भर्खरै :

शोषणको विरोधमा उत्पीडित जनता सङ्घर्षमा उत्रन आवश्यक

शोषणको विरोधमा उत्पीडित जनता सङ्घर्षमा उत्रन आवश्यक

कञ्चनपुर, १८ फागुन । नेपाल मजदुर किसान पार्टी कञ्चनपुर जिल्ला समितिको आयोजनामा बुधबार जिल्लाको वेदकोट नगरपालिका वडा नं. ५ बिचुफाँटामा स्थानीय महिला तथा युवाहरूको भेला भयो ।
मुक्त कमैयाहरूको बसोबास रहेको उक्त स्थानमा भएको भेलामा पार्टीका केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले तत्कालीन देउवा सरकारले कमैया मुक्ति कागजमा मात्र घोषणा गरेको उल्लेख गर्दै भूमिपुत्र भनिएका थारुहरूलाई कमैया मुक्तिको नाममा पुर्खौँदेखि जोत्दै आएको जमिनको स्वामित्वबाट वञ्चित गरिएकोमा विरोध गर्नुभयो ।
उहाँले शोषक सामन्तहरूले अनेक बहानामा कामदार जनतामाथि शोषण कायम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पुँजीवादी व्यवस्थामा शासकहरूको अनुहार फेरिन्छ तर शोषण जारी नै रहन्छ ।” उहाँले शोषणको विरोधमा उत्पीडित जनता सङ्गठित भई सङ्घर्षमा उत्रनुपर्नेमा जोड दिनुभयो ।
पार्टीका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्वले शासक दलहरूले नेपाली जनतामाथि विश्वासघात गरेको चर्चा गर्दै आफ्नो स्वार्थपूर्तिका लागि देशको सार्वभौमसत्ता विदेशीको हातमा सुम्पेको बताउनुभयो ।
उहाँले वर्गीय समाजमा वर्गसङ्घर्षबाहेक अर्को विकल्प नरहेको प्रस्ट पार्दै गरिब जनताको हित हुने समाजवादी व्यवस्था स्थापना गर्न पुँजीवादविद्ध सङ्घर्षलाई जारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पार्टीका कैलाली जिल्ला अध्यक्ष रमेशकुमार रावलले नेमकिपा जात, भाषा, क्षेत्र र संस्कृतिको आधारमा सङ्कीर्ण राजनीति नगर्ने बरु वर्गीय आधारमा समाजवाद र साम्यवाद स्थापनाका लागि जनताबिच गइरहेको बताउनुभयो ।
सङ्घका केन्द्रीय सदस्य रोशनमैँया सुवालले सङ्घका अग्रजहरूले राजनैतिक आन्दोलन सँगसँगै महिलाहरूको स्वास्थ्य उपचार, महिलाहरूलाई शिक्षित पार्ने र तिनीहरूको हातमा सीप दिने अभियान सञ्चालन गरेको बताउनुभयो ।
स्थानीय पार्टी कार्यकर्ता सीताराम रानाको सभापतित्वमा सम्पन्न उक्त भेलाले ललिता रानाको अध्यक्षतामा ९ सदस्यीय सङ्घको एकाइ समिति गठन ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *