भर्खरै :

अब बन्ने सरकार झनै भद्रगोल बन्ने

समय परिवर्तनशील छ । परिवर्तन भनेको पश्चगमन होइन अग्रगमन हुन्छ । अहिले देशको आवश्यकता र जनताको चाहना पछि फर्कने होइन अगाडि बढ्ने हो । देशमा निरङ्कुश राजतन्त्र अन्त्य भएर गणतन्त्र स्थापना भएको हो । यो पुँजीवादी गणतन्त्रलाई उपयोग गर्दै देशमा समाजवादी व्यवस्था स्थापना गर्न देशका राजनीतिक दलहरू अघि बढ्नुपर्ने हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजतन्त्र होइन समाजवादी गणतन्त्र हो । राजतन्त्रवादीहरूले गणतन्त्रात्मक सरकारको कमीकमजोरी आँैल्याउन पाउँदैनन् भन्ने होइन । तर, पुँजीवादी पार्टी र शासकहरूको विरोध गर्ने नाउँमा देशका सबै गणतन्त्रवादीहरूलाई जथाभागी गाली गर्नु राजनेता र राजनीतिज्ञहरूको काम होइन । शनिबार राजधानीको बानेश्वरमा भएको जनसभामा राजावादीहरूले पूर्वराजा फर्काउने नाउँमा सबै गणतन्त्रवादीहरूको धुरन्धर विरोध गरे, लखेट्ने कुरा उठाए ।
राजावादीहरूले गणतन्त्रको र गणतन्त्रवादीहरूले राजतन्त्रवादीहरूको विरोध गर्नु स्वाभाविक हो । तर देशमा निरङ्कुश पञ्चायती व्यवस्था काम नलाग्ने भएरै बहुदलीय व्यवस्था स्थापना भएको हो । संवैधानिक राजतन्त्र आवश्यक नभएरै सङ्घीय गणतन्त्र स्थापना भएको हो । सङ्घीय गणतन्त्रले बहुमत जनताको सेवा गर्दैन, यो अर्को यथार्थ हो । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने सरकारले सामन्त, पुँजीपति, जमिनदार, जालीफटाहाहरूकै सेवा गर्छ । बहुमत जनताको सेवा गर्न देशमा समाजवादी व्यवस्था आवश्यक छ । समाजवादी व्यवस्था स्थापना गर्न देशका कम्युनिस्ट पार्टी, प्रगतिशील समुदाय तथा देशभक्त जनताको सङ्घर्षको आवश्यकता छ । राजनीतिक, वैचारिक, सैद्धान्तिकरूपले सचेत नभएसम्म आमूल परिवर्तन सम्भव छैन । वास्तवमा देशका सबै कम्युनिस्टहरू समाजवादी व्यवस्था स्थापना गर्न लाग्नुपर्ने हो । तर, विडम्बना ¤ आफूलाई कम्युनिस्ट भनिने दलका नेताहरू नै कम्युनिस्टको सिद्धान्त र विचारविपरीत लागिरहेका छन् । कम्युनिस्टको सिद्धान्त र विचार छोडेर पुँजीवादी राजनीति गरिरहेका छन्, पुँजीपतिवर्गको पक्षपोषण गरिरहेका छन् ।
अहिले बन्न लागेको सरकार झनै भद्रगोल हुने शङ्का गरिन थालेको छ । हुन त शासक नेताहरू अब बन्ने सरकार पूरै कार्यकाल चल्ने बताउँछन् । आठ दलको समर्थन प्राप्त बन्ने सरकार मन्त्रिमण्डल गठनमै समस्या हुने विश्लेषण गरिन थालेको छ । मन्त्रिमण्डल त ढिलाचाँडो बन्छ तर सरकारले देशलाई दिशानिर्देश गर्न सक्दैन । सबै दलको विचार सुनेर, सबै दलको भावना मुछेर देशलाई निश्चित बाटोमा लैजान सकिँदैन । मन्त्रीहरूको बाँडफाँट मात्र होइन दलको आ–आफ्नो आन्तरिक माग पूरा गर्नुपर्ने बाध्यता या विगतमा झैँ गर्नै नहुने काम हुनथाल्छ । आफ्नो माग पूरा नभएर छिनछिनमा सरकारको समर्थन र विरोध भइरहनेछ या शासकहरूभित्र विवाद चर्केर गठबन्धनमा टुटफुट भइरहनेछ । यस्तो विवाद सरकारमा सामेल भएसँगै मन्त्रिमण्डलले गर्ने निर्णयको बेला हुन्छ । हालसम्म सरकार स्थिर नहुनुको कारण पनि त्यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *