भर्खरै :

२०२५ सम्ममा युद्ध गर्न ताइवानमा अमेरिकी सेना

२०२५ सम्ममा युद्ध गर्न ताइवानमा अमेरिकी सेना

संरा अमेरिकाले ताइवानमा राखेको अमेरिकी सेनाको सङ्ख्या चार गुणा बढाउने भएको छ । चीनले ताइवानलाई आफ्नो भूमि दाबी गरे पनि अमेरिकाले यस्तो निर्णय गरेको हो । अमेरिका चीनविरुद्ध युद्ध भड्काउने जमर्को गर्दै छ । ताइवानमा ऊ सन् २०२२ मा रुसलाई युक्रेनमा हमला गर्न बाध्य बनाएझैँ माहोल बनाउन उद्यत देखिन्छ ।
चीनभन्दा केही माइल टाढा रहेको ताइवानलाई सक्रिय सैन्य अखडा बनाउन संरा अमेरिका कम्मर कसेर लागिपरेको छ । ऊ चीनलाई ताइवान कब्जा गर्न उक्साउँदै छ र भावी युद्धलाई ऊ ‘चिनियाँ आक्रामकता’ को परिणामको रूपमा चित्रण गर्न चाहन्छ ।
यस घटनाक्रमले चिनियाँ अनुसन्धान बेलुनलाई खसाल्ने बाइडेन प्रशासनको आकस्मिक निर्णयलाई अर्थ दिन्छ । यो महिनाको आरम्भमा संरा अमेरिकाले मौसम अध्ययन गर्ने चिनियाँ बेलुनहरूलाई गोली हानेर खसालेको थियो । अमेरिकी इतिहासमा पहिलोचोटि कुनै वस्तुलाई आकाशमा गोली हानियो ।
गोलीप्रहारपछि मिडियामा उन्मादी समाचारहरूको ओइरो लाग्यो । चीनविरुद्ध अमेरिकी जनमानसमा सन्त्रास फैलाउन र युद्धहुँकारको माहोल बनाउन सो घटनालाई खुब उछालियो । चीनविरुद्ध अमेरिकाले गरिरहेको भयावह सैन्य तयारीलाई उचित ठह¥याउन यो माहोलले मलजल ग¥यो ।
यो वर्ष जनवरीमा जनरल माइक मिनिहानले आफूमातहतका लडाकूहरूलाई एउटा पत्र पठाए । उनी वायुसेना परिचालन कमाण्डका प्रमुख हुन् । पत्रमा लेखिएको थियो, “मेरो आँतले मलाई सन् २०२५ सम्ममा हामी लड्नेछौँ भनिरहेको छ ।” सो पत्रमा जनरल माइकले उनीहरूलाई चीनविरुद्ध द्वन्द्वको तयारी गर्न आफ्ना “निजी लेनदेन” मिलाउन पनि आग्रह गरेका थिए ।
गत वर्ष मे र सेप्टेम्बर महिनामा अमेरिकी राष्ट्रपति जो बाइडेनले स्पष्ट भाषामा चीनले ताइवान कब्जा गरे अमेरिका युद्धमा जान तयार रहेको दाबी गरे ।
गत वर्षको अन्त्यतिर अमेरिकाले राष्ट्रिय प्रतिरक्षा अनुमोदन ऐन (एनडीएए) पारित गरेको छ । ताइवानमा सैन्य सङ्ख्या बढाउने निर्णय उक्त ऐन पारित भएपछि आएको छ । ताइवानलाई सिधै सैन्य सहयोग पठाएर अमेरिकाले दसकौँदेखि मान्दै आएको ‘एक चीन नीति’ लाई म्याद सकिएको कागजको खोस्टो बनाइदिएको छ । यस नीतिअन्तर्गत् हालसम्म वासिङटनले ताइवानलगायत समग्र चिनियाँ भूमिमा चीन सरकारको शासनलाई मान्दै आएको थियो ।
अमेरिकी जनतालाई मान्य हुनेछैन भन्ने थाहा भएर नै बाइडेन सरकारले जनताको आँखा छल्दै भित्रभित्रै ताइवानमा अमेरिकी सेनाको व्यापक विस्तार गर्न खोज्दै छ । ह्वाइट हाउसले एकएक पाइला सोचविचार गर्दै चालिरहेको छ । यो बाटोबाट उसले विश्वलाई आणविक युद्धको खतरातिर लग्दै छ । अमेरिकाले ताइवानमा सैन्य सङ्ख्या बढाउने योजना गत बिहीबार ह्वाइट हाउसले प्रेसमा ‘चुहायो’ । यो रिपोर्टबारे ह्वाइट हाउसले कुनै प्रतिक्रिया दिन मानेको छैन । यस विषयमा औपचारिक घोषणा उसले आफूले चाहेको दिन गर्ने नै छ । केही दिन वा केही हप्तापछि यस्तो घोषणा आउनसक्छ । ‘चिनियाँ खतराविरुद्ध तालिमका निम्ति संरा अमेरिकाले ताइवानमा सेना बढाउने’ शीर्षकमा ‘वालस्ट्रिट जर्नल’ ले रिपोर्ट छाप्यो । लेख भन्छ ः “संरा अमेरिकाले ताइवानमा तैनाथ सेनाको सङ्ख्या बढाउँदै छ । त्यहाँको सेनालाई तालिम दिन आफ्नो सैन्य उपस्थिति चौबर वा त्यो भन्दा बढाइने भएको हो ।”
चीनविरुद्ध सैन्य द्वन्द्वको तयारीका निम्ति अमेरिकी बैङ्कपतिहरूका सबै गुटहरू एकजुट भएका छन् । विस्कन्सिन राज्यका रिपब्लिकन प्रतिनिधि माइक ग्यालाहेर अमेरिकी संसद्को चीनसम्बन्धी नयाँ समितिको अध्यक्षमा मनोनित भएका छन् । बिहीबार उनले आफू ‘ताइवानलाई घाँटीघाँटीसम्म हतियारले सुसज्जित गर्न ढिलो भइसकेकोमा विश्वस्त भएको’ उद्घोष गरे ।
चीनविरुद्ध अमेरिकाको युद्ध योजनालाई प्रवद्र्धन गर्न पश्चिमी मिडिया पनि जोडतोडले लागिपरेको छ । यो महिनाको आरम्भमा चक टडले एउटा ‘प्रेस भेला’ लाई सहजीकरण गरे । उनले डेमोक्र्याट सांसद कोरी बुकरलाई सोधे, “ताइवान मामिलामा चीनसँग युद्धको तयारी गर्न सकेको सबै गर्ने कुरामा तपाईंको समर्थन नै हो त ? त्यो तयारीको निम्ति हामीले अझै धेरै गर्न बाँकी हो ?”
‘जर्नल’ ले लेख्यो, “आगमी महिना अमेरिकाले ताइवानमा १०० देखि २०० सैनिकहरू तैनाथ गर्ने योजना बनाएको छ । एक वर्षअघि त्यहाँ झन्डै ३० जनाजति अमेरिकी सैनिक अधिकारी थिए भन्ने अमेरिकी अधिकारीहरूको भनाइ छ । तालिम कार्यक्रममा अझ धेरै सैनिकहरू संलग्न हुनसक्ने विषयमा पेन्टानले प्रचार गर्न चाहेको छैन । पेइचिङलाई आपत्ति नहुने ढङ्गमा ताइपेइको प्रतिरक्षा क्षमता बढाउन अमेरिकाले यस्तो सहयोग दिन थालेको हो ।”
‘जर्नल’ थप लेख्छ, “ताइवानलाई त्यहीँ गएर तालिम दिनेबाहेक मिशिगान नेसनल गार्डले ताइवानी सेनाको एउटा पल्टनलाई अन्य धेरै देशका सैनिकहरूसँगै राखेर क्याम्प ग्रेलिङमा हुने वार्षिक अभ्यासहरूमा पनि तालिम दिइरहेको छ । यो ब्यारेक उत्तरी मिशिगनमा पर्छ । यो तालिम सो ताइवानी पल्टनसँग परिचित प्रशिक्षकहरूबाट दिइनेछ ।”
२०२२ फेब्रुअरीमा रुसले गरेको युक्रेन हमलाको मौका छोपेर संरा अमेरिकाले रुसविरुद्ध मात्र होइन, चीनलाई पनि तारो बनाएर ठूलो मात्रामा सैन्य विस्तार गरिरहेको छ ।
‘एनडीएए’ ऐन अन्तर्गत् गत डिसेम्बरमा संरा अमेरिकी संसदको बहुमतले ८५८ अर्ब डलर बराबरको बजेट विनियोजन गरेको छ । खासमा ह्वाइट हाउसले माग गरेभन्दा यो रकम ४५ अर्ब डलर बढी हो । अझ पेन्टागनले त त्यति ठूलो रकम मागेकै होइन ।
गत वर्षमा यो बजेटमा ८ प्रतिशत बढोत्तरी भएको हो । सन् २०१६ को पेन्टागत बजेटभन्दा यो ३० प्रतिशत बढी हो । गएको १२ महिनामा अमेरिकी जनताको आमदानीको मूल्य ३ प्रतिशत घटेको छ । यस्तो बेला सैन्य बजेट बढ्नु बिडम्बना छ ।
सो ऐनले प्रत्येक सैन्य विभाग र हतियार कार्यक्रमको खर्च बढाइदिएको छ । नयाँ युद्धबेडाको निम्ति अमेरिकी जलसेनाले ३२ अर्ब डलर पाउनेछ । उसले तीनवटा एरलिग बुर्के विमानमारक र दुइटा भर्जिनिया पनडुब्बी खरिद गर्दै छ । साथै पेन्टागनले थप ३६ एफ–३५ विमान किन्ने अनुमति पनि पाएको छ । यसलाई प्रतिविमान झन्डै ८९० लाख डलर पर्छ ।
रिपब्लिकन प्रतिनिधि ग्यालाहेरले भने, “यो वर्ष एनडीएएले चीनविरुद्ध भावी द्वन्द्वको तयारीको निम्ति ठोस पाइला चाल्दै छ । यसको लागि अमेरिकाले ठोस शक्तिमा लगानी गर्दै छ । यो बन्दोबस्तीले हिन्द प्रशान्त क्षेत्रमा अमेरिकाको स्थान सुदृढ पार्नेछ र हाम्रा सहयोगीहरूलाई टेवा दिनेछ ।”
एनडीएएले पहिलोचोटि ताइवानलाई सिधै १० अर्ब डलर बराबरको सैन्य सहयोग दिएर वासिङटनको पहिलाको एक चीन नीति अन्त्य गर्नेछ । यस ऐनका कारण युद्धको बेला गरिने खरिदमा करारको आवश्यकता पर्नेछैन । अमेरिकी सरकारमा रहेका रक्षा ठेकेदारहरूले मनपरी सामग्री खरिद गर्न सक्नेछन् ।
सो ऐनले ताइवानलाई चीनविरुद्ध छद्म युद्धको अग्रमोर्चा बनाउनेछ । जसरी उसले रुसविरुद्ध युक्रेनलाई आफ्नो मोहोरा बनाएको थियो । प्रेस वक्तव्यमा ग्यालाहेरले उक्त ऐनले ‘युक्रेनलाई जस्तै ताइवानलाई सैन्यकरण गर्ने अधिकार प्रदान गरेको’ तथ्यको खुला प्रशंसा गरे ।
अमेरिकाले जथाभावी ताइवानको सैन्यकरण गर्दै छ र चीनविरुद्ध युद्धको तयारी गर्दै छ । युक्रेनलाई अगाडि राखेर रुसविरुद्ध संरा अमेरिकाले गरेको एक वर्ष लामो युद्ध कसरी विश्वभरि डढेलोझैँ फैलिँदै छ भन्ने कुरा पछिल्लो घटनाक्रमबाट स्पष्ट हुन्छ ।
(एमआर अनलाइनबाट)
(U.S. Sends troops to Taiwan after general Threatens war with China by 2025)
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *