शक्तिको आडमा गलत निर्णय गर्न नहुने
- बैशाख ३१, २०८३
राष्ट्रपति चयनको सन्दर्भलाई लिएर एमाले सम्मिलित माओवादीको नेतृत्वमा रहेको गठबन्धन भत्किएको छ । माओवादी केन्द्रले ‘राष्ट्रिय सहमति’ भन्दै नेकाका प्रतिनिधिलाई राष्ट्रपति बनाउने सहमति जनाएसँगै उक्त गठबन्धन भत्किने सङ्केत देखिएको हो । त्यही सङ्केतका कारण एमालेका मन्त्रीहरूले प्रम दाहालसमक्ष राजीनामा दिए । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका मन्त्रीहरूले राजीनामा गरिसकेका थिए । एमालेले वर्तमान सरकारप्रतिको समर्थन पनि फिर्ता लिइसकेको छ । राष्ट्रपतिको लागि नेकाले रामचन्द्र पौडेल र एमालेले सुवास नेवाङलाई उम्मेदवार बनाएका छन् । बहुमतको आधारमा दुईमध्ये एक राष्ट्रपति चयन हुनेछ ।
महत्र्वपूर्ण कुरा राष्ट्रपति चयन हुनु होइन । निर्वाचित राष्ट्रपतिले देश र जनताको पक्षमा कस्तो भूमिका निर्वाह गर्छ भन्ने प्रश्न महत्र्वपूर्ण हो । निर्वाचित राष्ट्रपति मन्त्रिपरिषद्को बैठकले जे निर्णय गरे पनि आँखा चिम्लेर हस्ताक्षर गर्ने भयो भने देश कहाँ पुग्छ ? राष्ट्रपति संविधानको पालक, संरक्षक मात्र भएर पुग्दैन सरकारले विदेशी हस्तक्षेप बढ्ने, देशको स्वाधीनता र सार्वभौमिकतामा आँच पु¥याउने निर्णय गरेमा रोक्ने या फिर्ता पठाउने देशभक्त हुनु पनि जरुरी छ । सीमा अतिक्रमण रोक्न, मिचिएको जग्गा फिर्ता लिन, कालापानीमा रहेका भारतीय सेना फिर्ता लाने विषयमा कूटनीतिक पहल गर्ने राष्ट्रपति देशको लागि आवश्यक छ । विदेशी चलखेलको विरोध गर्ने र असमान सन्धि सम्झौता खारेज गर्न पहल गर्ने राष्ट्रपति देशको लागि खाँचो छ ।
राष्ट्रपति सम्मानित र मर्यादित पद हो । सरकारले देशलाई दूरगामी असर पु¥याउने काम गरेमा, सरकारले बाटो बिराएमा खबरदारी गर्ने राष्ट्रपति देशको लागि आवश्यक छ । देशको संवैधानिक राष्ट्रपति कुनै दल विशेष या सरकारको नेता हुनुहुँदैन । आफ्नो पक्षको सरकार भनी सरकारको जस्तोसुकै निर्णयमा आँखा चिम्ली हस्ताक्षर गर्ने राष्ट्रपति देश र जनताको राष्ट्रपति हुनेछैन । करको जथाभावी दुरूपयोग गर्ने, भ्रष्टाचारी, कालाबजारी, मानव बेचबिखन गर्ने अपराधीहरूलाई सजाय मिनाहा दिने राष्ट्रपति दलले रोज्नु हुँदैन । राष्ट्रपति कहीँ कतै प्रस्थान गर्दा, कार्यक्रममा सरिक हुँदा घण्टौँ जाम गरेर नेपालीको जीवनमा असर पार्ने राष्ट्रपति नेपालीलाई मनपर्दैन । राष्ट्रपति सरकारको बुँख्याचा (कठपुतली) हुनुहुँदैन । राष्ट्रपति जस्तोसुकै ऐन कानुन, विधेयक पारित गरेर आम जनतामाझ गलत सन्देश दिने संवाहक बन्नु हुँदैन । आफ्नो पद, इज्जत, प्रतिष्ठामा आँच पु¥याउने, राष्ट्रपतिकै कारण देश विदेशमा गलत सन्देश प्रवाह गर्ने अदूरदर्शी र सङ्कीर्ण विचारको हुनुहुँदैन । राष्ट्रपति जहिल्यै दूरदर्शी हुनुपर्छ† देशभक्त हुनुपर्छ† देश र जनताप्रति जिम्मेवार हुनुपर्छ ।
Leave a Reply