भर्खरै :

निःस्वार्थ समर्पणको सफल कथा

निःस्वार्थ समर्पणको सफल कथा

सार्वजनिक संस्थाको नियति
पुँजीवादी व्यवस्था कहलिएका अमेरिका, जापान, जर्मनी, बेलायतमा पनि सामुदायिक विद्यालय, अस्पताल वा उद्योग र कलकारखानाहरूको सेवा र अवस्था राम्रो र गुणस्तरीय नै हुन्छ । नेपालमा पनि राजा महेन्द्रकै पञ्चायतकालमा विदेशीको सहयोग मै किन नहोस् सार्वजनिक कल कारखानाहरूको स्थापना र विकासले देशलाई स्वावलम्बी बनाउन केही हदसम्म सहयोग गरेको थियो । विंस २०४६ सम्म नेपालमा निजी संस्थाहरू भने खासै थिएनन् । तर, बहुदलको पुनःस्थापना सँगै भएको राजनैतिक परिवर्तनले मिश्रित आर्थिक नीति अवलम्बन गर्दै आएको देशमा उदार अर्थनीति अपनाइयो । त्यसपश्चात्, राज्यले गहन दायित्व बोक्नुपर्ने शिक्षा र स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रलाई पनि निजीकरण र व्यापारीकरण गरियो । पञ्चायतकालकै उत्तराद्र्धमा निजी विद्यालयहरू पनि खोल्न सकिने प्रावधान भए पनि यी केही औँलामा गन्न सकिने सङ्ख्यामा थियो, तर स्वास्थ्य क्षेत्रमा केही कम्पाउन्डर वा डाक्टरहरूको निजी रूपमा बिरामी जाच्ने परम्परा रहेपनि निजी लगानीका कुनै स्वास्थ्य संस्थाहरू वा अस्पतालहरू भने खोलिएका थिएनन् । सरकारको उदार अर्थनीतिले स्वास्थ्य क्षेत्रमा पनि विभिन्न निजी सङ्घ संस्थाहरू नर्सिङ होम हुँदै आजका दिनसम्म आइपुग्दा नेपालमा अरबौँको लगानीका निजी अस्पतालहरू स्थापना भइसकेका छन् । सार्वजनिक अस्पतालहरूको अवस्था नाजुक हँुदै जानु र निजी अस्पतालहरू फस्टाउँदै जानुमा सरकारी नीति धेरै सीमासम्म जिम्मेवार भए पनि केही राजनैतिक र केही व्यवस्थापकीय कारणका साथै कर्मचारीहरूको बेइमानी पनि प्रमुख कारण हो भन्ने प्रमाण मुटुरोग विशेषज्ञ तथा सर्जन डा. भगवान कोइरालाको चर्चित आत्मकथा ‘हृदय’ हो भन्दा अत्तिशयोक्ति नहोला । आफ्नै जीवनको कहानी र संस्मरणमा डा.कोइरालाले आफ्नै व्यक्तिगत कथा भने कम मात्र हालेका छन् । पूर्ण छलफल, विवरण र विषयवस्तु आफ्नो कर्मथलो गंगालाल हृदयकेन्द्र, मनमोहन हृदयकेन्द्र र महाराजगञ्ज शिक्षण अस्पतालकै सेरोफेरोलाई बनाएका छन् ।
प्राविधिक र व्यवस्थापकीय कार्यबिच समन्वय
सामान्यतया, निजी वा सार्वजनिक कुनै पनि सङ्घ–संस्थामा प्राविधिक र प्रशासकीय दुई पक्षबिचको राम्रो तालमेलले नै सिङ्गो संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउने हो । तर, धेरै संस्थाहरूमा यही तालमेलको अभावमा अनावश्यक द्वन्द्वको सृजना हुन गई सेवाग्राही मारमा पर्न जान्छन् । अस्पतालको हकमा चिकित्सहरूले नै प्रशासनिक दायित्व पनि लिन खोज्ने र प्राविधिक कार्यहरू पनि (विशेषगरी ओपीडीमा बिरामी जाँच्ने देखि शल्यक्रियासम्मका कार्यहरू) गर्न नछाड्ने हुँदा बेला मौकामा समस्या उत्पन्न हुने कुरा डा. कोइरालाले प्रस्ट्याएका छन् । उनका हकमा भने उनीसँग जसरी पनि आफू कार्य गर्ने संस्थालाई अब्बल बनाउने तीव्र इच्छाका कारण उनले कुनै पनि चुनौतीलाई सामना गर्ने अठोट र दृढ प्रतिज्ञाले उनलाई प्राविधिक र व्यवस्थापकीय दुबैमा सफल बनाएको देखिन्छ । कर्मचारीको कार्य सम्पादन र अन्य क्रियाकलापलाई पनि मिहीनरूपमा अवलोकन गर्ने, अस्पतालको स्टोर, ल्याब, क्यान्टिन, फार्मेसी, सबैको लगत राख्दै राति रातिको समयमै कर्मचारीहरूको क्रियाकलाप चियो गर्नुका साथै सरसामानको चोरी भएको नभएको समेत निरीक्षण गर्न अतिरिक्त समय दिनसक्ने क्षमताले एकातिर अस्पतालको व्यवस्थापन सुध्रिन पायो र अर्कोतिर प्राविधिकरूपमा पनि आफू सक्षम र अद्यावधि हुन तालिम, सेमिनार तथा विदेशी प्रोफेसर तथा सङ्घसंस्थासँग पनि सम्बन्ध राख्ने कार्य, बिग्रेका मेसिन समयमै मर्मत गराई सेवा अवरुद्ध हुन नदिने जस्ता कार्यले अस्पतालको हदैसम्मको सुधार भएको दाबा डा. कोइरालाले गरेका छन् ।
राजनीति, बजेट र बेइमानीको प्रसङ्ग
मेरिटोक्रेसीभन्दा अमुक राजनैतिक आस्था बोकेकालाई महत्व दिने परम्परा पनि नेपालका सार्वजनिक संस्थाहरूको सेवा खस्किनुको एक प्रमुख कारण मान्नेहरूको सङ्ख्या उल्लेख्य छ । डा. कोइरालाका अनुसार महाराजगञ्ज शिक्षण अस्पताल अत्यधिक राजनीति हाबी भएको संस्था हो । जसको कारण उनलाई पनि अमुक पार्टीसँग निकट भएको आरोप लगाई नियुक्ति भएदेखि नै राजीनामा गर्न दबाब दिएको प्रसङ्ग उनले पुस्तकमा सविस्तार गरेका छन् । त्यस्तै, अस्पताल घाटाको कारण बजेटको अभाव हुने र कर्मचारीलाई तलब खुवाउन नै धौधौ हुने अवस्थाले सुरुका दिनमा साह्रै गाह्रो भएको तर घाटामा जानुको कारण पत्ता लगाउँदै जाँदा अस्पतालकै कर्मचारीहरूको बेइमानी एक प्रमुख कारण भएको पत्ता लगाउन आफू सफल भएको प्रसङ्ग पुस्तकमा उल्लेख गरिएको छ ।

अस्पतालका वार्डहरूमा धेरै बेड खाली हुँदाहुँदै पनि कर्मचारीले बेड नै खाली छैन भनी बिरामी फर्काउने र अन्तै निजी अस्पतालमा रेफर गरी पठाउने, बाहिरको स्याम्पल ल्याएर अस्पतालको ल्याबमा जाँच गरी बाहिरकै बिल बनाउने, आफ्ना नातागोताको स्याम्पल दर्ता नै नगरी जाँच गरी अस्पतालको आम्दानी घटाउने, बिग्रेको एउटै मेसिनलाई मर्मत नै नगरी बारम्बार मर्मत गरेको रेकर्ड राखी अस्पतालबाट पैसा असुल्ने, फार्मेसीदेखि क्यान्टीनसम्मका कारोबारमा करोडौँ सामानको घाटा पार्ने जस्ता बेइमानीपूर्ण कार्यहरूले केही सीमित व्यक्तिहरूले अस्पताललाई कमाइखाने भाँडो बनाउने कार्यले पूरै अस्पताललाई अस्तव्यस्त बनाएका थिए ।

अस्पतालका वार्डहरूमा धेरै बेड खाली हुँदाहुँदै पनि कर्मचारीले बेड नै खाली छैन भनी बिरामी फर्काउने र अन्तै निजी अस्पतालमा रेफर गरी पठाउने, बाहिरको स्याम्पल ल्याएर अस्पतालको ल्याबमा जाँच गरी बाहिरकै बिल बनाउने, आफ्ना नातागोताको स्याम्पल दर्ता नै नगरी जाँच गरी अस्पतालको आम्दानी घटाउने, बिग्रेको एउटै मेसिनलाई मर्मत नै नगरी बारम्बार मर्मत गरेको रेकर्ड राखी अस्पतालबाट पैसा असुल्ने, फार्मेसीदेखि क्यान्टीनसम्मका कारोबारमा करोडौँ सामानको घाटा पार्ने जस्ता बेइमानीपूर्ण कार्यहरूले केही सीमित व्यक्तिहरूले अस्पताललाई कमाइखाने भाँडो बनाउने कार्यले पूरै अस्पताललाई अस्तव्यस्त बनाएका थिए । सबैको सहयोगमा पाइलापाइला गर्दै सुधार गर्दै जाँदा अस्पताल विस्तारै नाफामा गएको सफल कथा लेखकले पस्केका छन् ।
सार्वजनिक संस्थामा अर्को समस्या भनेको सरकारले वाचा गरेको वा छुट्याइसकेको बजेट समयमै निकासा नगर्नु हो । सरकारकै ढुकुटीमा समयमै पैसा नहुने, राजनैतिक कारणले नियतवस निकासामा ढिलाइ गर्ने वा नीति, नियम कानुनकै कारण समयमै पैसा निकासा नहुँदा लेखकले व्यक्तिगत सम्पर्ककै आधारमा व्यापारी वर्गसँग हारगुहार गरी असहाय बिरामीलाई सहयोग गर्नु परेको र अस्पतालको लागि तत्काल गर्नुपर्ने कार्य सम्पन्न गर्नुपरेको समेत प्रस्ट्याएका छन् ।
शिक्षा, मनोविज्ञान र परामर्शका कुरा
अस्पताल र अस्पतालको व्यवस्थापन र मुटुका विभिन्न शल्यक्रियाका विविध पक्षहरूका बारेमा लेखकले दिएको आफ्नो अनुभवको विवरणको पछि पनि आफ्नो स्कूले शिक्षा र कलेजका पढाइको बारेमा लेखकले दिएको विवरण शिक्षा र मनोविज्ञानसँग पनि सम्बन्धित देखिन्छ । उदाहरणका लागि, स्कूले विद्यार्थीकालमा लेखक धेरै अब्बल विद्यार्थी थिएनन् । एसएलसीमा पनि उनी दोस्रो डिभिजनमा उत्तीर्ण भएका थिए तर उनमा जीवविज्ञान (बायोलोजी) विषयमा भने ठूलो चाख थियो । एसएलसीपछि के विषय पढ्ने र कहाँ पढ्ने भन्नेबारे उनी अन्योलमा थिए । उनको बुबालाई पनि यसबारे ज्ञान थिएन तर बुबाका साथी तानसेनका नरेन्द्र साहुले – ‘छोरोलाई काठमाडौँमा लगेर कम्पाउन्डर पढाउनू, पछि त्यसैबाट डाक्टर पढाउन पनि मिल्छ’ भने । उनको परामर्श र सुझावले नै भगवान कोइरालाको लागि डाक्टर पढ्ने बाटो खुल्यो । कुनै विद्यार्थीको पढाइको क्षमता स्कूले जीवनको आधारमा मात्र उसको भविष्यको आकलन गर्न मिल्दैन भन्ने कुरा शिक्षाविद् र अनुभवी शिक्षक तथा शिक्षाविद्हरूको राय रहँदै आएको छ । त्यसैले संसारका धेरै विकसित देशहरूमा आजभोलि नयाँ शिक्षा नीतिले फ्याकल्टी (सङ्काय) को प्रावधानलाई बिस्तारै हटाउँदै उदार नीति अपनाउँदै आएको देखिन्छ । स्कूले जीवनमा अब्बल विद्यार्थीहरू सधँै अब्बल भइरहन्छन् भने होइन । आफ्नो वरिपरि भइरहने विभिन्न घटनाहरूले पनि उसलाई प्रभाव पार्दै लग्दछ र त्यसले उनको जीवनमा नयाँ मोड पनि आउने गर्छ । त्यस्तै, सबै नानीहरू एउटै तरिकाले सिक्दैनन् । ‘सिकाइ सिद्धान्तले भन्छ – कसैले आखाँले हेरेर पनि बुझ्छन् र सिक्छन्, कसैले हातका औलाहरूले छोएर सिक्छन् र कसैले सुनेर मात्र सिक्छन् । हेरेर सिक्नेहरूलाई भिजुएल लर्नर (visual learner), छोएर सिक्नेलाई काइनेस्थेटिक (kinesthestic learner) र सुनेर सिक्न सक्नेलाई अडिटरी (auditory learner) भनिन्छ । लेखक कोइरालाले ‘बुझ्न थाले’ भन्ने अध्यायमा दिएको विवरणअनुसार विस्तारै उनलाई पुस्तक पढेरभन्दा शिक्षकको लेक्चर सुनेर धेरै बुझेको महसूस भएको तथ्यले उनी अडिटरी लर्नर हो भन्ने बुझिन्छ । स्कूलमा मात्र होइन कलेज तहमा समेत शिक्षकले आफ्ना विद्यार्थीहरूको क्षमता र विशेषज्ञताका बारेमा सुक्ष्मरूपले हेक्का राख्नुपर्ने जरुरी हुन्छ भन्ने कुरा भगवान कोइरालालाई कक्षामा अवलोकन गरिरहेका आफ्नो शिक्षक डा. गोविन्द शर्माले – ‘ल बाबु पछि सर्जन बन्नु पर्छ, थोरासिक सर्जन’ भन्ने सुझावले नै उनी त्यतातिरको सपना देखेको र पछि सर्जन बन्ने प्रेरणा मिलेको कुरा पुस्तकमा चर्चा गर्छन् ।
प्राफेसन वा परिवार ?
जिम्मेवार पदमा रहेका व्यक्तिहरूको कार्यक्षमता, लगनशीलता र संस्थाप्रतिको इमानदारिताले कुनै सार्वजनिक संस्थालाई उकास्न समय नलाग्ने उदाहरण धेरै भेटिन्छन् । यसरी तन, मनले संस्थालाई समर्पित गर्दा आफ्नो घर परिवारको उन्नयन ओझेलमा पर्न सक्ने सम्भावना भने रहन्छ । डा. कोइरालालाई यस कुराको हेक्का आफू दुर्घटनामा परी घाइते हँुदा अङ्गभङ्ग भई बाँच्नु परेमा परिवार बिचल्लीमा पर्ने कुराले नराम्ररी पिरोल्यो । तर, उनी संस्थाप्रतिको आफ्नो बफादारीतामा कमी नल्याई निरन्तर संस्थाको हितमा कार्यरत भइरहे । यस्तो निरन्तरताले संस्थाको उन्नतिका बारेमा बाटो, बस, टेम्पोमा समेत संस्थाको नेतृत्व लिनेहरूका बारेमा चर्चा हँुदा थप काम गर्न हौसला मिलेको र घरपरिवारबाट पनि दबाब कम भएको कुरा उनले ‘अस्पताल सुध्र्रिँदै, घर बिग्रिँदै’ अध्यायमा उल्लेख गरेका छन् ।

जिम्मेवार पदमा रहेका व्यक्तिहरूको कार्यक्षमता, लगनशीलता र संस्थाप्रतिको इमानदारिताले कुनै सार्वजनिक संस्थालाई उकास्न समय नलाग्ने उदाहरण धेरै भेटिन्छन् । यसरी तन, मनले संस्थालाई समर्पित गर्दा आफ्नो घर परिवारको उन्नयन ओझेलमा पर्न सक्ने सम्भावना भने रहन्छ । डा. कोइरालालाई यस कुराको हेक्का आफू दुर्घटनामा परी घाइते हँुदा अङ्गभङ्ग भई बाँच्नु परेमा परिवार बिचल्लीमा पर्ने कुराले नराम्ररी पिरोल्यो ।

सार्वजनिक संस्थाको जिम्मेवारी लिनेले आफ्नो परिवार र व्यक्तिगत नाफा घाटाको कुरालाई प्राथमिकतामा राख्दा हजारौँ गरिब र निमुखाहरूले दुःख पाउने निश्चित छ र यस्तो कार्यलाई अपराधको संज्ञा दिई अध्यम्य कार्यको कोटिमा राख्नुपर्दछ । लेखकले सार्वजनिक संस्थाको लागि गरेका समर्पण यस हिसाबले सह्रानीय छ । तर, जसले परिवार र आफ्नो व्यक्तिगत फाइदा र निजी अस्पतालको हितका लागि आफू कार्यरत संस्थालाई धोका दिई अस्पताललाई मागी खाने भाँडो बनाए उनीहरूलाई कारबाहीको दायरामा ल्याउन पनि ढिलो गर्नु हँुदैन ।
अन्तमा
आफ्नै कथालाई कम महत्व दिई व्यावसायिकता र एक सार्वजनिक अस्पताललाई कसरी सफल संस्था बनाउनेबारेमा भन्ने पुस्तक केन्द्रित देखिन्छ । सार्वजनिक संस्थामा आफूले गरेको कार्य र अनुभवबारे भविष्यमा आउने टीमलाई समेत जानकारी होस् भन्ने उद्देश्यले डा. कोइरालाले सबैका हितका लागि आफ्नो अनुभव ‘संस्था सफल असफल’ अध्यायमा बुँदागतरूपमा प्रस्तुत गरेको छन् । औषधि उपचार र शल्यक्रिया गर्ने क्रममा अपत्यारिला र ज्यादै चुनौतीपूर्ण केसहरूको पनि सामना गर्नुपर्ने बारेमा लेखकले ‘डाक्टरी वरिपरि : अविस्मरणीय क्षण’ अध्यायमा सविस्तार गरेका छन् । साथै, उनको भावी योजना काठमाडौँमा एक बहु विशेषज्ञ सहितको स्तरीय बाल अस्पताल तथा बाँकी ६ वटै प्रदेशमा बाल अस्पताल स्थापना गर्ने योजनाको पनि चर्चा गरेका छन् ।
व्यावसायिक र डाक्टरीबाहेक लेखकले केही चाखलाग्दा प्रसङ्ग पनि पुस्तकमा उल्लेख गरेर पुस्तकलाई थप रोचक बनाएका छन् । डा. कोइरालाको असाध्यै निन्द्रा लाग्ने बानी, घरायसी पूजापाठ (चौरासी पूजा) का बेला अप्रत्यासितरूपमा हावा र खावाको हमलाका विवरण, दरबार हत्याकाण्डमा राजपरिवारको उपचारमा संलग्नताका बारेमा पनि लेखकले एउटा अध्यायमा विवरण दिएका छन् । सोभियत रुसमा एमबीबीएस पढेका डा. भगवान कोइरालाले त्यहाँको केन्द्रीकृत राजनैतिक शासन व्यवस्था आफूलाई मन नपरे पनि सरकारको लोककल्याणकारी नीति बेठीक नभएको, त्यहाँबाट चिकित्साशास्त्र र प्रविधिको आधारभूत ज्ञान हासिल गर्न पाएकोमा आफूले पछुतो गर्न नपरेको तथा रुसी भूमिमै सिकेको सास्कृतिक तथा जीवनका मूल्यमान्यता र आपसी सञ्चारका सीपहरू आजसम्मन् आफ्नो जीवनमा मार्गदर्शनको रूपमा रहेको प्रस्ट्याएका छन् ।
अस्पताल व्यवस्थापक, कार्यरत चिकित्सक, सञ्चालक समितिका पदाधिकारी र चिकित्साशास्त्र पढ्ने विद्यार्थीले पुस्तकमा थुप्रै उपयोगी जानकारीहरू पाउनेछन् । पुस्तकको पहिलो प्रकाशन हँुदा निर्धारण गरिएको पुस्तकको मूल्य हेरेर धेरै पुस्तकप्रेमीहरूले – ‘यस हृदय पुुस्तकले त हाम्रो हृदयघात गराउला कि क्या हो ?’ भन्दै खरिद गर्न हच्किए । तर, पछिल्लो संस्करणले त्यस डरलाई भने पर पु¥याइदिएकोमा प्रकाशक धन्यवादको पात्र बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *