भर्खरै :

सांस्कृतिक प्रतियोगितासम्बन्धी साहित्यकार र लेखकहरूको भेला

सांस्कृतिक प्रतियोगितासम्बन्धी साहित्यकार र लेखकहरूको भेला

भक्तपुर, १९ फागुन । भक्तपुर नगरपालिकाले प्रत्येक वर्ष सांस्कृतिक प्रतियोगिताको आयोजना गर्दै आएको छ । सोही सन्दर्भमा भक्तपुर नगरपालिकाले यस वर्ष सांस्कृतिक प्रतियोगिता गर्ने विषयमा शुक्रबार भक्तपुरका साहित्यकार तथा लेखकहरूको भेला कार्यक्रमको आयोजना गर्यो ।
भेलामा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले यस वर्ष सांस्कृतिक प्रतियोगिताअन्तर्गत प्रगतिशील भजन प्रतियोगिता गर्ने योजनाका साथ सम्बन्धित सरोकारवालासँग राय सुझाव सङ्कलन गर्न साहित्यकार र लेखकहरूको भेला आयोजना गरेको बताउनुभयो ।
उहाँले जनतालाई राजनैतिकरूपमा सचेत पार्ने लेख र साहित्यको सिर्जना गर्न लेखक तथा साहित्यकारहरूको ध्यानाकृष्ट गर्दै प्रगतिशील साहित्यले सुतेको मान्छेलाई ब्यँुझाउने, उठेको मान्छेलाई जगाउने र जागेको मान्छेलाई सङ्घर्षमा उतार्ने काम गर्छ भन्नुभयो ।
सामाजिक विकृतिहरू, पुँजीवादका विकृतिहरू र राजनैतिक विकृतिहरू साहित्यको माध्यमबाट जनतासाझ उजागर गर्नु आजको आवश्यकता भएको बताउँदै उहाँले महिलाहरूलाई साहित्यको माध्यमबाट पनि सङ्गठित गर्ने अभियानमा भक्तपुर नपाले आवश्यक भूमिका खेलिरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले सम्पदा संरक्षणमा भक्तपुर नपा उत्कृष्ट नगरपालिकाको रूपमा रहेको बताउँदै युवा पुस्ताले देशको कला, संस्कृति बिर्सँदै गएकोले यसको जगेर्नामा नपाले विशेष जोड दिँदै आएको बताउनुभयो ।
वरिष्ठ पत्रकार लक्ष्मण जोशीले साहित्य देशको राजनीतिबाट अलग हुन नहुने बताउँदै साहित्यको पनि निश्चित गन्तव्य र लक्ष्य हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा लेखक एवम् शिक्षक ज्ञानसागर प्रजापतिले लेखक तथा साहित्यकारहरू भनेका समाजका लागि प्रेरणाको स्रोत भएको हुँदा साहित्यको माध्यमबाट अन्धविश्वासलाई नयाँ विचारसँग जोड्नु आवश्यक भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले साहित्य समाजको ऐना हो र साहित्यकार तथा लेखकहरू समाजका प्रगतिशील व्यक्तित्वको रूपमा रहेको बताउनुभयो । भजनले आध्यात्मिकतालाई बढावा दिन्छ भन्दै टोल–छिमेकमा भजन गर्ने महिलाहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको र यसलाई सङ्गठित र प्रगतिशील बनाउन सकिए अझ परिष्कृत हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको थियो भने उपस्थित लेखक तथा साहित्यकारहरू विष्णुगोपाल कुसी, उद्धव सुजखु, विकल प्रजापति, हरिसुन्दर पोतामाहा, लक्ष्मीप्रसाद चवाल र विष्णुभक्त कुसीले सांस्कृतिक प्रतियोगिता गर्ने विषयमा आ–आफ्नो राय–सुझाव प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *