भर्खरै :

शासक दलहरूको आत्मसमर्पण

कुनै देशका शासकहरूले छिमेकी देश र भूराजनीतिकरूपले महत्वपूर्ण देशको राजनीतिक विकासबारे सामान्य चासो राख्नुलाई अस्वाभाविक मानिन्न तर नेपालको राजनीतिमा पहिले अङ्ग्रेज र पछि भारतीय शासकहरूबाट चासो मात्र नभई हस्तक्षेप नै हुने गरेको छ । अब संरा अमेरिकी शासकहरू पनि थपिन आएका छन् । जब जब नेपाल कुनै राजनीतिक सङ्क्रमणबाट गुज्रन्छ वा राजनीतिक शक्तिहरूबिच टकरावको स्थिति हुन्छ, विदेशी शासकहरूले हस्तक्षेप गर्ने गरेका छन् । नेपालको हरेक राजनीतिक सङ्क्रमणमा भारतीय शासकहरू निर्णायकको भूमिका खेल्न आइपुग्छन् । फेरि ती टकराव निम्त्याउने ब्युहरचनामा पहिलेदेखि नै उनीहरू नै सक्रिय रहेका हुन्छन् । नेपालमा चाहे त्यो २००७ सालमा होस् वा २०४६ सालमा वा २०६२÷०६३ देखि २०७२ सालसम्म होस् भारतीय शासकहरूको भूमिका हस्तक्षेपको स्तरमा सतहमा देखा परेको थियो । देशभक्त नेपाली जनतालाई भारतको उक्त हस्तक्षेपकारी भूमिका कहिल्यै स्वीकार्य रहेको छैन ।
विसं २०७२ मा नयाँ संविधान जारी भएर घोषित सङ्क्रमणकाल अन्त्यभएपछि भारतीय शासकहरूको चलखेल अन्त्य हुने र नेपालको राजनीति नेपाली जनताको निर्णयको आधारमा स्वतन्त्र ढङ्गले अघि बढ्ने आशा नेपाली जनताले गरेका थिए । तर, वास्तविकतामा त्यो सम्भव नभएको र भारतीय शासकहरूले खुला तवरले नभए पनि भित्रभित्रै नेपालको राजनीतिलाई अस्थिर पार्न गोटीचाल चालिरहेको पछिल्लो राजनीतिक घटनाक्रमले उदाङ्गो पारेको छ । हुन त जानकारहरूले नेपालमा २०७४ सालपछि केपी ओली बनेको सत्ता गठबन्धन भत्काएर नयाँ सत्ता गठबन्धन बनाउने घटनादेखि नै भारत र संरा अमे।िरका सक्रिय भएको औँल्याएका छन् । एसियाका दुई उदीयमान शक्ति राष्ट्र चीन र भारतको बीचमा रहेको देश हुनाले नेपालको ठुलो भूरणनीतिक महत्व छ । चीनको विकास र उदयलाई रोक्न भरमग्दुर कोसिस गरिरहेको अमेरिकी साम्राज्यवादले सके चीन र भारतलाई जुधाउने र त्यो सम्भव नभएमा चीनलाई घेरा हालेर कुनै निहुँमा ध्वस्त पार्ने लक्ष्य राखेको अब गोप्य रहेको छैन । एमसीसी सम्झौता र एसपीपीको सम्झौताको माध्यमले नेपाललाई चनिविरुद्ध प्रयोग गर्न अमेरिकी शासकहरू जोड लगाइरहेका छन् । नेपालको सदनले एमसीसी सम्झौता अनुमोदन गर्नुभन्दा पहिलेदेखि अहिलेसम्म अमेरिकी सरकारका उच्च अधिकारीहरूको बारम्बारको नेपाल भ्रमण र भेटघाटले त्यसलाई छर्लङ्ग पारिरहेकै छन् ।
भारतको भने नेपालसित चौतर्फी स्वार्थ जोडिएका छन् । भारतीय विस्तारवादी शासकहरू सके नेपाललाई कश्मिर र सिक्किमलाई झैं आफूमा विलय गराउन चाहन्छन् । त्यो सम्भव नभए नेपालका सयौं नदीनालाको पानी र जलविद्युत् भारतको विकासको निम्ति कौडीको मोलमा हासिल गर्न चाहन्छन् । सीमा अतिक्रमण र कालापानी लिपुलेकलगायत नेपालका रणनीतिक रूपले महत्वपूर्ण स्थानहरू कब्जा गरेर भारतले नेपालको नाडी छाम्ने काम गरिरहेको छ । नेपालमा आफ्नो स्वार्थअनुकूल चल्ने राजनीतिक दल निर्माण र परिचालन तथा नेपालका शासक नेताहरूलाई आफ्नो इसारामा चलाउने अभ्यास भारतले निरन्तर रूपमा गरिरहेको छ । व्यक्तिगत स्वार्थ र दलगत नाफाघाटाभन्दा माथि देख्न नसकेका नेपालका शासक दलका नेताहरू स–साना स्वार्थको निम्ति विदेशी शासकहरूसामु लम्पसार पर्ने गरेका छन् । अमेरिकाको कुनै सहायक मन्त्री र भारतको कुनै एक सचिव आउँदा कूटनीतिक मर्यादा नाघेर भेटको निम्ति लाम लाग्न पुगिरहेका छन् । उपसचिव स्तरका भारतका राजदूतबाट राजनीतिको पाठ सिक्न भारतीय दूतावासमा लञ्च र डिनर गर्न गइरहेका छन् । विदेशी शासकहरूले निर्देशनको रूपमा दिएको सल्लाहलाई अस्वीकार गरी हाम्रो देशको निर्णय हामी आफै गर्नेछौँ भन्न सकिरहेका छैनन् । यो शासक दलका नेताहरूले विदेशीहरूसमक्ष गरिरहेको आत्मसमर्पण हो । यसले सार्वभौम नेपाली जनताको आत्मसम्मान र सार्वभोम अधिकारमाथि भने असह्य चोट पुगिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *