सरकार सुशासनको वकालत गर्छ, प्रदेश र स्थानीय सरकारको अधिकारमाथि हस्तक्षेप गर्छ
- बैशाख ३१, २०८३
मानिस कुनै पनि बेला दुर्घटनामा पर्न सक्छ, जटिल रोगहरूबाट ग्रसित हुन सक्दछ । आफूसँग भएको जायजेथाले उपचार गर्न नभ्याउने अवस्था मानिसमा आईपर्दछ । यस्तो अवस्थामा नागरिकलाई राज्यको सहयोग सहयोग खाँचो पर्दछ । तर धेरै मानिसहरू सामान्य रोगहरू पालेर बस्न बाध्य छन् । समयमै उपचार पाउन नसकेर, पैसा तिरेर उपचार गर्न नसकेर मृत्युवरणसम्म मानिसले भोग्नुपरेको छ ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत पीडित विरामीको स्वास्थ्य उपचारको निम्ति मानिसहरू पैसा जम्मा गर्ने चलन चलेको छ । मानवीय हितको भावनाले धेरै राम्रो हो । हाम्रा जनप्रतिनिधिहरू पनि सामाजिक सञ्जालमा हारगुहार गरेर नागरिकहरूसँग पैसा उठाएर बिरामीको उपचार गराउन अग्रसर नै देखिन्छन् । कुनै राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधि पार्टीको घोषणापत्रअनुसार नागरिकलाई सेवा सुविधा दिन अघि सर्नुपर्दछ । उपचार नपाएकालाई स्वास्थ्य उपचार दिलाउन जनप्रतिनिधि र जिम्मेवार व्यक्तिहरू केन्द्र सरकारलाई दबाब दिन लाग्नुपर्दछ । पार्टीको घोषणापत्रमा कुनै पनि नागरिक स्वास्थ्य उपचारबाट बञ्चित हुनुनपर्ने, शिक्षा पाउनबाट विमुख हुनुनपर्ने भन्ने तर नागरिक बिरामी पर्दाखेरी खर्च जुटाउन हारगुहार गर्नु उचित ठरिँदैन । जनताले हरेक पालापाइलामा राज्यलाई कर तिरेका छन् । आधारभूत आवश्यकताअन्तर्गत स्वास्थ्य, शिक्षालगायत सेवाहरू राज्यले नागरिकलाई उपलब्ध गराउन सक्नुपर्दछ ।
धादिङस्थित बेनिघाट रोराङ गाउँपालिका–१० का निर्माण चेपाङ चिउरी खान जाँदा चिउरीको रूखबाट लडेर हात भाँचेको र महिनादिनसम्म घरमै धामीझाँक्री लगाएर बस्दा एउटा हातै गुमाउनु परेको र थप उपचारको निम्ति भनी सो वडाका वडा अध्यक्ष विकास चेपाङ खर्च जुटाउन सामाजिक सन्जालमार्फत लागिपरेका छन् । त्यस्तै, बेनिघाट रोराङ गाउँपालिका–७ का सीताराम विश्वकर्मा उच्च रक्तचापका कारण केही पक्षघात र टाउकामा ब्लड जम्न पुगेकोले उपचार खर्च जुटाउन सो वडाका वडाअध्यक्ष कुमार बस्नेत पनि सामाजिक सन्जालमार्फत लागिपरेका छन् । उक्त गाउँपालिकाका अध्यक्ष विवेक थपलियाले पनि दुबै बिरामीलाई व्यक्तिगत रूपमा सहयोग गरेर मानवीय भावना प्रकट गरे ।
हाम्रा सार्वजनिक अस्पतालहरू पनि छन् । गरिव बिरामीहरूको निःशुल्क उपचार गराउन ती सरकारी अस्पतालमा हामी किन जोड दिंदैनौँ ? सरकारी अस्पतालले गरिव विरामीहरूलाई निःशुल्क स्वास्थ्य उपचार दिनुपर्दछ । जिम्मेवार निकायहरूको यतातिर किन ध्यान जाँदैन ? खोजीको विषय छ । जनताको हित चाहने हो भने आवश्यकता अनुसार स्वास्थ्य सेवाको विस्तार गर्न राज्य लाग्नुपर्दछ । सीताराम विश्वकर्मा र निर्माण चेपाङजस्ता धेरै मानिसहरू आज स्वास्थ्य उपचार नपाएर छपटाउनु परिरहेका छन् । उपचार सहयोगमा जुट्नेहरू धन्यवादका पात्र हुनुहुन्छ । सबै बिरामीले समान रूपमा स्वास्थ्य सेवा–सुविधा पाउन भनी सचेत नागरिकहरू राज्यलाई दबाब दिनपट्टि लाग्नु ढिला गर्नुहुँदैन ।
Leave a Reply