको कम्युनिस्ट आन्दोलनलाई सही दिशामा लानु थियो । कहिल्यै विचलित नहुने, शत्रुसामु नझुक्ने, दल र दलगत स्वार्थभन्दा माथि उठेर जनतामा राजनीतिक चेतना जगाउने उनी अगुवा नेता हुन् । उनी दूरदर्शी, चिन्तनशील र अध्ययनशील नेता थिए । सङ्कीर्ण स्वार्थ र अवसरवादमा नभुल्ने नारायण दाइको विचार सुन्न सबै पर्खेर बसेका थिए धैर्य लिएर ।
नेपाली जनताको छातीमा डमडम गोली प्रहार गर्ने सरकारको कुत्सित कार्य नै पञ्चायती व्यवस्था अन्त्यको सङ्केत हो – यो उनको पहिलो वाक्यको उद्गार हो । शोषक, सामन्त, पुँजीपति र ठूलावडाहरूको प्रतिनिधित्व गर्ने सरकार जनताका छोराछोरीहरूको रगतमा होलि खेल्छ, काम गरी खाने जनता शोषक सामन्तका निम्ति आँखाका कसिङ्गर हुन् । जनताका छोराछोरीहरूको दुःख र पीडा हामीले नै बुझ्नुपर्छ, हामीले नै उनीहरूको सम्मान गर्नुपर्छ । सहिदहरूको रगतले राजदरबारको ढ्याङ्ग्रो ठोक्नेछ । सामन्त र ठूलाहरूलाई सहिदको त्यागले पीडा दिनेछ, उनीहरूलाई दिन रात निद्रा लाग्नेछैन, चिन्तै चिन्तामा उनीहरू छटपटिनेछन् । उनीहरूको अन्त्य अवश्यम्भावी छ । जनआन्दोलनले उनीहरूलाई डाँडा कटाउनेछ । यो नारायण दाइको सारगर्भित विचार हो ।
नारायण दाइको कुरा सुनेर दर्शकहरूको कान ठाडो भयो । पञ्चायती व्यवस्था अन्त्य गर्ने बल मिल्यो । चिसो यामको त्यो रातमा नारायण दाइको विचारले मानिसहरूलाई विचारले तताएर न्यानो पारिरहेको जस्तो भयो । कार्यक्रमको अन्त्यमा सभापति शिक्षक नातिले सभा बिसर्जनको उद्घोषण गरे । सभा बिसर्जनपछि टोलका दाजुभाइ तथा दिदी बहिनीहरू आ–आफ्नो घरतर्फ लागे । सभा राति ११ बजेसम्म चलेको थियो ।
श्रद्धाञ्जली सभाको दिन मञ्चमा राखेको कालोमाटोले बनाएको कृष्णरामको प्रतिमा अहिले पनि सम्झना छ । प्रतिमालाई सजीवको रूपमा सधैँ स्मरण गराउन सजाइने मेरो आशा अहिले पनि मरेको छैन, मरेको छैन ।
(सहिद स्मृति पुस्तकालय गोल्मढीद्वारा ०६७ वैशाख २ गते यातामा आयोजित साहित्य गोष्ठी, सांस्कृतिक कार्यक्रम र शुभकामना साँझमा वाचन गरिएको कथा – सं.)

Leave a Reply

Your email address will not be published. Required fields are marked *