भर्खरै :

राजनीति र पानी सम्बन्ध छ र ?

नेपाल संसारमा सिद्धान्तहीन राजनीति गर्ने राष्ट्रमध्ये पहिलो भइरहेको होला अहिले जस्तो लाग्छ । गएको आम निर्वाचनले कुनै एउटा दललाई सरकार बनाउन पर्याप्त हुने गरी विजयी गराएन । यसको तात्पर्य अझै राजनीतिक दलहरूले जनताको राजनीतिक परीक्षामा पर्याप्त समर्थन पाउन सकेनन् । तिमी पार्टीहरू अझै परिपक्व भइसकेका छैनौ । अझै अभ्यास गर भन्ने आदेश दियो । तब नेकपा एमाले र नेकपा माओवादी केन्द्रसमेत धेरै वटा पार्टी मिलेर सरकार बनाए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई सरकारको नेतृत्व दिएर प्रधानमन्त्री बनाए । तर, त्यो शक्ति एक्लैले सरकारको गाडी तान्न नसक्ने ठहरियो । परिणाम अरू पार्टीका नेताहरूलाई उपप्रधानमन्त्री र मन्त्री बनाएर सरकारको गाडी तान्न लगाए । ती पार्टीहरूको सरकारको गाडी तान्ने लय मिलेन । मुलुकको नागरिकतासमेत छोडिसकेका मान्छेसमेत उपप्रधान एवं गृहमन्त्रीजस्ता पदमा नियुक्त भएछन् । मुद्दा प¥यो । मुद्दाले आफ्नो बाटो लियो । संविधान एवं कानुन त्यस्ता व्यक्तिबाट शासित हुन चाहेन । तर, कुनै नेतामा के कहाँ कमजोरी देख्यो । उनीहरूबाट मुक्त हुन खोज्यो । प्रधानमन्त्री प्रचण्डले अल्पमतको सरकार बनाए । संविधानअनुसार एक महिनाभित्र सदनबाट बहुमतको समर्थन आवश्यक हुन्छ अल्पमतको पार्टीले सरकार बनाएको अवस्थामा । प्रचण्ड सरकारले अरू धेरैको समर्थन पायो पायो† नेपाली काङ्ग्रेसको समेत समर्थन पायो । झन्डैझन्डै सर्वसम्मत देखाप¥यो । अब राजनीति झन् नौलो प्रकारको भयो । विदेशी राष्ट्र र दुवै छिमेकी राष्ट्रले आफ्नो हुँदो गर्न खोजे ।
को को सँग को को ?
तब प्रधानमन्त्री माओवादी केन्द्रले दाउ खोल्यो र नेपाली काङ्ग्रेससित हात मिलायो द¥होसँग । कति वर्षपछि सत्ताको साँचो नेपाली काङ्ग्रेसलाई सुम्पने गरी कुरा मिलाए । अब अरू लोकको जसरी नेपालको प्रजातन्त्र नचल्ने भयो संसदीय व्यवस्था । प्रतिपक्ष, प्रमुख प्रतिपक्षसमेत नभएको संसद् हुने भयो झन्डैझन्डै । एउटा नेपाल मजदुर किसान पार्टी नभएको भए हाम्रो संसद् प्रतिपक्षविहीन हुनेरहेछ हाम्रो समाजवादउन्मुख संविधानबमोजिमको सरकार । यस्तो सरकार प्रजातान्त्रिक हुन्छ कि हुँदैन दुनियाँले नै टुङ्ग्याउला । योभन्दा अघि नबढौँ अहिले । अब राष्ट्रपतिको पनि पदावधि सकिन लाग्यो, उपराष्ट्रपतिको पनि । तब को हुने यी दुई पदाधिकारी छिनोफानो हुनुप¥यो हाम्रा पदाकाङ्क्षी नेताहरू धेरै भए । यी नेतालाई राष्ट्रपति हुन जे जस्तो अवस्था पनि सहन तयार भए । नेपाली काङ्ग्रेसका वृद्ध नेता यो देशका प्रधानमन्त्री बन्न १७ पल्ट निर्वाचन लडे तर सबै पल्ट हारे । तैपनि, हार खाएनन् । फेरि त्यो पदप्रतिको लोभलाई बिर्सन सकेनन् । शेरबहादुर देउवा त्यस्तै लुब्ध परे । तब उनलाई अब प्रधानमन्त्री बन्न रामचन्द्र पौडेललाई एउटा पद नदिई भएको थिएन । देउवाले के के गरी राष्ट्रपतिमा रामचन्द्र पौडेललाई एकातिर र अर्कोतिर प्रचण्डलाई समर्थनको दाउ । यी नेताहरूको गतिविधि हेर्दा नेपालको हैसियत सा¥है तल्लो स्तरमा झ¥यो भन्ने लाग्छ । यो खेलमा कुन विदेशी राष्ट्र र छिमेकीको भूमिकामा विश्लेषण बाँकी नै छ ।
नेतालाई लाज लाग्ने दिन आउला ?
को सँग को र को को सँग को को ? कहिलेदेखि कहिलेसम्म ? यो एउटा जटिल प्रश्न भयो नेपालको राजनीतिक अन्तरिक्षमा । कहिले कसको आकाशमा कुन कुन नेताको उदय हुन्छ र कहिले को को अस्तु के भन्न सक्छ ? यस मेसोमा शेरबहादुर देउवा, रामचन्द्र पौडेलदेखि केपी शर्मा ओली, माधव नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल (प्रचण्ड), नारायणकाजी श्रेष्ठदेखि अरू श्रेष्ठ, प्रधान, सिंह, कोइराला, बडाल, गुरुङ, शेर्पा, ठकुरी धोबी, रायमाझी, बिशुङ्खे, विश्वकर्मा, कोइराला, महरा, बोगटी, ज्वाला, केके थर के के ? अब यी यथावत् थर अन्ततः मान्छेबाटै विकसित भएको रहेछ । आज नेता को कति सिद्धान्तनिष्ठ छ । भित्री कोठामा सिङ्गार पक्ष धूमधाम छ । तर, मान्छे केमा के केमा आकर्षण छ त्यो थाहा पाउने मान्छे सफल हुन्छ थाहा नपाउने चाहिँ विफल । अहिले नेपालको राजनीतिक ग्रहमा के के संयोग एवं वियोग जोडिएको त्यसको जोड घटाउ सरल रेखामा छैन । बक्र रेखामा छ । प्रचण्ड र मिस्टर शेरबहादुर कुन कुन ग्रह कुन बक्र रेखामा वा सरल रेखामा कहिले कहिले मिलेर बस्छन् त्यो हिसाब पनि सरल छैन । त्यो तथ्य र तत्र्व प्रचण्ड र देउवा दुवैले पर्याप्त बुझेका छैनन् होला । अनि यी दुवै कान फुकुवाहरू बेलाबेलामा आइ गइरहन्छन् र कान फुकिरहन्छन् । यसरी वस्तुस्थितिमा गहिरिएर ध्यान दिने हो भने आज र भोलिमै के के हुन्छ भन्न सकिँदैन । प्रचण्ड देउवा मिलनको तत्र्व के हो र यो बुटिले कहिलेसम्म काम दिन्छ भन्न सकिँदैन । तपाईं नेताहरूलाई लाज लाग्ने दिन आउला ।
आकाश ब्याउँछ र ?
धेरै दिनपछि काठमाडौँ सहर यो उपत्यकामा अन्त पनि कतै कतै पानी प¥यो । काठमाडौँ उपत्यकामा नै वातावरण गिलो भयो । मान्छेसमेतको जीउमा उत्साहको पालुवा पल्लवित भयो । कस्तो हुन्छ वातावरण । हिजो बिहान उठ्दैदेखि वातावरण नै जाँगरिलो, उत्साहपूर्ण र केही गरौँ गरौँ लाग्ने । यो पानी भन्ने वस्तु साँच्चै प्राण नै रहेछ । प्राणी बाँच्न पनि सर्वप्रथम हावा–वायु नै चाहिने, त्यसपछि पानी । यसर्थ पानीलाई सबैले जोगाउँछन् । उब्जनीको लागि पानी, बढ्न, हुर्कनको लागि पानी, पाक्नको लागि पानी, जोगिनको लागि, उम्रनको लागि पानी, बढ्नको लागि पानी, खानको लागि पानी, चुठ्नको लागि पानी, हुनको लागि पानी, नहुनको लागि पानी । कस्तो वस्तु रहेछ पानी, पानी नभई नहुने । धेरै भए मार्ने, हुँदै नभए पनि मार्ने । ठीक्क चाहिने । यही पानी धेरै दिन आएन आकाशबाट । मान्छेको जाँगर नै म¥यो, उत्साह नै म¥यो । त्यही अमूल्य पानी आउनुपर्ने बेलामा आएन आकाशबाट । तब म अस्ति आकाशबाट पानी आएपछि यति भावुक, यति भावुक भएछु आकाश ब्यायो पो लेखेछु । आकाश पनि ब्याउँछ र कतै ? यो उत्साह ल्याएको हो । यसरी मान्छे बढी उत्साहित भयो भने ऊ के के लेख्छ के के । यस विषयमा एकछिन गम्भीर हुने कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *