भर्खरै :

राष्ट्रपति राष्ट्रप्रति जिम्मेवार हुनुपर्छ

देशको संविधानले राष्ट्रपतिको बन्दोबस्त गरेको छ । राष्ट्रपतिको पदावधि सकेपछि अर्काे निर्वाचित हुनु स्वाभाविक हो । विद्यादेवी भण्डारीपछि रामचन्द्र पौडेल मुलुकको तेस्रो राष्ट्रपति बन्दै छन् । कुनै पनि राष्ट्रपति देश र जनताप्रति समर्पित हुनुपर्छ । निर्वाचित राष्ट्रपति सरकारको कठपुतली बन्नु हुँदैन । सरकारले गर्ने हरेक निर्णय र ल्याउने विधेयकमा राष्ट्रपतिले आँखा चिम्लेर सही गर्नुहुँदैन । देश र जनतालाई दूरगामी असर पर्ने सरकारको हरेक निर्णय र विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्दै गएमा भोलि देश कहाँ पुग्ला या देशको स्थिति के होला ? चिन्ताको विषय छ । यस अर्थमा राष्ट्रपति कुनै सरकार या दलको स्वार्थ पूरा गर्ने हतियार बन्नु हुँदैन ।
राष्ट्रपति आम जनताको अभिभावक बन्नुपर्छ । अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रपति एउटा दल या सरकारको कठपुतली भएमा देशमा दुर्गति निम्तिने छ र देश खाल्डोमा जाक्नेछ । राष्ट्रपतिको जिम्मेवारी संविधान पालना गर्नुमात्र होइन देश जोगाउनु पनि हो । संसद्मा पेस भएको नागरिकता विधेयक राष्ट्रपतिले कुनै हालतमा पारित गर्नुहुँदैन, पारित गर्न सरकार अघि बढ्नु हुँदैन । स्थगित भएको एसपीपी साझेदारी कार्यक्रम पनि अघि बढाउनु हुँदैन । सरकारले पास गरे पनि राष्ट्रपतिले हस्ताक्षर गर्नु हुँदैन । त्यस्तै मुलुकमा द्वन्द्व बढ्ने, साम्प्रदायिक भावना फैलिने, देशको स्वाधीनता र सार्वभौमसत्तामा आँच पुग्ने र देशलाई विदेशी शक्ति राष्ट्रहरूको उठबसमा राख्ने कुनै पनि विधेयकमा राष्ट्रपतिले हस्ताक्षर गर्नु हुँदैन ।
राष्ट्रपति राष्ट्रप्रति जिम्मेवार हुनुपर्छ† जनताप्रति जवाफदेही बन्नुपर्छ । देशलाई आघात पुग्ने र देशसामु झुकाउने नीति निर्णयमा राष्ट्रपति फस्नु हुँदैन । बरु भारतीय पक्षले मिचेको जग्गा फिर्ता लिने, कालापानीमा रहेको सेना फर्काउनेतर्फ राष्ट्रपतिको ध्यान जानुपर्छ† राष्ट्रपतिले कूटनीतिक पहल गर्नुपर्छ । विगतमा शासकहरू देश र जनताप्रति जिम्मेवार नबन्दा देशघाती धेरै सन्धि सम्झौता भयो । देशका नदीनाला भारतको हातमा पुग्यो । देशका उद्योगधन्दा, कलकारखाना विदेशी दलालको हातमा पुग्यो । देशको लागि हुने आम्दानी विदेश पुग्यो । बेरोजगारी दर बढ्यो । युवाहरू विदेशिए । देशको आयस्रोत बढाउने, आवश्यक जनशक्ति तयार गर्ने, आधारभूत आवश्यकताहरू पूर्ति गर्नेतर्फ राष्ट्रपतिले सरकारको ध्यानाकर्षण गर्नुपर्छ या सरसल्लाह दिनुपर्छ । नत्र, राष्ट्रपति खोपाको मूर्तिझैँ हुनेछ ।
राष्ट्रपति अन्धभक्त हुनुहुँदैन । जनताले राष्ट्रपतिको मान र सम्मान गर्नु आफ्नो ठाउँमा होला । तर, विगतमा राजा सवारी हुँदाझैँ झकिझकाउ गरेर, रथमा बसेर जाने परम्परामा अहिले सुधार हुनुपर्छ । राष्ट्रपति सामान्य जीवन उच्च विचारको हुनुपर्छ । के यस्ता गम्भीर सवालमा राष्ट्रपति पौडेल सचेत हुन्छन्, गम्भीर बन्छन् ? यदि राष्ट्रपति सचेत र गम्भीर बनेनन् भने देशले थप दुर्गति भोग्नुपर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *