भर्खरै :

स्वस्थ आहार, आरोग्यको आधार

स्वस्थ आहार, आरोग्यको आधार

चिकित्सा विज्ञान, पोषण, सरसफाइ, अनुवांशिक एवं वातावरणीय पक्ष र जीवनशैलीमा आएको परिवर्तनले मानिसको आयु पछिल्लो एक शताब्दीमा करिब दोब्बर भएको छ । तर, रोग एवं औषधिरहित उत्पादनशील आयु (हेल्थस्पान) भने सोअनुसार बढेको छैन । केही दशक अघिसम्म बुढ्यौलीका रोगको रूपमा चिनिएका उच्च रक्तचाप एवं मुटुरोग, मधुमेह, क्यान्सर आदि रोगहरू हिजोआज युवावस्थामै सामान्य भइसकेको छ । जसले व्यक्तिको जीवनको गुणस्तर, उत्पादन र उत्पादकत्वमा ¥हास ल्याएको छ । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार विश्वका करिब दुईतिहाइ मानिसको मृत्यु नसर्ने रोगबाट हुन्छ । जसको करिब आधा मृत्यु अल्पायुमा हुन्छ । सन् २०१९ को तथ्याङ्कअनुसार नेपालमा ७१ प्रतिशत मानिसको नसर्ने रोगबाट अल्पायुमा मृत्यु भयो, जसमध्ये ३० प्रतिशतको मुटुजन्य रोगबाट, १० प्रतिशतको दीर्घ श्वासप्रश्वासको रोगबाट, ९ प्रतिशतको क्यान्सरबाट, ४ प्रतिशतको मधुमेहबाट र १३ प्रतिशतको अन्य नसर्ने रोगबाट मृत्यु भएको देखिन्छ । यी नसर्ने रोगहरू जीवनशैलीजन्य मेटाबोलिक समस्या हुन, जुन स्वास्थ्य प्रतिकूल आहार, विहार, विचार र व्यवहारको कारणले लाग्दछ ।
पोषण विज्ञानमा ‘वि आर ह्वाट वि इट’ भनिन्छ । आयुर्वेद विज्ञान (चरकसंहिता) मा ‘आहारसम्भव वस्तु रोगाश्च आहारसम्भवाः’ अर्थात् आहारले नै स्वस्थ जीवन र रोग दुवैको निर्धारण गर्दछ भनिएको छ । आधुनिक चिकित्सा विज्ञानका पिता हिपोक्रेट्सले ‘लेट फुड वि द मेडिसिन’ अर्थात् आहार नै औषधि हो भनेका छन् । खाद्य पदार्थको औद्योगिकीकरण र व्यापारीकरणसँगै बढ्दो प्रशोधित आहारको उपलब्धता र उपयोगले विश्वभरि नै नसर्ने रोग महामारीको रूपमा फैलिएको छ । विशेषगरी प्रशोधित वनस्पतिजन्य तेल, चिनी, मैदा, ट्रान्स फ्याट र नुन एवं यिनीहरूबाट निर्मित तयारी ठोस एवं पेय आहार सेवन नसर्ने रोगको मुख्य कारण हो भनी वैज्ञानिक अध्ययन अनुसन्धानबाट प्रमाणित भएको छ । आरोग्यको लागि आहारको चर्चा गर्दा निम्न तीन प्रश्नमा केन्द्रित हुन जरुरी देखिन्छ ।

१. के खाने ? (आहारको स्रोत)
करिब दुई करोड वर्षको इतिहास भएको मानव समुदायले ढुङ्गे युग, कृषि युग हुँदै आजको औद्योगिक एवं प्रविधिको युगसम्म आइपुग्दा आहारको स्रोत फरेस्ट (जङ्गल), फिल्ड (जमिन) हुँदै फ्याक्ट्री (उद्योग) भएको छ । यसरी आहारको स्रोतमा परिवर्तन आउँदा आहारमा यी चार बायोकेमिकल परिवर्तन भएको पाइन्छ ।
१. निम्न ग्लाइसेमिक इन्डेक्सबाट उच्च ग्लाइसेमिक इन्डेक्सयुक्त
२. ओमेगा ३ र ६ को अनुपात १ः१ बाट १ः२०,
३. सोडियम र पोटासियमको अनुपात १ः१ बाट १०ः१ र
४. एन्टि इन्फ्लामेटरी (सुजन प्रतिरोधी) बाट इन्फ्लामेटरी (सुजनकारक) ।
चिनी, मैदा, प्रशोधित तेल र अन्नको अधिक प्रयोगले यो अवस्था गराएको हो । जसले कोषिका तहमा दीर्घ सुजन (क्रोनिक इन्फ्लामेसन), अक्सिडेटिभ स्ट्रेस, इन्सुलिन रेसिस्टान्स, माइटोकोन्ड्रियल डिस्फङसन, गट डिस्बायोसिस, ग्लाइकेसन, मेम्बे्रन इनस्टाबिलिटी र इपिजिनेटिक चेन्ज गराउँदछ, जुन सम्पूर्ण नसर्ने रोगहरूको वास्तविक कारण हो । यो मुख्यतः प्रशोधित आहारको कारणले हुन्छ र सही आहार सेवनबाट मात्र सुधार गर्न सकिन्छ । हालसम्म औषधिहरूबाट कोषिका तहमा हुने यी परिवर्तनहरू खासै सुधार गर्न सकिएको छैन । नसर्ने रोगहरूमा औषधि सेवनबाट लाक्षणिक लाभ हुने र लामो समयसम्म सेवन गर्नुपर्ने कारण पनि यही हो ।
पछिल्लो समय भएका वैज्ञानिक अध्ययन अनुसन्धानले आहारको सङ्गठन (कार्बोहाइड्रेट, प्रोटिन र फ्याट) भन्दा आहारको स्रोतले स्वास्थ्य निर्धारण गर्न बढी भूमिका खेल्ने देखाउँछ । संसारकै स्वस्थ मुटु भएका मानिसको रूपमा प्रमाणित बोलिभियाको अमेजन क्षेत्रका आदिवासीहरूले ७२ प्रतिशत कार्बोहाइड्रेट, १४ प्रतिशत प्रोटिन र १४ प्रतिशत फ्याट सेवन गर्दछन् । त्यसैगरी, तान्जानियाका हाड्जा आदिवासीहरूले ६५ प्रतिशत कार्बोहाइड्रेट, २५ प्रतिशत प्रोटिन र ११ प्रतिशत फ्याट सेवन गर्दछन् । त्यसैगरी मुटु एवं स्वास्थ्यका लागि उपयुक्त ठानिएको मेडिटेरियन डाइटमा ४३ प्रतिशत कार्बोहाइड्रेट, १३ प्रतिशत प्रोटिन र ४२ प्रतिशत फ्याट हुन्छ भने धेरै शताब्दी मानव बस्ने जापानको ओकिनावाको परम्परागत आहारमा ८५ प्रतिशत कार्बोहाइड्रेट, ९ प्रतिशत प्रोटिन र ६ प्रतिशत फ्याट हुन्छ । कृषि युगमा प्रवेश गर्नुअघि मानव पुर्खाले ६५ प्रतिशत वनस्पतिजन्य र ३५ प्रतिशत जनावरजन्य स्रोतबाट ४५ प्रतिशत कार्बोहाइड्रेट, ३४ प्रतिशत प्रोटिन र २१ प्रतिशत फ्याट सेवन गरेको देखिन्छ । हाल मेटाबोलिक डिजिजहरूमा प्रभावकारी देखिएको लो कार्ब डाइटमा ५ प्रतिशत कार्बोहाइड्रेट, २५ प्रतिशत प्रोटिन र ७० प्रतिशत स्वस्थकर चिल्लो हुन्छ । हार्वड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले स्वास्थ्यको लागि कार्बोहाइड्रेट, प्रोटिन र फ्याटको उपयुक्त अनुपात तयार गर्न मुसामा अध्ययन गर्दा आहारको स्रोत प्राकृतिक हुँदाजस्तो अनुपात पनि स्वस्थकर पाइयो भने आहार प्रशोधित हुँदा हाल सिफारिस गरिएको अनुपातले पनि कार्डियोमेटाबोलिक डिजिज गराउने पाइयो । उपयुक्त आहारहरूमा कार्बोहाइड्रेट, प्रोटिन र फ्याटको अनुपात फरक हँुदा पनि स्वस्थकर हुनुको कारण स्रोत प्राकृतिक हुनु, उच्च मात्रामा फाइवर र भिटामिन सिलगायत माइक्रोन्युट्रियन्ट पर्याप्त हुनु हो, जुन आधुनिक आहारमा छैन ।
आधुनिक आहार एवं पाक संस्कृतिमा चिनी, रिफाइन्ड (सिम्पल) कार्बनको प्रयोग बढी छ, जुन हाम्रो पुर्खाले सेवन गरेको थिएनन् । यस्ता उच्च ग्लाइसेमिक इन्डेक्सयुक्त आहार सेवनबाट शरीरमा धेरै ग्लुकोज पैदा हुन्छ र रगतमा पुग्छ । उक्त उच्च ग्लुकोजको अनुपातमा प्यान्क्रियाजबाट बढी इन्सुलिनको उत्पादन (हाइपरइन्सुलिनेमिया) हुन्छ । इन्सुलिनले ग्लुकोजलाई कोषभित्र पठाउनुको साथै बढी (खर्च नभएको) ग्लुकोजलाई फ्याटमा रूपान्तरण गरी पेटमा (इक्टोपिक फ्याट) भण्डारण गर्दछ । हाइपरइन्सुलिनेमियाको अवस्था रहिरहेमा कालान्तरमा इन्सुलिनप्रति कोषहरूको प्रतिक्रिया देखाउन छोड्छ अर्थात् इन्सुलिन रेसिस्टान्स हुन्छ । हाइपरइन्सुलिनेमिया र इन्सुलिन रेसिस्टान्सले फ्याटी लिभर, मोटोपना, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, पीसीओडी, मुटुजन्यरोग, क्यान्सर, अल्जाइमर्स, थाइरोइड डिसअर्डर, प्रोस्टेटको वृद्धि आदि रोगहरू गराउँदछ । अतः चिनी, मैदा, सेतो चामल, हाइ फ्रुक्टोज कर्न सिरपजस्ता उच्च ग्लाइसेमिक इन्डेक्सयुक्त पदार्थबाट निर्मित ठोस एवं पेय आहार सेवन नियमित र धेरै गर्नु उल्लेखित रोगहरू निम्त्याउनु हो ।
सन १९५० को दशकबाट मुटुरोग (हर्ट एटेक) बढ्दै जादा त्यसको कारणको रूपमा चिल्लो (स्याचुरेटेड फ्याट र कोलेस्टेरोल) लाई प्रस्तुत गरियो । विशेषगरी एनसेल किजको सेभेन कन्ट्रि स्टडी र फेमिङहम हर्ट स्टडीबाट स्याचुरेटेड फ्याट, कोलेस्टेरोल र मुटुरोगको सम्बन्ध स्थापित गरियो । त्यहीअनुरूप सन् १९७७ मा न्यून चिल्लो (न्यून स्याचुरेटेड फ्याट) युक्त आहार सिफारिस गरिएको अमेरिकी डायटरी गाइडलाइन आयो र मानिसहरूको आहारबाट चिल्लो व्यापकरूपमा कटौती भयो, जसको स्थान चिनी, प्रशोधित वनस्पति तेल (पोलिअनस्याचुरेटेड फ्याट) र प्रशोधित आहारले लियो । फलतः समस्या झन् तिव्ररूपमा बढ्दै गयो । पछिल्लो २ दशकदेखि भएका वैज्ञानिक अध्ययन अनुसन्धानहरूले हर्ट एटेकलगायतका कार्डियोमेटाबोलिक डिजिजको कारणको रूपमा चिनी, उच्च ओमेगा ६ युक्त प्रशोधित वनस्पतिजन्य तेल र प्रशोधित आहारलाई जिम्मेवार देखाएका छन् । चिल्लोहरूमा ट्रान्स फ्याट सबैभन्दा नराम्रो मानिन्छ, जसले शरीरमा नराम्रो कोलेस्टेरोल (एलडीएल) बढाउँछ र राम्रो कोलेस्टेरोल (एचडीएल) घटाउँछ । पुनः तताइएको तेल र वनस्पति घ्यु ट्रान्स फ्याटको प्रमुख स्रोत हो, जुन खाद्य उद्योग र (अधिकांश) होटेलहरूले प्रयोग गर्दछन् । पहिले पोलिअनस्याचुरेटेड फ्याटयुक्त वनस्पति तेल राम्रो भनी प्रचार गरिएको भए पनि तिनीहरू प्रशोधितरूपमा उपलब्ध हुने र ओमेगा ६ को मात्रा उच्च हुने भएकोले हाल मुटुलगायत नसर्ने रोगको ड्रात्रको रूपमा चिनिन्छ । मानव पुर्खाहरूको आहारमा ओमेगा ३ र ६ को अनुपात १ः१ र शरीरमा ओमेगा ६ करिब १० प्रतिशत मात्र रहेकोमा हाल आहारमा यो अनुपात १ः२० भन्दा बढी र शरीरमा करिब २५ प्रतिशत रहेको छ । ओमेगा ६ बाट शरीरमा प्रोस्टाग्लान्डिन २, प्रोस्टाग्लान्डिन इ २, प्रोस्टाग्लान्डिन १२, थ्रोम्बोक्सेन ए २, ल्युकोट्राइन बि ४, ल्युकोट्राइन सि ४ ल्युकोट्राइन इ ४ आदिजस्ता इन्फ्लामेटरी केमिकल्सहरू बन्दछ, जसले रक्तनली एवं शरीरमा सुजन, रक्तनली साँघुरो बनाउने, प्लेटलेट एकीकृत गर्नेजस्ता कार्यहरू गर्दछ , जुन मुटुरोगको कारण हो । जबकि ओमेगा ३ बाट रिजोल्भिन, प्रोक्टेटिन, प्रोस्टाग्लान्डिन वि ३, प्रोस्टाग्लान्डिन डि ३, प्रोस्टाग्लान्डिन ई ३, थ्रोम्बोक्सेन ए ३ जस्ता केमिकल्सहरू बन्दछ, जसले ओमेगा ६ को विपरीत कार्य गरी मुटु, स्नायु र प्रतिरक्षा प्रणालीलाई स्वस्थ राख्दछ । विश्व स्वास्थ्य सङ्गठनले स्वस्थकर आहारमा ओमेगा ३ र ६ को अनुपात १ः१.२५ तोकेको छ । यो अनुपात घ्युमा १ः१.५, तोरीको तेलमा १ः२, सूर्यमुखी तेलमा १ः१०, ओलिभ तेलमा १ः१२, मकैको तेलमा १ः४६, भटमासको तेलमा १ः१६, घाँस खाएको (चरेको) जनावरको मासुमा १ः७ र अन्न (दाना) खाएको जनावरको मासुमा १ः१५ हुन्छ । नरिवल तेलमा भने मिडियम चेन फ्याटी एसिड बढी हुन्छ, जुन स्वस्थकर हुन्छ । अतः नेपाली परिवेशमा चिल्लोको रूपमा घ्यु र तोरीको तेल (कोलमा परम्परागत तरिकाले पेली निकालिएको, प्रशोधित हैन) सबैभन्दा उपयुक्त र स्वस्थकर देखिन्छ ।
हाल परम्परागत एवं अर्गानिक खेती प्रणाली (रैथाने बीउबिजन र प्राङ्गारिक मल प्रयोग हुने) लोप हुँदै गएको छ भने आधुनिक खेती प्रणाली (हाइब्रीड बीउबिजन, केमिकल फर्टिलाइजर र कीटनाशक विषादि प्रयोग हुने) व्यापकरूपमा बढ्दो छ । आधुनिक खेती प्रणाली उत्पादन र उत्पादकत्वको हिसाबले बढ्दो खाद्य माग धान्न उपयुक्त भए पनि स्वास्थ्यको हिसाबले उपयुक्त देखिँदैन । यसर्थ, औद्योगिक र आधुनिक खेती प्रणालीका उत्पादनहरूबिच पनि स्वस्थकर सही विकल्प छनोट गर्न जान्नु आवश्यक छ । जस्तैः चिनीको सट्टा खुदो (गुड), सेतो नुनको सट्टा सिधेनुन, सेतो चामलको सट्टा खैरो चामल (ब्राउन राइस), प्रशोधित अन्नको सट्टा पूर्ण अन्न (होल ग्रेन), मैदाको सट्टा परम्परागत पिठो, दूधको सट्टा दही र मोही, प्रशोधित तेलको सट्टा परम्परागतरूपमा कोलमा पेली निकालिएको तेल, फ्याक्ट्रिको सट्टा फिल्ड र फरेस्टको आहार, बधुवा र अन्न खाएको जनावरको मासुको सट्टा चरेको र घाँस खाएको जनावरको मासु, पोखरीको माछाको सट्टा खोला नदीको माछा आदि ।

२. कति खाने ? (आहारको परिमाण)
अमेरिकी डायटरी गाइडलाइन २०१० को माइप्लेट रिकोमेन्डेसनअनुसार थाली (लगभग १० इन्चको) को आधा भाग फलफुल र तरकारी, एकचौथाइ अन्न र एकचौथाइ प्रोटिन हुनुपर्छ । आयुर्वेदको मतानुसार आमाशयको आधा भाग ठोस आहार, एकचौथाइ तरल आहार सेवन गरी एकचौथाइ भाग रिक्त छोड्नुपर्दछ । आहार सेवनको समयमा निस्कने विभिन्न हर्मोनहरू जस्तै घ्रेलिन, कोलेसिस्टोकाइनिन, लेप्टिन आदिले अघाएको वा पेट भरिएको सन्देश दिमागमा पु¥याउँदछ जुन पेट भरिएको २० देखि ३० मिनेटपछि मात्र दिमागमा पुग्दछ । यसर्थ, पेट पूरा भरिएको अनुभूति हुनुभन्दा पहिले नै आहार सेवन बन्द गर्नुपर्दछ । आयुर्वेद एवं योग विज्ञानमा मिताहार अथवा थोेरै मात्रामा (क्यालोरी रेस्ट्रिक्सन) आहार सेवन गर्न भनिएको छ । पोषण विज्ञानको अनुसार शारीरिक गतिविधिको ख्याल गरी आवश्यक क्यालोरी (औसत २००० देखि २५०० क्यालोरी प्रतिदिन) उपलब्ध हुने गरी आहार सेवन गर्नुपर्दछ । क्यालोरी खर्च दिनमा बढी हुने भएकोले बिहान र मध्याह्नको आहारबाट दुईतिहात्न्दा बढी क्यालोरी पूर्ति हुने गरी सेवन गरी साँझको आहार हलुका र सुपाच्य बनाउनुपर्दछ । स्टेप सर्भे २०१९ को तथ्याङ्कअनुसार नेपालमा ९६.६ प्रतिशत मानिसले आवश्यक मात्रामा सागपात र फलफुल ( ५ सर्भिङ वा ४०० ग्राम प्रतिदिन) सेवन गर्दैनन् भने दैनिक ५ ग्रामभन्दा कम सेवन गर्नुपर्ने नुन ९.१ ग्राम सेवन गर्दछन् । सागपात र फलफुल भिटामिन, मिनरल्स र फाइबरको प्रमुख स्रोत हो, जसले शरीरमा अक्सिडेटिभ स्ट्रेस घटाई नसर्ने रोगबाट बचाउने र रोग प्रतिरोधात्मक क्षमता बढाई जीवाणुसँग लड्न सघाउँछ । अतः स्वस्थ जीवनको लागि इन्द्रेणी रङ समावेश हुने गरी सागपात र फलफुल प्रतिदिन ४०० ग्राम खान आवश्यक छ ।

३. कहिले खाने ? (भोजनको समय)
पछिल्ला अध्ययन अनुसन्धानहरूले आहार के, कति खानेभन्दा कहिले खाने बढी महत्वपूर्ण हुने देखाएको छ । जर्नल अफ क्लिनिकल इन्डोक्राइनोलोजी एन्ड मेजाबोलिज्म, २००५ मा प्रकाशित एक अनुसन्धानअनुसार मानिसमा भोक लगाउने घ्रेलिन हर्मोन २४ घण्टामा ३ पटक, बिहान ८ बजे, मध्याह्न १२ देखि १ बजेसम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म बढी स्राव हुने देखिएको छ, जसको प्रभाव २ घण्टासम्म रहन्छ । अतः यही हर्मोनल घडीअनुसार आहार सेवन गरेमा मेटाबोलिक हेल्थ स्वस्थ रहन्छ । साथै प्यान्क्रियाजबाट इन्सुलिनको स्राव र कोषहरूको इन्सुलिन सेन्सिटिभिटी अपराह्नपछि क्रमशः घट्दै जान्छ । जैविक घडी (सिर्काडियन क्लक) अनुसार रातिको ९ बजेबाट मेलाटोनिनको स्राव बढ्दछ जसले निन्द्रा लगाउँदछ र शरीरका अङ्गहरू आराम अवस्थामा जान्छन् । राति १०ः३० बजेबाट पेट एवं आन्द्राहरूको गतिविधिमा कमी आउँछ । अतः रातिको आहार सकभर ९ बजे वा ढिलोमा १०ः३० बजेसम्म पचिसक्ने गरी सेवन गर्नुपर्दछ । यसरी हेर्दा रातिको आहार हलुका र ६ बजेदेखि ७ बजेभित्र लिनु उपयुक्त देखिन्छ । जर्नल अफ इन्टरनल मेडिसिन, २०१९ मा प्रकाशित एक अध्ययनअनुसार मेटाबोलिक सिन्ड्रोम (मोटोपना, उच्च रक्तचाप, मधुमेह र डिस्लिपिडेमिया) को मुख्य कारण सिर्काडियन क्लकको पालना नहुनु हो । पोषण वैज्ञानिक गेर्डा पोटले बेलायतमा ५००० भन्दा बढी मानिसको आहार सेवन गर्ने र सुत्ने समयको अध्ययन गर्दा सधैँ एकै समयमा आहार सेवन नगर्ने र राति नसुती काम गर्ने मानिसहरूमा क्रोनिक फ्याटिक सिन्ड्रोम, पेटको रोग, मोटोपना, डाइबेटिज र मुटुसम्बन्धी रोग बढी हुने पाएका थिए । यसैगरी, फिजियोलोजी एन्ड बिहाभिअर जर्नल, २०१४ मा मोटोपनालगायतका मेटाबोलिक डिजिज र आहार सेवनको समयको सम्बन्ध रहेको तथ्य स्पष्ट पारिएको छ । एकै प्रकारको आहार मुसाहरूको एक समूहलाई सिर्काडियन क्लकअनुसारको समयमा र अर्को समूहलाई सिर्काडियन क्लक प्रतिकूल समयमा ४ हप्तासम्म सेवन गराउँदा सिर्काडियन क्लक अनुकूल आहार सेवन गर्ने मुसाहरू मेटाबोलिकल्ली स्वस्थ पाइए भने प्रतिकूल समयमा सेवन गर्ने मुसाहरू मोटो एवं मेटाबोलिकल्ली अस्वस्थ पाइयो । एडभान्स इन न्युट्रिसन जर्नल, २०२२ मा प्रकाशित एक मेटा एनालाइसिस अध्ययनअनुसार अर्ली क्रोनोटाइप (राति छिटो खाना खाई छिट्टै सुत्ने र बिहान छिट्टै उठ्ने) मानिसहरूमा भन्दा लेट क्रोनोटाइप (राति ढिलो खाना खाई ढिलो सुत्ने र बिहान ढिलो उठ्ने) मानिसहरूमा डायबेटिज ३० प्रतिशत, क्यान्सर १८ प्रतिशत र डिप्रेशन ८६ प्रतिशत बढी हुने पाइएको छ । यसैगरी, जर्नल अफ क्लिनिकल इन्डाक्राइनोलोजी एन्ड मेटाबोलिज्म, २०१५ मा प्रकाशित एक अध्ययनले अर्ली क्रोनोटाइप मानिसहरूमा भन्दा लेट क्रोनोटाइप मानिसहरूमा मेटाबोलिक सिन्ड्रोम ७४ प्रतिशतले बढी हुने देखाएको छ । जर्नल अफ हुम्यान न्युट्रिसन एन्ड डाडटेटिक्स, २०१३ मा प्रकाशित अनुसन्धानअनुसार साँझ ५ बजेपछि दिनभरिको क्यालोरीको ३३ प्रतिशतभन्दा बढी सेवन गर्नेहरू मानिसहरूमा सोही समयमा ३३ प्रतिशतभन्दा कम क्यालोरी लिने मानिसहरूको तुलनामा मोटोपनाको समस्या २ गुणा हुन्छ । जैविक घडीअनुसार आहार सेवन गर्दा १० देखि १२ घण्टाको फिडिङ विन्डो र सोही बराबरको फास्टिङ विन्डो हुन्छ वा छोटो अवधिको इन्टरमिटेन्ट फास्टिङ हुन्छ । फास्टिङको अवधिमा शरीरमा हुने फिजियोकेमिकल परिवर्तनले मेटाबोलिक डिजिज लाग्नबाट बचाउनुको साथै फास्टिङ अवधि लामो बनाएमा निको पार्नसमेत सहयोग गर्दछ ।
अन्तमा निष्कर्षमा भन्नुपर्दा रिजनल, सिजनल र ओरिजिनल आहार आवश्यक मात्रामा बिहानको ८ बजे, मध्याह्न र साँझ सूर्यास्तको समयमा सेवन गर्नु स्वस्थ जीवनको आधार हो । नसर्ने रोगको महामारी बढिरहेको परिप्रेक्ष्यमा सिर्काडियन क्लकको पालन गरी स्वस्थ आहार, पर्याप्त व्यायाम र विश्रामको साथै तनाव व्यवस्थापन गर्नु रोगको रोकथाम र उपचारको लागि अत्यन्त जरुरी छ । यसो गरेमामात्र मानिसको लाइफस्पान र हेल्थस्पान बराबर भई आरोग्य प्राप्ति हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *