संरा अमेरिकी चुनावमा ट्रम्पको रिपब्लिकन पार्टीको पराजय
- कार्तिक २०, २०८३
नेपाल मजदुर किसान पार्टीले भूगोल र प्राकृतिक स्रोत र साधनको आधारमा प्रदेश विभाजन गर्नुपर्ने प्रस्ताव संविधानसभाको निर्वाचनताका नै सरकारलाई सुझाएको थियो । संविधानसभा निर्वाचनकै सन्दर्भमा जातजाति, भाषाभाषी र क्षेत्रको आधारमा तथा आत्मनिर्णयको अधिकारसहितको सङ्घ राज्य गठन गर्दा देशमा जातीय, भाषिक र साम्प्रदायिक भिडन्त र देश नै विभाजनतर्फ जाने सम्भावनालाई मध्यनजर गरेर स्रोत र साधनको आधारमा प्रदेशको विभाजन र नामकरण गर्न नेमकिपाले प्रस्ताव लगेको थियो । हरेक प्रदेशले हिमाल, पहाड र तराई समेटिने गरी प्रदेश बनाउँदा सन्तुलित विकास हुने नेमकिपाको धारणा हो । नेमकिपाले बाग्मती, गण्डकी, मेची, कोसी, जनकपुर, लुम्बिनी, महाकाली आदि नामकरण गर्न उहिल्यै सुझाव दिएको थियो । उक्त सुझावको आधारमा अहिले फागुन १७ गते ‘कोसी’ प्रदेशको नामकरण भएको छ । यो स्वागतयोग्य कदम हो । यसअघि गण्डकी, लुम्बिनी, कर्णाली प्रदेश नामकरण भएसकेको छ ।
प्रदेशमा हिमाल, पहाड र तराई समेटिनुपर्ने नेमकिपाको धारणाअनुसार केही प्रदेशको वर्गीकरण भएको छ भने केही प्रदेशको भएको छैन । बाग्मती, गण्डकी, धौलागिरी, कर्णाली अञ्चलले तराई पाएको छैन भने नारायणी, लुम्बिनी, राप्ती र भेरी अञ्चलले हिमाल पाएको छैन । केही प्रदेशले भने हिमाल, पहाड र तराई क्षेत्र पाएको छ । यो सकारात्मक कदम हो । समाचार स्रोतअनुसार ०७४÷११÷१२ गते कर्णाली प्रदेश, ०७५÷३÷२२ गते गण्डकी प्रदेश, ०७५÷६÷१२ गते सुदूरपश्चिम प्रदेश, ०७६÷९÷२७ गते बाग्मती प्रदेश, ०७७÷६÷२० गते लुम्बिनी प्रदेश, ०७८÷१०÷३ गते मधेस प्रदेश र २०७९÷११÷१७ गते कोसी प्रदेश नामकरण गरिएको थियो । प्रदेशसभाको बुधबार बसेको बैठकले ‘कोसी’ प्रदेश नामकरण गरेको हो ।
प्रदेशको नामकरण गर्ने प्रयासहरू पटकपटक नभएको होइन । प्रदेश नामकरणमा अनेक प्रस्ताव आए । तर, दलहरूको फरक अडानको कारण प्रदेश १ को नामकरण भएन । कोसी, कोसी किराँत, किराँत लिम्बुवान, लिम्बुवान किराँत, किराँत–कोचिला, सगरमाथा र सप्तकोसी आदि प्रदेश नामकरणका प्रस्तावहरू हुन् । प्रदेश १ मा मुख्यमन्त्री पनि पटकपटक फेरिए । तर, प्रदेशको नामकरण हुन सकेन । पहिलो प्रतिनिधिसभाको पूरा कार्यकालमा हुन नसकेको प्रदेशको नामकरण ढिलो भए पनि अहिले भयो । जनजाति, भाषाभाषीको आधारमा नामकरण गर्दा जनजाति जनजातिबिच झगडा हुन सकिन्छ । धेरै जनजाति भएको नेपालमा एउटा जनजातिको आधारमा नामकरण गर्दा अन्य जनजातिलाई असर पर्छ । यस हिसाबले ‘कोसी’ नामकरण सान्दर्भिक छ ।
प्रस्तावित नाम अन्य नामभन्दा हरेक हिसाबले उचित छ । बल्ल नेपालमा सातवटै प्रदेशको नामकरण भयो । प्रदेश १ को सरकारले प्रदेश सरकारको नामकरण भएकोमा बिहीबार एक दिन सार्वजनिक बिदा दियो । प्रदेशसभाको मतदानमा ‘कोसी’ को पक्षमा ८२ र विपक्षमा चार मत खसेको थियो भने केही प्रदेशसभा सदस्यहरू अनुपस्थित थिए । ‘कोसी’ प्रदेश राख्नुपर्छ भन्ने प्रस्ताव दुईतिहाइ मतले पारित गरेको थियो । प्रदेशको एउटा नामकरण गर्न प्रदेश सरकारले ६ वर्ष कटायो । जेहोस्, कोसी प्रदेशको नामकरण भयो, राम्रै भयो ।
Leave a Reply