भर्खरै :

ननिको गणतन्त्र !

  • फाल्गुन २०, २०७९
  • इन्द्रकुमार श्रेष्ठ
  • साहित्य
ननिको गणतन्त्र !

अपराधहरू सब जोगिइँदै !
अनि पीडित मानिस रोगिइँदै !
सुनुवाइ कहाँ ? सब व्यर्थ भयो !
अति नै ननिको गणतन्त्र भयो ।

किन एक भए भन झुण्ड भरी !
दिन रात बिते कुन काम गरी !
सुख शान्ति यहाँ सपना न भयो !
अति नै ननिको गणतन्त्र भयो ।

विधि कानुनको नि कुरा गरियो !
सुनियो पढियो अनि आस भयो !
तर भोग्नुप¥यो विपरीत छ यो !
अति नै ननिको गणतन्त्र भयो ।

‘जनता !’ ‘जनता !’ छ सधैँ मुखमा
जनता दुःखमा र उही सुखमा
कति हेर्नु यहाँ कपटी मति यो
अति नै ननिको गणतन्त्र भयो ।

कति बाघ बने चितुवा कति छन् !
कति स्याल बने जितुवा अति छन्
पशुराज हुने कहिलेतक यो ।
अति नै ननिको गणतन्त्र भयो ।
सुतुवा उठुवा भतुवाहरू छन्
अगुवा पछुवा लठुवाहरू छन्
अहो ! अङ्क बढ्यो जनमालिकको
अति नै ननिको गणतन्त्र भयो ।

पदलोलुपता अति देखिइने
लुट गर्न सधैँ जुट एक हुने !
गुन यै धुन यै अरू खै के भयो !
अति नै ननिको गणतन्त्र भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *